काभ्रेका भूकम्पपीडितलाई दिलजानले बनाइदिने
काठमाडौं: समाजसेवी डा. दिलजान मन्सूरले काभ्रेका भूकम्प पीडितका लागि एक सय १० वटा घर बनाउने बताएका छन्।
यसअघि पनि भूकम्प पीडितहरुलाई राहत वितरण गरेका उनले अहिले काभ्रेको चण्डनीमुण्डनी-२ माझी बस्तीमा भूकम्प पीडितका लागि एक सय १० वटा घर बनाउने घोषणा गरेका हुन्।
बिइङ होमो सेपिन्सको नामबाट समाजसेवा गर्दै आएका मन्सूर सोही संस्थाको नामबाट 'मिसन काभ्रे : शिक्षा र स्वास्थ्य विकासका लागि' भन्ने नाराका साथ भूकम्प पीडितलाई घर बनाइदिन लागेका हुन्। साथै उनले सो क्षेत्रका विद्यालय र हेल्थ पोष्ट पनि निर्माण गर्ने मिडिया एनपीलाई जानकारी दिए।
यसअघि मिसन जाजरकोटमा मन्सूरले त्यहाँका विद्यालय र स्थानीयबासीले आधुनिक पानी फिल्टर र औषधिहरु वितरण गरेका थिए। पेसाले चिकित्सक रहेका उनले आफ्नो पारिश्रमिक र कसैले उपलब्ध गराइदिएको सहयोग रकमले समाजसेवा गर्दै आएका छन्।
समाजसेवाकै लागि आफ्नो पुर्ख्यौली घर समेत बेचेका उनले काठमाडौं उपत्यकामा रहेका गरिब, असाहय बालबालिकाहरुलाई विभिन्न किसिमका सहयोग पनि गर्दै आएका छन्।