आधा आैषधि मुलुकमै

आधा आैषधि मुलुकमै

काठमाडौंः नेपाल सय प्रकारका औषधिमा आत्मनिर्भर बनिसकेको छ । मुलुकमा खपत हुने औषधिको ४५ प्रतिशत बजार हिस्सा स्वदेशी उत्पादनले लिइसकेको छ भने बाँकी भारत, चीनलगायत मुलुकबाट ल्याइन्छ ।

५० वटा उद्योग औषधि उत्पादनमा क्रियाशील छन् । नेपालमा स्वदेशी तथा विदेशी गरी २२ सय प्रकारको औषधि प्रयोग हुने गरेको देउराली जनता फर्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्मा बताउँछन् । तीमध्ये हजारभन्दा बढी प्रकारका औषधि नेपालमै उत्पादन हुन्छन् ।

१४ सय प्रकारका औषधि धेरै आवश्यकमध्येमा पर्छन् । आठ सय प्रकारको औषधि अत्यन्तै कम प्रयोग हुने गरेको छ । नेपाली औषधि कम्पनीले बढी प्रयोग हुने औषधि उत्पादन गरिरहेका छन् । कम प्रयोग हुने औषधि आयात गरिँदै आएको छ ।अत्यावश्यक सूचीमा परेका औषधिमा मुलुक लगभग आत्मनिर्भर नजिक पुगिसकेको शर्माले बताए । अत्यावश्यक सूचीका ८० प्रतिशत औषधि नेपालमै उत्पादन हुन्छ । सरकारको असहयोग भए पनि औषधि उत्पादनमा ठूलै फड्को मारिसकेको उनको दाबी छ । स्वदेशमा उत्पादित औषधिप्रति नेपाली उपभोक्ताको विश्वास पनि बढ्दो छ ।

स्वदेशमै गुणस्तरीय औषधि उत्पादन हुन थालेपछि विभिन्न मुलुकबाट हुने आयात पनि खुम्चिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्षको पहिलो सात महिनामा १७ अर्ब रुपैयाँबराबरको औषधि आयात भएको थियो । यो वर्षको सोही अवधिमा १४ अर्ब रुपैयाँको मात्रै औषधि आयात भएको छ।

आधा क्षमतामा सञ्चालन

नेपालमा सञ्चालित औषधि उद्योगको जडित क्षमता ७० प्रतिशत बजार हिस्सा पुर्‍याउने छ । तर अधिकांश औषधि उद्योग ६०/६५ प्रतिशत क्षमतामा मात्र सञ्चालन भइरहेको लोमस फर्मास्युटिकल्स प्रालिका निर्देशक प्रबलजंग पाण्डे बताउँछन् । यी उद्योग पूर्ण क्षमतामा सञ्चालन गर्न सके मात्र पनि मुलुक औषधिमा ७० प्रतिशतभन्दा बढी आत्मनिर्भर बन्न सक्ने उनले बताए । यसका लागि सरकारले नीतिगत सुधार गरी स्वदेशी औषधि उद्योगको प्रवद्र्धनमा लाग्नुपर्ने व्यवसायी बताउँछन् ।

‘हामीले औषधि उद्योगको धेरै क्षमता उपयोग गर्न पाएका छैनौं । सरकारले पूर्ण क्षमता उपयोग गर्ने वातावरण बनाइदिनुपर्छ', देउराली जनताका कार्यकारी निर्देशक शर्माले भने, ‘यसो भए हामी आन्तरिक खपत बढाउने मात्र होइन, निर्यातमा पनि लाग्छौं ।' सरकारले सामान्य नीतिगत सुधार गरे कुल मागको ७०/८० प्रतिशत औषधि यहीं उत्पादन गर्न सकिने उनको भनाइ छ । स्वदेशी उद्योगको क्षमता पूर्ण रूपमा उपयोग गर्ने गरी नीति नहुँदासम्म औषधिमा पूर्ण आत्मनिर्भर बन्न कठिन हुने उनले बताए ।

