प्रदूषण रोक्न पञ्चेबाजासहित जलयात्रा
धादिङः बाह्रै महिना असारसाउनको भेलजस्तो भएर त्रिशूली नदी बग्न थालेपछि त्यसलाई बचाउन विभिन्न दबाबमूलक कार्यक्रम सञ्चालन हुन थालेका छन् । धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्वव बोकेको त्रिशूलीको अस्तित्व संकटमा पर्दै गएपछि नदी बचाउन त्रिशूली बचाउ महाअभियान धादिङद्वारा ‘प्रदूषण र अतिक्रमण रोकौं, त्रिशूली नदी सफा राखौं' भन्ने सन्देशसहित पञ्चेबाजा बजाएर जलयात्रा (र्याफ्टिङ) गरिएको छ ।
केही उद्योगी–व्यवसायीको आर्थिक फाइदाका लागि नदीमा अतिक्रमण र प्रदूषण बढ्न थालेपछि अभियन्ताहरू सांस्कृतिक दबाबमूलक कार्यक्रममार्फत राज्यको ध्यानाकर्षण गराउनेतर्फ लागेका हुन् । विश्व पानी दिवसको पूर्वसन्ध्यामा त्रिशूलीमा राष्ट्रिय झन्डा र पञ्चेबाजासहित जलयात्रा गरिएको महाअभियानले जानकारी दिएको छ ।
‘हामीले जिल्ला प्रशासन, प्रहरी, उद्योगीहरूलाई त्रिशूलीमा बढ्दै गएको प्रदूषण रोक्न पटक–पटक ध्यानाकर्षण गराउँदा पनि केही सीप नलागेपछि राज्यको ध्यानाकर्षण गराउन यस्तो कार्यक्रम गरेका हौं', त्रिशूली बचाउ महाअभियानका सदस्य श्रवण त्रिपाठीले भने । एकैपटकमा करिब एक सय २५ जनाको टिमले राष्ट्रिय झन्डा र पञ्चेबाजा बजाउँदै ‘प्रदूषण र अतिक्रमण हटाऔं' भन्ने सन्देशसहित गरिएको जलयात्रा नेपालमै पहिलो पटक आयोजना गरिएको उनको दाबी छ ।
अभियानमा सहभागीहरूले राष्ट्रिय झन्डा र पञ्चेबाजासहित आदमघाटबाट बेल्खुखोला दोभानसम्म पदयात्रा र बेल्खखोला दोभानदेखि मलेखुसम्म जलयात्रा गरे । त्रिशूली नदी स्वच्छ, सफा राख्न र युवालाई जलयात्रामा आकर्षित गर्न पदयात्रा एवं जलयात्रा गरेको आयोजकको भनाइ छ । विश्व पानी दिवसको अवसर पारेर स्वच्छ र सफा त्रिशूली बनाउने अभियानलाई साथ दिन स्थानीयलाई सहुलियत दरमा पञ्चेबाजासहित र्याफ्टिङ गराइएको र्याफ्टिङ व्यवसायी कोर एडभेन्चर नेपाल प्रालिका भीष्मराज थपलियाले बताए ।
विश्व पानी दिवसको पूर्वसन्ध्यामा त्रिशूलीमा राष्ट्रिय झन्डा र पञ्चेबाजासहित जलयात्रा गरिएको हो ।
‘त्रिशूली त्रिभुवन विमानस्थलबाट सबभन्दा नजिक र सुरक्षित नदी मानिन्छ । राजधानीबाट अन्य ठूला सहर जोड्ने मुख्य त्रिभुवन राजपथ र पृथ्वी राजमार्ग त्रिशूली नदीकिनारमै रहेकाले पनि अझ महत्ववपूर्ण छ', उनले भने, ‘त्यसैले यसलाई स्वच्छ एवं सफा राख्न सरकारले पनि कदम थाल्ने हो भने यहाँ वार्षिक दसौं हजार आन्तरिक तथा बाह्य पर्यटकलाई जलयात्रा गराउन सकिन्छ ।'
१० वर्ष अघिसम्म मानिसले पिउनसमेत प्रयोग गर्ने पानी अहिले बाह्रै महिना धमिलो बग्छ । खानीमा निकालिएको बालुवा धोएको पानी शुद्धीकरण नगरी नदीमा मिसाउनाले सधैं त्रिशूली धमिलो बग्छ । नदी धमिलो बग्दा स्थानीय बासिन्दाले नुहाइधुवाइ, लुगाकपडा धुने, पिउने पानी प्रयोग गर्ने र मलामीले समेत नुहाइधुवाइ गर्नसमेत पाएका छैनन् । नदीकिनार र बगरमा एस्काभेटरसमेतको प्रयोग गरेर उत्खनन गर्दा पर्यावरणमा असर पर्ने र स्थानीय मजदुरको रोजीरोटी खोसिएको भन्दै त्यसको विरोधसमेत भएको छ ।
त्रिशूली नदीको हैसियत दिन–प्रतिदिन बिग्रदै गएपछि त्रिशूली बचाउ साझा सञ्जाललाई त्रिशूली बचाउन महाअभियानका रूपमा प्रचारप्रसार एवं विभिन्न कार्यक्रम गर्न सचेत समुदाय स्वतस्फूर्त रूपमा सडकमा उत्रिएको सञ्जालका संयोजक उत्तम कँडेलले बताए । नदीको उत्खनन एवं दोहन रोक्नुपर्ने, भूगर्भ विज्ञान समूहको विद्यार्थीको अध्ययन केन्द्र बनाउनुपर्ने, नदीमाथि जनताको अधिकार स्थापित गरिनुपर्ने, जनता र अभियान्ताको सुरक्षा व्यवस्था गरिनुपर्नेलगायत माग महाअभियानको रहेको प्रकृति सम्पदा संरक्षण समितिका संयोजक श्रवणकुमार त्रिपाठीको भनाइ छ । सात वर्ष अघिबाट सुरु भएको त्रिशूली बचाउ साझा अभियान अहिले देशविदेशमा रहने युवाले सामाजिक सञ्जालमार्फत व्यापक बनाएका छन् ।