प्रस्तावित राजदूतको संसदीय सुनुवाइ आजबाट
काठमाडौः संसदीय सुनुवाई विशेष समितिले सरकारद्वारा १३ मुलुकका लागि प्रस्तावित राजदूतको सुनुवाई साेमबारबाट सुरु गर्दै छ । समितिका सचिव धुर्वप्रसाद घिमिरेका अनुसार साेमबार अष्ट्रेलियाका लागि प्रस्तावित नेपाली राजदूत लक्की शेर्पाको सुनुवाई हुँदैछ । उनी माओवादी केन्द्रको कोटाबाट राजदूत प्रस्तावित भएकी हुन् ।
प्रस्तावित राजदूतहरुको विरुद्व सुनुवाई समितिमा परेका उजुरीहरुको सम्बन्धमा सुरुमा छलफल हुने र त्यसपछि प्रस्तावित राजदूत शेर्पाको आजै सुनुवाई हुने घिमिरेले जानकारी दिए । समितिको बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बिहान दश बजेदेखि बस्ने भएको छ । बाँकी १२ राजदूतको सुनुवाई मंगलबारदेखि क्रमश हुने छ ।
सरकारले तीन साताअघि अष्ट्रेलिया, दक्षिण कोरिया, इजरायल, ओमन, बहराइन, कतार, डेनमार्क, बंगलादेश, साउदी अरवलगायत १३ देशका लागि राजदूत सिफारिस गरेको थियो ।