सरकारले स्वदेशी उत्पादनलाई प्राथमिकतामा राखेर आयात निरुत्साहित गरेमा औषधि उद्योगले पनि ढुक्कसँग उत्पादन बढाउँदै लैजाने व्यवसायी बताउँछन् । नेपालबाट सार्क मुलुक, युरोप, अमेरिका र मध्यपूर्वी मुलुकमा औषधि निर्यात हुँदै आएको छ । सरकारले औषधि उद्योग फस्टाउने गरी नीतिगत सुधार गर्नुपर्ने, विदेशी औषधिसँग अनावश्यक प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता हटाइदिने, नेपालमै उत्पादन हुने औषधि आयात नगर्ने, निःशुल्क वितरण गर्ने औषधि स्वदेशी कम्पनीबाटै खरिद गर्नुपर्ने व्यवसायीको माग छ ।

स्वास्थ्य मन्त्रालयले अत्यावश्यक ७० प्रकारका औषधि किनेर निःशुल्क वितरण गर्दै आएको छ । यसो भएमा मुलुकका औषधि उद्योगले फस्टाउने मौका पाउने लोमसका निर्देशक पाण्डे बताउँछन् । अझै ५५ प्रतिशत बजार हिस्सा विदेशी औषधिले ओगटेका छन् । सबैभन्दा ठूलो हिस्सा भारतीय औषधिको छ । नेपालमा उत्पादन हुने औषधिका ७० प्रतिशत कच्चा पदार्थ पनि भारतबाटै आयात हुने गरेको छ । औषधिका कच्चा पदार्थ प्रशस्तै भए पनि प्रशोधन हुन नसक्दा भारतकै भर पर्नुपरेको हो । औषधिमा ठूलो ‘भ्यालु एड' गर्न सकिने हुँदा व्यापारघाटा कम गर्न पनि सघाउ पुग्छ । व्यवसायीका अनुसार औषधि उद्योग नेपाल सुहाउँदो भएकाले आन्तरिक खपत परिपूर्तिका लागि मात्र नभएर निर्यात गर्ने गरी अगाडि बढ्नु आवश्यक छ ।

प्रमुख औषधि

नेपाल अत्यावश्यक सूचीमा राखिएका धेरै औषधिमा आत्मनिर्भर भइसकेको छ । कतिपय औषधि नेपालमा प्रशस्त उत्पादन हुँदाहुँदै पनि आयात भइरहेको व्यवसायीको गुनासो छ । ‘नेपालमा कपसिरफ प्रशस्त उत्पादन हुन्छ । भिटामिन र पारासिटामोल पनि प्रशस्तै उत्पादन हुन्छ', शर्माले भने, ‘तर सरकारी कमजोरीका कारण स्वदेशमै उत्पादन हुने औषधि पनि धमाधम विदेशबाट भित्रिरहेको छ । यस्तो अवस्थामा सञ्चालनमा रहेका उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सक्दैनन् ।'

नेपाल क्याल्सियम कार्बोनेट, क्याल्सियम प्लस भिटामिन डी थ्री, भिटामिन बी कम्प्लेक्स, आइरन, डाइजेस्टिभ इन्जाइम्स, फोलिक एसिड, ग्लुकोसामाइन, मिथाइलकोबालामिन, थाइमिन हाइड्रो क्लोराइड औषधिमा आत्मनिर्भर भइसकेको छ । यस्तै क्लोरजोक्साजोन, निमेस्लाइड, पारासिटामोल, ट्रामाडोल, सोडिएम, डाइथाइलामाइन, आइबु्रप्रोफिन, एसिक्लो फेन्याक, डिक्लो फेन्याक, प्रोपानोलोल, एम्लोडिपिन, एटिनोलोल, एटोरभास्टाटिन, लोसारटन पोटासिएम ट्रानेक्जामिक एसिडमा पनि नेपाल आत्मनिर्भर छ ।

