घैंटे ट्यांकीले कटाउँछ हिँउद
तानसेनः ६० प्रतिशत जनजाति, २० प्रतिशत दलित, २० प्रतिशत अन्य जनजातिको बसोवास । नयाँ संरचनाको तानसेन नगरपालिका वडा नं ८ मदनपोखरा छापको अवस्था हो यो । डाँडामा बस्ती छ । सबैका घर-गोठनजिकै ठूलाठूला घैंटे ट्यांकी छन् । प्रत्येक घरपरिवारका दुईदेखि चारवटासम्म यस्ता ट्यांकी बनेका छन् ।
सबैका घरगोठका छानाका चारैतिर काला पाइप जडान गरिएको छ । तिनै घरगोठबाट संकलित पानीबाट छापको सिंगो गाउँको जीवन धानिएको छ । आकासे पानी संकलन गरेर छापका जनताले जीवनलाई ऊर्जाशील बनाएका छन् ।
पानीको मुहान बस्तीदेखि तल खोलामा छ । पँधेराबाट पानी बोकेर ल्याउँदा ४५ मिनेट लाग्छ । छापका अधिकांश घरपरिवारले घैंटे ट्यांकीबाटै पानीको आवश्यकता पूरा गर्दै आएका छन् । ‘पानी संकलनका लागि घैंटे ट्यांकी नभएको भए अहिले छापको बस्ती उजाड हुने थियो । घैंटे ट्यांकीले नै छापको बस्ती बचायो । बसाइसराइ रोकिदियो', छापका अगुवा कुलबहादुर थापाले भने । छापका जनताका लागि घरगोठमा रहेका घैंटे ट्यांकी नै जीवन जिउनले महत्ववपूर्ण वस्तु भएका छन् ।
‘मैले घरगोठमा दुई हजार पाँच सय लिटरका दुईवटा ट्यांकी बनाएको छु । दुई-तीन महिना तिनै ट्यांकीको पानीबाट दैनिकी चलाउँदै आएको छु', उनले भने, ‘बर्खाको अन्तिम समयमा ट्यांकी भरेर राख्छांै । जब खेडेरीको समय हुन्छ, पानीको मूल सुक्दै जान्छन्, घैंटोमा संकलित पानी प्रयोग गर्दै आएका छौं ।'
बर्खाको पानी संकलनबाटै डाँडामा घर भए पनि सुखी जीवनयापन गर्दै आएको उनले बताए । उनले जस्तै तानसेन नगरपालिका ८ मदनपोखरा छाप बस्तीका एक सय ५० घरपरिवारले घैंटे ट्यांकीबाटै पानीको आवश्यकता पूरा गर्दै आएका छन् । गाउँमा बस्तीको छेउछाउ पानीका मूल छैनन् । खानपिनका लागि लिफ्ट गरेको दैनिक ५०/६० लिटर पानी आउँछ, त्यो पानी मानिसलाई नै पुग्दैन । गाईभैंसीका लागि संकलित आकासे पानी नै भरपर्दाे विकल्प भएको स्थानीय बलबहादुर सिँजालीले बताए ।
आकासे पानीको भरमा सिँजालीले १० वटा गाईपालन व्यवसाय गर्दै आएका छन् । २० हजार लिटरका ट्यांकी बनाएर आकासे पानी संकलन गरी उनले व्यावसायिक गाईपालन गर्दै आएका हुन् । खानेपानीको उचित व्यवस्थापना नहुँदा गाउँ नै रित्तो हुने गरी बसाइसराइ भइरहेको समयमा छापका जनताले बस्तीलाई नै हराभरा बनाउँदै लगेका हुन् ।
पानी संकलनका लागि घैंटे ट्यांकी नभएको भए अहिले छापको बस्ती उजाड हुने थियो । यसले नै छापको बस्ती बचायो । बसाइसराइ रोकिदियो । कुलबहादुर थापा, स्थानीय
बढ्दो गर्मीसँगै आगलागीका घटना नियन्त्रण गर्न घैंटे ट्यांकीले महत्ववपूर्ण भूमिका निर्वाह गरेको स्थानीयको भनाइ छ । गत वर्ष हुमिन बस्तीमा आगलागी हुँदासमेत घैंटे ट्यांकीमा संकलित पानीका कारण अधिकांश बजार जल्नबाट जोगिएको थियो । तानसेन नगरपालिकाका वडा नं ८ का जनताको एउटै माग छ । घैंटे ट्यांकीबाट जीवन निर्वाह गरेको अवस्थामा सरकारले आफूहरूलाई घरघरमा खानेपानीको सुविधा प्रदान गरोस् भन्ने यहाँका बासिन्दाको भनाइ छ । ‘हामी गाउँलाई नमुना बनाउँछौं, रोजगारीका लागि विदेसिनु नपर्ने बनाउँछौं । प्रत्येक घरमा रोजगारी सिर्जना गर्छौं', पशु विकास कार्यक्रमका अध्यक्ष दुर्गा खाँडले भने ।