स्थानीय तह पुर्नसंरचनाको विरोधमा धनुषामा प्रदर्शन
जनकपुरधाम : स्थानीय तहको पुर्नसंरचना वैज्ञानिक नगरिएको भन्दै धनुषाको विभिन्न स्थानमा प्रत्येक दिन विरोध प्रर्दशनका कार्यक्रहरु भइरहेका छन् । स्थानीय तह पुर्नसंरचनाको विरोधमा धनुषाको लालगढमा आइतबार सर्वसाधारणले महेन्द्र राजमार्गमा दुई घण्टा चक्का जाम गरे ।
मिथिला नगरपालिकाको ८ लालगढलाई बटेश्वर गाउँपालिकामा गाभिएपछि आक्रोशित बनेका लालगढ बासीले मिथिला नगरपालिकामै सो वाडलाई राख्नु पर्ने मागसहित विरोध प्रर्दशन गर्दै चक्का जाम गरेका हुन् । यस भन्दा पूर्व लालगढबासीले मिथिला नपाको कार्यालयमा चार दिनदेखी तालाबन्दी समेत गरेका छन् ।
जनकपुर उपमहानगरपालिका १७ लोहना, रघुनाथपुर, खरिहानी, बेंंगाडावर, लालगढलगायतका स्थानीय आन्दोलित छन् । जनकपुर उपमहानगरपालिका १७ मा रहेको लोहनालाई स्थानीय तह पुर्नसंरचनाको क्रममा नगराइ नगरपालिकामा समावेश गरिएको भन्दै लोहनावासीले निर्णयको विरोध गर्दै चरणबद्ध आन्दोलन सुरु गरेका छन् ।
लोहनावासीले संघर्ष समिति नै गठन गरी जानकारी नगराई नगरपालिकामा समावेश गरिएको १० नम्बर खारिज गर्नुपर्ने मागसहित विरोधका विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।
धनुषाको रघुनाथपुरमा पछिल्लो १७ दिनदेखी स्थानीयवासी पुर्नसंरचनाको विरोधमा प्रर्दशन गर्दै आएका छन् । १४ हजार जनसंख्या रहेको रघुनाथपुर गाविसलाई ८ हजार जनसंख्या रहेको छिमेकी गाउँमा समावेश गरिएपछि स्थानीय आन्दोलित भएका हुन् ।
रघुनाथपुरको वडा नम्बर १ देखी ८ सम्म साविकको सबैला नगरपालिका र वडा नम्बर ९ लाई गणेशमान चारनाथ नगरपालिकामा समावेश गरिएको छ ।
स्थानीयहरुले पुर्नसंरचनाको विरोधमा साविकको रघुनाथपुर गाविसमा अनिश्चिकालीन तालाबन्दी गरेका छन् । यता, खरिहानी गाविसमा पनि पुर्नसंरचनाको विरोधमा आन्दोलन गर्ने निर्णय गरेका छन् । वार्ड निर्धारण गर्ने बेलमा जनसंख्याको अनुपात नमिलाइएको भन्दै उनीहरुले आन्दोलनमा जाने बताएका छन्।
बेंगाडावरमा समेत विगत एक सातादेखी विरोधका विभिन्न कार्यक्रमहरु संचालित छन् । साविकको बेंगाडावर गाविसको वार्ड नम्बर ५, ६ र ७ लाई मिथिला नगरपालिका ८ मा गाभिएको हो । तर, हाल फेरी सो वार्डलाई बटेश्वर गाउँपालिकामा समावेश गरिएपछि बेंगाडावरवासी आन्दोलित भएका हुन् ।
हाल कायम गरिएको स्थानीय तहको धनुषामा चौतर्फी विरोध भइरहेको हुँदा कार्यान्वयनमा निकै कठिनाई उत्पन्न भएको छ । यस्तो विरोधको बिच नयाँ संरचना अनुसार काम अघि बढाउनु निकै चुनौतीपूर्ण रहेको स्थानीय तह पुर्नसंरचना प्राविधिक सहयोग समिति धनुषाका फोकल पर्सन सुनिल कुमार झाले बताए । स्थानीय तह पुर्नसंरचनाको विरोधमा करिब एक दर्जन निवेदन आफूहरु समक्ष दर्ता भएको झाले बताए । धनुषामा जम्मा १७ स्थानीय तह निर्धारण गरिएको छ ।