एन्टी बायोटिक औषधितर्फ एमोक्सिसिलिन, ओफ्लक्सासिन, सिप्रो फ्लाक्सासिन, डक्सिसाइक्लिन, क्लक्सासिलिन, सिफलेक्सिन, कलक्सासिलिन, इनोक्साइजलगायत औषधिमा नेपाल आत्मनिर्भर बनिसकेको छ । अल्प्राजोलाम, एमिट्रिप्टालिन, क्रोनाजेपाम, डाइजेपाम, इसिटालोप्राम, फ्लुक्सेटिन, लोराजेपाम, ओलोनाजिपाम, अल्बेन्डाजोल, रेस्पेरिडोन, सेट्रालाइन, एमोक्सिसिलिन, एजिथ्रोमाइसिन, सिप्रोफ्लोक्सासिन, सेफाड्रग्सिल, क्लेथ्रोमाइसिन, मेट्रोनिडाजोल, मेबेन्डाजोल, कोट्रामोक्साजोल, रोक्स्थ्रोमाइसिन, टिनिडाजोल पनि आत्मनिर्भर भइसकेका औषधि हुन् ।

सेट्रिजिन, सिप्रोहेप्टिडिन, डोक्सिफाइलिन, फेक्सोफेनाडिन, क्लोरफेनिरामाइन, एन्टासिड कम्बिनेसन, डोमपेरिडोन, बिसाकोडाइल, फेमोटिडिन, मेट्रोक्लोप्रोमाइड, ओमेप्राजोल, ओन्डेनस्याट्रोन, प्यान्टोप्राजोल, रेनिटिडिन, एलोप्युरिनोल, पोभिडिन आयोडिन, फुर्सेमाइट, क्लोरोहेक्जाडिन ग्लुकोनेटमा पनि नेपाल आत्मनिर्भर भइसकेको छ । नेपालमा सबैभन्दा बढी मुखबाट खाइने औषधि उत्पादन हुन्छन् ।

औषधि उद्योगको विगत


नेपालमा औषधि उत्पादनको इतिहास धेरै लामो छैन । छोटो अवधिमै औषधि उद्योगहरू फस्टाएका हुन् । नेपालमा औषधि उत्पादनको सुरुआत सन् १९७० को दशकबाट भएको हो । निजी क्षेत्रबाट सन् १९७० मा केमी ड्रग उद्योग स्थापना भएको थियो । लगत्तै सन् १९७२ मा सरकारी स्वामित्वको तत्कालीन शाही औषधि अनुसन्धानशालामा ट्याब्लेट, सिरप र मलम उत्पादन गरिएको थियो । पछि यो नेपाल औषधि लिमिटेडमा परिणत भएको हो । पञ्चायती शासन व्यवस्थामा मुलुकमा औद्योगिक वातावरण थिएन । व्यक्तिलाई उद्योगव्यवसाय खोलेर सञ्चालन गर्न सहज थिएन । सरकारसँग लड्दै, भिड्दै एकाध उद्योग खुले पनि सञ्चालन गर्न मुस्किल थियो । ‘त्यतिबेला उद्योग चलाउने लाइसेन्स लिन पनि धेरै गाह्रो थियो', देउरालीका कार्यकारी निर्देशक शर्मा भन्छन् । धेरैजसो उद्योगहरू सरकार आफैं चलाउँथ्यो ।

अत्यावश्यक सूचीमा परेका औषधिमा मुलुक लगभग आत्मनिर्भर नजिक पुगिसकेको छ । अत्यावश्यक सूचीका ८० प्रतिशत औषधि नेपालमै उत्पादन हुन्छन् । 

२०४६/०४७ को जनआन्दोलनपछि मुलुकमा आर्थिक उदारीकरणको नीति अवलम्बन भयो । उद्योगव्यवसायमा निजी क्षेत्रलाई अग्रसर बनाइयो । आर्थिक उदारीकरणसँगै मुलुकमा निजी क्षेत्रले फस्टाउने मौका पाएको हो । औषधि उत्पादन सुरु भएको करिब दुई दशकसम्म उल्लेख्य प्रगति हुन सकेन । नेपालमा औषधि उद्योगको विकास पनि उदारीकरणसँगै सुरु भएको हो । देउराली जनता फर्मास्युटिकल्स २०४७ सालमा सञ्चालनमा आयो । लोमस फर्मास्युटिकल्स भने पञ्चायतकालमै खुलेको हो । लोमस र देउराली दुवै कम्पनीले तीन सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएका छन् । यी कम्पनीका उत्पादन विदेशमा समेत निर्यात हुन्छन् ।

