बर्मामा नेपाली भाषा लोप हुने खतरा

बर्मामा नेपाली भाषा लोप हुने खतरा

बुटवलः ५५ वर्षअघि कक्षा १० सम्म पढाइ हुने नेपाली भाषा साहित्य अहिले म्यान्मार (बर्मा) मा मन्दिर र बिहारमा सीमित भएको छ । मार्च सुरु भएसँगै बर्मामा नेपाली भाषा पढाउन सुरु भयो । यो अब तीन महिना चल्नेछ ।

सरकारले ५५ वर्षअघि नेपाली भाषाको पठनपाठनमा रोक लगाएपछि हराउँदै गएको नेपाली भाषा साहित्य लोपोन्मुख भयो । अहिले भाषा साहित्य बचाउन नेपालीमूलका बर्मेली जुटेका छन् । ब्रिटिस सरकारबाट शासनसत्ता हातमा ल्याएपछि बर्मेली सरकारले नेपाली भाषासँगै अंग्रेजी पठानपाठनमा रोक लगाएको थियो । बोल्नसमेत प्रतिबन्धजस्तै भयो । बर्मेली संस्कृति र भाषा लोप हुने भन्दै अन्य भाषा अध्ययनमा बन्देज लगाइएको हो ।त्यसको प्रत्यक्ष मार विभिन्न कारणले बर्मामा पुगेका हजारौं नेपालीमा पर्‍यो । ‘भाषा नै नबोलेपछि त संगठन पनि नबन्दो रहेछ, भ्रातृत्व पनि गुम्दै गयो, भाषा बचाउ अभियानमा लागेका ६५ वर्षीया भिक्षु तिरख्ख यु भन्छन्, ‘अहिले साहित्य जोगाउन जुटेका छौं ।'

लमजुङ पुख्र्यौली घर भएका भिक्षु तिरख्ख (भक्तबहादुर) सहित ९ जनाको टोली अहिले नेपालमा छ । नेपाल बस्दा नेपाली साहित्य र भाषाको पुस्तक जुटाउने, अध्ययन गर्ने र बर्मा पुगेर अरूलाई सिकाउने योजनामा उनीहरू छन् । ५५ वर्षअघि बन्देज लगाइएको अंग्रेजी भाषा दुई दशकदेखि कक्षा ५ बाट पढाउन थालियो । तर, नेपालीलाई स्वीकृति दिइएन । बर्माका केही स्थानमा मात्रै संस्कृत पठाउने अनुमति छ । श्री रामेश्वर विद्यापीठ परही धाम, लखुमा अहिले संस्कृति पढाउने गरिएको उनले बताए ।

अन्य मुलुकसँग प्रतिस्पर्धा गर्न अंग्रेजी भाषा आवश्यक भए पनि अंग्रेजीलाई अहिले कक्षा दुईमै राखिएको छ । तैपनि, नेपाली भाषा साहित्यलाई वास्ता गरिएन । नेपाली मूलका गुरुले गुपचुप नेपाली कविता, कथा पढाउने, लेख्ने अभियान चलाइरहेका छन् । ‘मैले कक्षा ५ मा पढ्दै नेपाली बन्देज भयो, त्यसपछि साहित्य पढ्ने अनुमति भएन, १० वर्षअघि भिक्षु भएका तिरख्ख भन्छन्, ‘हाम्रो पछिल्लो पुस्ताले भाषा पढ्नै पाएन ।' बन्देज लगाउनुअघि कक्षा १० मा नेपाली भाषा साहित्य पढाइ हुन्थ्यो ।

बर्मामा प्रजातन्त्र ल्याउने लहर चलिरहँदा नेपाली भाषाले अहिले केही राहत पाएको छ । तर, वैधानिकता होइन । बर्माका सरकारी विद्यालय मार्च, अप्रिल र मेमा बन्द हुन्छन् । त्यही तीन महिना मात्रै मन्दिर तथा बिहारमा नेपाली साहित्य अध्ययन गर्ने अनुमति नेपालीमूलका बर्मेलीलाई छ । वैधानिकता नपाएपछि नेपाली पढाउने शिक्षक विराटनगरका केशरसिंह कार्की नेपाल फिर्ता भए । अहिले अखिल म्यानमारिदेशीय हिन्दु संघमार्फत नेपाली भाषा साहित्य पढाउने काम भइरहेको छ । १७ वर्षयता नेपाल र भारतको दार्जिलिङबाट नेपाली साहित्यका पुस्तक लगेर पढाउने गरिएको छ ।

अर्का नेपालीमूलका रक्की थापा नेपाली भाषा बचाउने अभियानमा लागेका छन् । उनी काँधमा मादल बोक्छन् । गीत, कविता गाउँदै विभिन्न क्षेत्र पुग्छन् । उनको एउटै गीत बजेको धेरै भयो । भिक्षु तिरख्खले गीत सुनाए,
एकै गाँस खाएर
आफ्नै घर बसौंला
आफ्नै देश बसौंला
फर्कौ दाइ फर्कौ, आफ्नै घर फर्कौ ।

पुस्तक छापेर भाषा बचाउने कामसमेत नेपालीभाषीले गरिरहेका छन् । त्यस्तैमध्येका एक हुन् ठाकुरप्रसाद गुरागार्इं । उनले कथा, कविताका पुस्तक छापेर भाषा जोगाउने काम गरिरहेका छन् ।
बर्मामा गुरुङ, मगर, तामाङ भाषा बोल्नेहरू पनि थिए । तर, ती भाषा अहिले लोपोन्मुख भइसकेका छन् । प्रजातन्त्र प्राप्तिको आन्दोलन सफल भएन भने यी भाषा मात्रै होइन, नेपाली भाषा पनि संकटमा पर्ने चिन्ता बर्मेली नेपालीमा छ । ‘हामी प्रजातन्त्र कहिले आउला भनेर कुरिरहेका छौं, भिक्षु तिरख्खले भने, ‘शासन फेरियो भने नेपालीमूल र साहित्य बाच्ला नत्र कठिन छ ।'

बर्मामा बसेका ५० प्रतिशत नेपाली मूलवासी हिन्दु धर्मबाट बौद्ध धर्ममा सरेका छन् । एक वर्षपछि त्यो दर ६० प्रतिशत नाघ्ने आकलन छ । अहिलेको शासन व्यवस्थामा तीन पुस्ता बिताएका र बौद्ध धर्म अँगालेका नेपालीलाई भने सहज अवस्था छ । पुराना जागिरेका सन्तानले अहिले पनि जागिर पाउँछन् । अन्य नेपाली मूलवासी मणि, पत्थर खोज्ने र खेती किसानी गरेर जीविकोपार्जन गरिरहेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.