प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी फितलो: आचार्य
काठमाडौंः चीनका लागि पूर्व नेपाली राजदूत राजेश्वर आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणको तयारी फितलो भएको टिप्पणी गरेका छन्। आचार्यले भने,‘यो भ्रमणबाट व्यक्तिगत रुपमा प्रधानमन्त्री प्रचण्डलाई त फाइदा होला, तर देशलाई के फाइदा हुन्छ? यो कुरा प्रधान हो।’
आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा उनले अहिले नेपालको तर्फबाट नेपाल–चीन द्विपक्षीय सम्बन्धमा जिम्मेवारीबोधको अभाव देखिएको बताए। आचार्यले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आउन अब तीन दिन बाँकी रहेकोले अहिलेसम्म भ्रमणका खास एजेण्डाहरु नै तय नहुनु दुःखद् भएको बताए। उनले भने,‘भ्रमण खाली भ्रमणका लागि मात्रै नभएर नतिजा दिने खालको हुनुपर्छ, विशेष उद्देश्य हुनुपर्छ।’
नेपालमा चीनको राष्ट्रपतिले भ्रमण नगरेको अहिले २१ वर्ष पुगिसकेको बताउँदै उनले भने,‘तर यो बीचमा नेपालका सबै प्रधानमन्त्रीहरुले चीनको भ्रमण गर्नुभएको छ, झलनाथ खनालबाहेक सबैले चीनको भ्रमण गर्नुभएको छ।’ उनले कुटनीति राजनीतिजस्तो प्रचारवाजी नहुनेसमेत जिकिर गरे। उनले चीन आर्थिक, सामरिक तथा विज्ञान तथा प्रविधिको हिसावले क्षेत्रिय तथा अन्र्तराष्ट्रिय रुपमा सशक्त र प्रमुख शक्ति भएकोले उसले विश्वमञ्चमा खोजेको भूमिकालाई पनि कसैले नजरअन्दाज गर्न नहुने बताए। उनले चीनले त्यही आफूलाई विश्वमञ्चमा उभ्याएकोले नेपालले पनि त्यही अनुसारको तयारी गर्नुपर्नेमा जोड दिए।
उनले वान बेल्ट वान रोड चीनको ग्लोबल गोल भएकोले नेपाललेपनि सोही अनुरुपको तयारी र आफूलाई प्रस्तुत गर्नुपर्ने थियो भन्दै यसमा पनि नेपाल उदासिन देखिएको टिप्प्णी गरे। उनले भने,‘हामीले यसमा विश्लेषण गर्नुपर्दथ्यो, ४ वर्षसम्म यतिकै अल्झाएर राख्नुपर्ने कारण के थियो ?’चीनले विश्वमै को–अपरेशनमा हात बढाएकोले नेपाललाई त अझै ठूलो प्राथमिकतामा राखेको उल्लेख गर्दै आचार्यले भने,‘अब नेपालले टेक फर ग्रान्टेडमा अल्झिनु हुँदैन्, यस्तो भयो भने मुलुकको लागी नै दुर्भाग्य हुन्छ।’