२०४६ सालको परिवर्तनसँगै मुलुकमा औद्योगिक लहर आयो । उद्योगमा स्वदेशी र विदेशी लगानी पनि आउन थाल्यो । उदारीकणपछि निजी क्षेत्रको लगानीमा औषधि उद्योग मात्र होइन, अरू धेरै उद्योग पनि खुल्दै गए । पञ्चायतकालमा खुलेका उद्योगहरूले पनि फस्टाउने मौका पाए । मुलुकमा एकपछि अर्को गर्दै औषधि उद्योग खुल्दै गए । औषधि उद्योगमा विश्वबजारमा विकसित नयाँनयाँ प्रविधि पनि भित्रिन थाल्यो । स्वदेशी औषधिमा पटक्कै विश्वास नगर्ने नेपाली उपभोक्ता पनि आश्वस्त हुँदै गए ।

बेहाल औषधि लिमिटेड

मुलुकमा निजी क्षेत्रबाट सञ्चालित उद्योगहरू फस्टाउँदै गए पनि सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेड भने बन्द नै छ । यो उद्योगले २०६० सालसम्म एक सय २० प्रकारका औषधि उत्पादन गर्दै आएको थियो । त्यसपछि क्रमशः ओरालो लागेको औषधि कम्पनी २०६७ देखि पूर्ण रूपमा बन्द छ । नेपालमा निजी क्षेत्रलाई औषधि उद्योग सञ्चालन गर्न बाटो देखाउने नेपाल औषधि लिमिटेड नै हो । पछिल्लो समय उद्योगमन्त्री नवीन्द्रराज जोशी औषधि लिमिटेड सञ्चालनका लागि कस्सिएका छन् । उद्योगबाट केही औषधिको परीक्षण उत्पादन भइसकेको छ । बाँकी औषधि उत्पादनका लागि नयाँ मेसिन खरिद गर्ने तयारी छ।

आयात हुने मुलुक

नेपालमा धेरै मुलुकबाट औषधि आयात हुँदै आएको छ । सबैभन्दा बढी औषधि भारतबाट आयात हुने गरेको छ । नेपालमा भारत, बंगलादेश, चीन, जापान, कोरिया, ताइवान, क्यानाडा, अमेरिका, अस्ट्रेलिया, डेनमार्क, फ्रान्स, जर्मनी, इटाली, नेदरल्यान्ड, स्पेन, यूके, स्विट्जरल्यान्ड, युक्रेन, अस्ट्रेलिया, इन्डोनेसिया, बेल्जियम, इजरायल, ब्राजिल, चेक रिपब्लिक, हंगेरी, जोर्डन, अस्ट्रिया, आयरल्यान्ड, स्पेन, स्विडेन, नर्बे, न्युजिल्यान्ड, हङकङ, थाइल्यान्ड, श्रीलंका, पोर्चुगल, साइप्रस, भुटान, बेलिज, पाकिस्तान, मोन्टेनेग्रो, इटाली, ग्रिस, साउथ अफ्रिका, अन्डोरालगायत मुलुकबाट औषधि आउँछ ।

निर्यात हुने मुलुक

अमेरिका, बेलायत, मलेसिया, पाकिस्तान, नेदरल्यान्ड, भारत, केन्या, नाइजेरिया, लिबेरिया, बंगलादेश, स्विडेन, पोल्यान्ड, इटाली, थाइल्यान्ड, इथोपिया, केन्या, युगान्डा, मादगस्कार, इजरायल, युक्रेन, लात्भिया, चीन, जोर्डनलगायत मुलुकमा नेपालमा उत्पादित औषधि पुग्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.