जग्गाधनी पुर्जा पाउँदा मुक्त हलिया खुसी

जग्गाधनी पुर्जा पाउँदा मुक्त हलिया खुसी

जाजरकोट : हलिया बनेर हलो जोत्दै गर्दा फलामको फालो बिझेर एउटा खुट्टा गुमाएका जाजरकोट मजकोट ७ का मुक्त हलिया तुल्से कामी जग्गाधनी प्रमाणपत्र पाउँदा निकै खुसी देखिए । समयमा उपचार नगर्दा खुटामा बिझेको फलामका कारण क्यान्सर भएर खुट्टै काटेर फाल्न बाध्य उनले भने, 'मैले पहिलोपटक आफ्नै नाममा सम्पत्ति पाएको छु । जग्गाधनी पुर्जा (लालपुर्जा) पाउँदा निकै खुसी छु । यो पुर्जाले मेरो विगतको दुःख बिर्साइदिएको छ ।' सँगै आएकी उनकी श्रीमती मन्दरी तिरुवाले पनि जग्गाधनी प्रमाणपत्र पाउँदा निकै खुसी लागेको बताइन् ।

सरकारले मुक्त हलिया पुनस्र्थापना गर्न जग्गा खरिद, घर मर्मत र घर निर्माणमा अनुदान दिँदै आएको छ । उनीहरूको जोडीलाई मालपोत कार्यालय जाजरकोटका निमित्त प्रमुख अभिबहादुर गिरीले संयुक्त जग्गाधनी प्रमाणपत्र हस्तान्तरण गर्दा खुसीले दुवैजना गदगद थिए । जग्गाधनी प्रमाणपत्र श्रीमान् श्रीमती दुवैजनाको स्वामित्व रहने गरी प्रदान गरिएको निमित्त मालपोत प्रमुख गिरीले बताए । सरकारले प्रदान गरेको दुई लाख रुपैयाँबाट स्थानीय वीरबहादुर कार्कीको साढे चार रोपनी जग्गा तुल्सेले किनेका हुन् । कार्यालयले कार्कीको नाममा रहेको जग्गा तुल्से दम्पतीको नाममा नामसारी गरिदिएको हो । स्थानीय अमरसिंह कार्कीको चार दशकदेखि हलिया बस्दै आएका तुल्सेको नाममा न त घर छ न त जग्गा नै थियो ।

'मैलै ४० वर्ष साहुको हलो जोतेर बिताएँ । अहिले अपांग भएर बाँच्नु परेको छ', बैुसाखीको सहारामा सदरमुकाम आएका उनले भने, 'ढिलै भए पनि आफ्नो नाममा जग्गा पाएको छु । अब त्यही जग्गामा सरकारले घर बनाइदिए मेरो सपना पूरा हुने थियो ।' ५ छोरा र ४ छोरी गरी ९ सन्तानका बाबु ५५ वर्षीय तुल्सेले सरकारले हलिया मुक्तिको घोषणा गरे पनि पुनस्र्थापनाका लागि तदारुकता नदेखाउँदा जीवन निर्वाहमा समस्या परेको गुनासो गरे । उनीहरू अहिले घर नहुँदा छोरीको घरमा बस्दै अएका छन् ।

कार्कीगाँउ ७ का भूमिहीन कर्णबहादुर कामी र उनकी श्रीमती कौशिला कामीले पनि मालपोत कार्यालयबाट संयुक्त जग्गाधनी प्रमाणपत्र पाउँदा निकै खुसी लागेको बताए । 'हामीले जीवनमा पहिलोपटक आफ्नै नाममा सम्पत्ति पायौं । निकै खुसी छौं', जग्गाधनी पुर्जा बुझ्दै कामी दम्पतीले भने, 'जग्गा पायौं, हामी खुसी छौं, सरकारलाई धन्यवाद छ । अब घर बनाइदिन माग गर्छौं ।' स्थानीय जितबहादुर बस्नेतको २५ वर्षसम्म हलिया बसेको बताउँदै कर्णबहादुरले भने, 'सरकारले जीवन निर्वाहका लागि सीपमूलक थप कार्यक्रम दिनुपर्छ ।'


