हुन्डाई गल्फमा विकास च्याम्पियन
काठमाडौं: हुन्डाई ओपन गल्फ प्रतियोगिताको उपाधि विकास शाहले जितेका छन्। पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा शनिबार भएको एकदिने प्रतियोगितामा विकासले ३९ अंक जोड्दै च्याम्पियन बनेका हुन्।
स्टेबलफोर्ड ३/४ ह्यान्डिक्याप विधामा सञ्चालित प्रतियोगितामा एक अंकले पछि परेका आङनोर्बु शेर्पा दोस्रो भए। आङनोर्बुले ३८ अंक बनाएका थिए। उपाधिसँगै विकासले एक लाख रुपैयाँबराबरको पुरस्कार हात पारे। आङनोर्वुको हातमा ५० हजार रुपैयाँबराबरको उपहार पर्यो। चार बर्डी हानेका आङनोर्बुले मोस्ड बर्डीको पुरस्कार पनि पाए।
३६ अंक बटुलेका निश्चयजंग रायमाझै तेस्रो भए। उनले समान अंक बनाएका निर्मल दाहाल र ध्रुव थापालाई काउन्ट ब्याकका आधारमा पछि पारेका थिए। उनले २० हजार रुपैयाँबराबरको पुरस्कार हात पारे। ग्रोसतर्फको उपाधि वानचेन ढोन्डुपले जिते। उनले ३३ अंक बनाए।
उपाधिसँगै वानचेनले ५० हजार रुपैयाँबराबरको उपहार पाए। महिलातर्फ प्रतिमा शेर्पा पहिलो भइन्। प्रतिमाले ३६ अंक जोडेकी थिइन्। उनको हातमा २० हजार रुपैयाँबराबरको पुरस्कार हात पर्यो। सिनियर (६० वर्षमाथि) को उपाधि गोपाल चित्रकारल जिते। उनले पनि २० हजार रुपैयाँबराबरको पुरस्कार पाए।
हुन्डाई वनरतर्फ जाम्लिङ घले पहिलो भए। उनले ३४ अंक बटुलेका थिए। उपाधिसँगै उनले आकर्षक उपहार पाए। जुनियरतर्फ १८ अंक बनाएका साम डोपलर्ड पहिलो भए।
लङ्गेस्ट ड्राइभको पुरस्कार संयोग शाही, क्लोजेस्ट टु दि पिनको पुरस्कार आङछिरिङ शेर्पाले जिते। प्रतियोगितामा एक सय १५ एमेच्योर गल्फरले भाग लिएका थिए।
विजेतालाई नेपालका लागि दक्षिण कोरियाका राजदूत जोय योङ जिन, लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा अध्यक्ष सुहृद घिमिरेलगायतले पुरस्कार प्रदान गरे।