सडकछेउमा चम्किँदै नयाँ सहर

सडकछेउमा चम्किँदै नयाँ सहर

सुर्खेतः आर्थिक विकासको गति सुस्त छ । सामाजिक रूपमा पछौटेपन । रोजगारीका लागि भारत र तेस्रो मुलुक जानुपर्ने बाध्यता आइलागेको छ । विकास र निर्माणमा पहुँच नहुँदा जनतामा निराशा मात्रै पैदा भएको छ । १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको सबैभन्दा बढी चपेटामा परेको क्षेत्र । यो केही समय पहिलासम्म प्रदेश नम्बर ६ अन्तर्गतका जिल्लाको दृश्य हो ।

तर, विस्तारै प्रदेश नम्बर ६ मा विकासको ढोका खुल्न थालेको छ । पछिल्लो समय यहाँको आर्थिक विकासले गति लिन थालेको छ । गाउँमै रोजगारी सिर्जना हुन थालेपछि आयआर्जनमा वृद्धि भएको छ । कुनै बेला बस्ती नै नभएको स्थानमा हिजोआज धमाधम नयाँ सहर स्थापना भएका छन् । सडकको पहुँच विस्तार भएसँगै यो प्रदेशअन्तर्गतका जिल्लामा दर्जनौं नयाँ सहर विकास भएका हुन् । नयाँ सहर चम्किएसँगै स्थानीय बासिन्दामा विकासको आससमेत पलाएको छ । विकास र मानवीय सूचकमा हालसम्म पछाडि देखिएको यो प्रदेशमा विस्तारै विकासको ढोका खुल्न थालेको हो ।

बर्सौंदेखि सडकमा नजोडिँदा यो प्रदेशअन्तर्गतको कर्णाली अञ्चलमा प्रायः विकास निर्माण ठप्पजस्तै थियो । तर, सडक खुलेपछि कर्णालीका कुना-कुनामा विकास बोकेर मोटर पुग्न थालेका छन् । सडक सञ्जालकै कारण प्रदेशका विभिन्न स्थानमा दर्जन बढी नयाँ सहर पनि स्थापित हुन पुगका छन् । यो प्रदेशअन्तर्गत सुर्खेतदेखि जुम्ला जोड्ने कर्णाली राजमार्ग र पूर्वदेखि पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग खुलेसँगै नयाँ सहर स्थापनाको क्रम बढेको हो ।

सबैभन्दा बढी राजमार्ग छेउमै नयाँ सहर विस्तार भएका छन् । कुनै बेला सुर्खेतबाट नुन बोकेर छाक टार्ने कर्णालीका जिल्ला कालीकोट र जुम्लाको सिमानामा रहेको नाग्म अहिले सहरमा परिणत भएको छ । कर्णालीको किनारमा रहेको नाग्म बजार प्रतिदिन चम्किँदै छ । बजारमा नयाँ घर निर्माण भइरहेका छन् । जुम्ला सदरमुकाम र मुगु जाने मुख्य नाका भएकाले पनि यो बजार व्यावसायिक बन्दै गएको हो ।

प्रदेशकै अर्को महत्ववपूर्ण सहर दैलेखको राकममा विस्तार भएको छ । कर्णाली राजमार्ग खुलेपछि राकममा बजार विस्तार भएको हो । दैलेख, कालीकोट र अछामबाट मानिस यहाँ आएका छन् । बजारमा पक्की घरहरू निर्माण भइरहेका छन् भने अन्य विकासका पूर्वाधार पनि निर्माण भइरहेका छन् । कर्णाली राजमार्ग र मध्यपहाडी लोकमार्गले छुने भएकाले पनि राकम यो प्रदेशकै नमुना सहरका रूपमा स्थापित हुने क्रममा छ । कर्णाली राजमार्ग सञ्चालनमा आउँदा कालीकोटको नाग्म र पिलीस्थित मल्फा, जुम्लाको कुडारी र गुरुचौर तथा दैलेखको राकममा नयाँ सहर स्थापना भएका छन् । यही राजमार्गका कारण सुर्खेतको बड्डीचौरमा पनि बजार चम्किन थालेको छ । नयाँ सहर स्थापना भएसँगै स्थानीय उत्पादनले बजार पाएका छन् भने यसले आयआर्जनमा टेवा पुगेको छ । सहर स्थापना भएपछि सरकारी संयन्त्र पनि पुगेका छन् । यसले स्थानीयलाई सरकारी सेवा लिन घन्टौंसम्म हिँड्नुपर्ने बाध्यता टरेको छ ।

यस्तै, छिन्चु-जाजरकोट सडक खुलेपछि सुर्खेतको छिन्चु र मेहेलकुना सहरमा रूपान्तरण भएका छन् । यही सडकका कारण सल्यान र सुर्खेतको सिमानामा पर्ने सल्लीबजार चम्किएको छ । सल्लीबजारमा सुर्खेत, जाजरकोट र सल्यानबाट मानिस भित्रिएका छन् । यो प्रदेशको रुकुममा पनि नयाँ सहर जन्मिएको छ । जिल्लाको चौरजहारीमा सहर नै स्थापना भएको छ । मध्यपहाडी लोकमार्ग खुलेपछि चौरजहारीमा बजार फस्टाएको हो । यो सहरमा रुकुम, जाजरकोट, रोल्पा र सल्यानबाटसमेत मानिस व्यापारका लागि पुगेका छन् । दैलेखको बेस्तडा र नौमुलेमा पनि सहर स्थापना भएका छन् । सडक खुलेपछि यो क्षेत्रमा दर्जन बढी नयाँ सहर स्थापना भएका हुन् । प्रतिदिन सहर विस्तार हुन थालेपछि सेवा-सुविधा पाउने अपेक्षासहित बस्ती सर्ने क्रम पनि बढेको छ । जग्गाको मूल्य पनि बढ्दै गएको छ ।

कालीकोट र जुम्लाको सिमानामा रहेको नाग्म बजारमा पाँच वर्षदेखि होटेल सञ्चालन गर्दै आएका जुम्लाका अर्जुन रोकायाले भने, ‘पहिला हामी नुनु बोकेर यही ठाउँमा बास बस्थ्यौं, खाली पखेरो मात्र थियो । अहिले त बजार भयो, सबै सामान यही ठाउँमा पाइन्छ ।' बजार स्थापना भएपछि आम्दानी बढेको भन्दै उनले जुम्ला र मुगु नाग्मबाटै उपभोग्य सामान जाने गरेको बताए । यस्तै, अछाम र दैलेखको सिमानामा स्थापना भएको राकम बजारमा घडेरी किन्नेको होडबाजी नै चलेको छ ।

दुईवटा मुख्य राजमार्गले छुने र सरकारले पनि नमुना सहर विकास गर्ने घोषणा गरेपछि राकममा बाहिरबाट भित्रिने मानिसको संख्या बढ्दै गएको स्थानीय रत्नप्रसाद जैशीले बताए । सुर्खेतको छिन्चुमा पनि बजार चम्किँदै गएको छ । कर्णाली र जाजरकोट प्रवेश गर्ने मुख्य नाका भएकाले पनि यो बजारमा चहलपहल बढेको हो । पहिले वीरेन्द्रनगरमा आ िश्रत छिन्चु बजार अहिले यो प्रदेशकै चर्चित सहरका रूपमा स्थापित हुँदै गएको छ । यहाँ पक्की घर र पूर्वाधार निर्माणको काम धमाधम चलेको छ । नयाँ सहर विकास हुने क्रम बढ्दै गएपछि यो प्रदेशकै समृद्धिमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.