सरकारले २०६५ साल भदौ २१ गते हलिया मुक्तिको घोषणा गरेपछि पुस्तौंदेखिको दासताबाट हलियाले मुक्ति पाएका थिए । सरकारले मुक्त हलियाको पुनस्र्थापन गर्न घर निर्माणमा ३ लाख २५ हजार , जग्गा खरिदमा २ लाख र घर मर्मतमा एक लाख २५ हजार रुपैयाँ दिने गरेको छ । उनीहरूको अवस्थाका आधारमा कदेखि घ वर्गसम्म श्रेणी विभाजन गर्ने र आवश्यकताका आधारमा सहयोग गर्ने सरकारी नीति रहेको जिल्ला मालपोत कार्यालयले जनाएको छ ।

जाजरकोटमा ३ सय ६२ हलिया परिवारमध्ये २ सय २ परिवारको प्रमाणीकरण भएको छ भने अन्य परिवारको प्रमाणीकरण हुन बाँकी रहेको निमित्त कार्यालय प्रमुख गिरीले बताए । कार्यालयका अनुसार हालसम्म १ सय ८० परिवारलाई पुनस्र्थापनाका लागि अनुदान दिइएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा जग्गा खरिद गर्न ३६ परिवार, घर मर्मतका लागि ३७ परिवार र घर निर्माणका लागि २० मुक्त हलिया परिवारलाई अनुदान दिइएको छ । चालु आर्थिक वर्षमा जाजरकोटलगायतका ६ जिल्लाका मुक्त हलियालाई पुनस्र्थापना गर्ने कार्यक्रम सरकारले ल्याएको छ ।

मुक्त हलियाका सपना अधुरै

२६ फागुनमा साल्मा ५ का मुक्त हलिया जिते कामीले पहिलोपटक जग्गाधनी प्रमाण पुर्जा पाउँदा निकै खुसी भएका थिए । आफूले पाएको जग्गाधनी पुर्जा घरपरिवार र गाँउलेलाई कति खेर देखाऊँ भन्ने हतारो थियो । सम्पत्तिको मालिक भएको खुसी गाउँमै गएर साट्न हतार थियो उनलाई । तर, उनको खुसी केही घन्टा पनि टिकेन । त्यसै दिन २७ जनाको ज्यान जाने गरी जाजरकोटमा भएको बस दुर्घटनामा परी उनको मृत्यु भयो । उनको खुसी साट्ने सपना अधुरै रह्यो ।

उनीसँगै पुर्जा लिन आएका कार्कीगाँउ ३ का बिर्खे कामीले भने, 'पुर्जा पाउँदा उनी निकै खुसी भएका थिए तर केहीबेरमै अकल्पनीय घटना सुन्नु पर्यो।' उनीसँगै साल्मा ५ का मुक्त हलिया आइते कामी, मजकोट ७ का कालो तिरुवा, दले तिरुवा, लालसरी तिरुवा र कल्दरी चँदाराको बस दुर्घटनामा परी मृत्यु थियो । मृतक कालो तिरुवाकी श्रीमती तुले तिरुवा घाइते छिन् । 'श्रीमान्ले जग्गा पायौं, अब घर पनि पाउँछौं । त्यसपछि हाम्रो आफ्नै घर हुन्छ । हामी पनि मालिक हुन्छौं भन्दै गाडीमा चढ्दा भन्नुभएको थियो तर दैवले उहाँलाई नै लग्यो । हाम्रो सपना पूरा हुन पाएन', उनले दुःखी हँदै भनिन्, 'हामी अभागीलाई नै दैव लाग्नुपर्ने ? ' उक्त दुर्घटनामा परी ६ जना मुक्त हलियाको ज्यान गएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.