पुजाराको दोहोरो शतकमा भारत बलियो
राँची : चेतेश्वर पुजाराको दोहोरो शतकको मद्दतमा पाहुना टोली अस्ट्रेलियाविरुद्धको तेस्रो टेस्ट क्रिकेटमा घरेलु टोली भारतले बलियो पकड जमाएको छ । तेस्रो नम्बरमा ब्याटिङ गर्न मैदान प्रवेश गरेका पुजाराले दोहोरो शतक बनाएपछि घरेलु टोलीले चौथो दिन आइतबार नौ विकेटको नोक्सानीमा ६ सय तीन रनको विशाल योगफल खडा गर्दै पहिलो पालि समाप्तिको घोषणा गरेको छ ।
६ विकेटको क्षतिमा तीन सय ६० रनबाट चौथो दिनको खेल सुरु गरेको भारतले पुजाराको दोहोरो शतक र विकेटकिपर ब्याट्सम्यान ऋद्धिमान शाहको एक सय १७ रनको सहयोगमा पहिलो पालिमा एक सय ५२ रनको अग्रता बनाएको छ । पुजारा एक पालिमा पाँच सय बल सामना गर्ने पहिलो खेलाडी पनि बनेका छन् । उनले पाँच सय २५ बल खेल्दै दुई सय दुई रन बनाए । उनी यसअघि आफैले बनाएको सर्वाधिक दुई सय ६ रनको कीर्तिमान तोड्न भने असफल भए । उनी नाथन लियोनको बलमा ग्लेन म्याक्सवेलबाट समातिए ।
भारतीय पालिलाई अगाडि बढाउन पुजारा र साहसँगै अलराउन्डर रवीन्द्र जडेजाले पनि गतिलो भूमिका निर्वाह गरे । आक्रामक ब्याटिङ गरेका उनले ५४ रनको अर्धशतकीय पालि खेले । यसैगरी उमेश यादवले पनि २३ रन बनाए । चौथो दिन नै आफ्नो दोस्रो पालि सुरु गरेको अस्ट्रेलिया दुई विकेट गुमाउँदै २३ रन जोडेको छ । अस्ट्रेलिया अझै एक सय २९ रनले पछाडि छ ।
अस्ट्रेलियाका सुरुआती ब्याट्सम्यान डेभिड वार्नर व्यक्तिगत १४ रनमा जडेजाको सिकार भए भने नाइट वाच म्यान नाथन लियोन पनि दुई रनमै जडेजाकै सिकार भए । म्याट रेनस सात रनमा अविजित छन् । अस्ट्रेलियाले भने पहिलो पालिमा चार सय ५१ रन बनाएको थियो । चार टेस्टको शृंखला १-१ को बराबरीमा छ । पहिलो टेस्ट अस्टे«लियाले तीन सय ३३ रन र दोस्रो टेस्ट भारतले ७५ रनले जितेका थिए । चौथो टेस्ट आगामी शुक्रबार धर्मशालामा सुरु हुनेछ ।