'सरकार अब धेरै नअलमल्याऊ'
स्याङ्जा : 'पढ्न बुटवल गएको छोरा घर नफर्केको १३ वर्ष पूरा भयो । घरको पिँढीमा बसेर 'आमा' भन्दै बोलाएझैं कहिलेकाहीँ रन्को आउँछ । यताउती हेर्छु । फर्कन्छु अनि धिक्कारिँदै आफैंलाई सम्हाल्न बाध्य हुन्छु । बर्सा बित्यो न ऊ फर्कियो । न त उसको कुनै खबर आयो', ५३ वर्षीया आमा पूर्णकला भट्टराई आँखाबाट आँसु झार्दै बेपत्ता छोराको आसमा जिउनुको पीडा सुनाउँछिन् ।
स्याङ्जाको साविक श्रीकृष्णगण्डकी (कालीगण्डकी गाउँपालिकाका) मिर्मी २० वर्षीय रमेश भट्टराई बुटवल बहुमुखी क्याम्पसमा अध्ययरत थिए । उनी अन्य ४ साथीसँगै बुटवलमा बसेर पढ्थे । राज्य र तत्कालीन विद्रोही पक्ष माओवादीको द्वन्द्व चर्केको समयमा गाउँमा पढाइ राम्रो हुँदैन कि भन्दै भट्टराईलाई पढाउन उनका बुबाले बुटवल पठाएको उनका भाइ सुदीपले बताए । रमेशका एक भाइ र बहिनी छन् ।
भारतीय सेनामा जागिरे बाबा रामेश्वर भट्टराई पनि छोरा रमेश बेपत्ता भएको खबर पाएपछि नेपाल फर्किए । आफन्त, चिनजान र शंकास्पद ठाउँमा पनि खोज्दै हिँडे तर कहीँ-कतै छोराको अवस्थाबारे केही सुइँको पाउन सकेनन् न त राज्यले नै अवस्थाबारे जानकारी गरायो । 'जे–जस्तो अवस्थामा छ, राज्यले अब छिट्टै खबर दिए हुन्थ्यो', आमा पूर्णकला भन्छिन् । उनले छोराकै पिरलोका कारण ५० वर्ष पनि नपुग्दै बाबा भट्टराईको ज्यान गएको बताइन् ।
घटना हो ०६० साल जेठको । 'बेपत्ता हुनु साताअघि फोनमा आफू सन्चै रहेको, पढाइ राम्रोसँग चलेको र केही दिनपछि घरमा आउने सुनाएको छोराको अवस्था अहिलेसम्म थाहा पाउन सकिएन', आमा पूर्णकलाले भनिन् ।
यसैगरी, स्याङ्जाको मग्यामचिसापानीमा किनारा पसल सञ्चालक २८ वर्षे पदमबहादुर मल्लको अवस्था ०६२ मंसिरदेखि अज्ञात छ । मोटरसाइकल चढेर सामान लिन पाल्पा हिँडेका मल्लले चढेको मोटरसाइकल भने ३ दिनपछि रामपुरमा भेटियो । तर, उनको अवस्था पनि अझै बेखबर छ ।
'त्यतिबेला गर्भमा रहेको शिशु बाबा खोज्ने भयो । सही उत्तर दिन सक्दिनँ', आमा निशा मल्ल निरास हँुदै भन्छिन्, 'सबै कुरा भनौं भने बालमस्तिष्कमा असर पर्छ कि ? नभनौं, कतिन्जेल ढाँट्नु यो अवोध बालकलाई ? ' पदमबहादुर बेखबर हँुदा तीन वर्षे छोरी रोशनी काखमा र छोरा गर्भमा थिए । अहिले छोरी ११ र छोरा ५ कक्षामा पढ्दै छन् । आजकल त छोरीले बाबा सम्झिन पनि छाडिसकी । तर, छोरा रोनिश भने असाध्यै जिद्धि गर्छ । बाबा आएपछि सहर घुम्ने र आफूलाई मन परेका खेल सामग्री किन्न लगाउने धेरै योजना बुनेका छन् उनले । तर, के थाहा त्यो अवोध बालकलाई, वर्षौं बित्दा पनि राज्यले पत्ता लगाउन नसकेको उनका बाबाको अवस्था के छ भनेर ।
यी त प्रतिनिधि पात्र मात्र हुन् । उनीहरूजस्ता १८ जना स्याङ्जाली युवाको अवस्था अझै अज्ञात छ । सैनिक, प्रहरी, विद्यार्थी, राजनीतिकर्मी, किसान र राजनीतिभन्दा बाहिर रहेका व्यक्ति पनि बेपत्ताको सूचीमा छन् । अन्य सहरबाट घरमा आउँदै गर्दा बीच बाटोमा, क्याम्पस जाँदै गर्दा, आफन्तलाई भेट्न जाँदा, बिरामी बोलाउन जाँदा, सामान किन्न जाँदासमेत उनीहरूको अवस्था अज्ञात बनेको बताइएको छ । बेपत्ता आयोग बनेर पनि काम हुन नसकेकोमा दुःख व्यक्त गर्छन् बेपत्ता ज्ञानबहादुर लम्सालका भाइ भोजराज । भोजराज भन्छन्, 'राज्य अब तात्नुपर्छ र हाम्रा बेपत्ता आफन्तको अवस्था जहाँ, जे-जस्तो भए पनि जानकारी दिनुपर्छ ।' भोजराजका दाजु पनि राहदानी बनाउन काठमाडौं जादै गर्दा बाटोबाटै बेपत्ता भएका हुन् ।
स्याङ्जामा ०५८ सालदेखि ०६२ सालसम्म बेपत्ता हुनेमा अनुप थापा, डाँसीराम शर्मा पोखरेल, ज्ञानबहादुर लम्साल, हरिप्रसाद डुम्रे, जुना विक, ख्यामबहादुर बोहरा, कृष्णबहादुर अधिकारी, टुकबहादुर पौडेल, टीकाराम आले, रेशम भट्टराई, राजेन्द्रप्रसाद ढकाल, पदमप्रसाद तिवारी, लक्ष्मण कोइराला, रेवकला तिवारी, लोकबहादुर थापा, तीर्थनारायण काफ्लेलगायत स्याङ्जामा १८ जना बेपत्ताको सूचीमा छन् । द्वन्द्वरत समयमा १ सय ४६ जनाको मृत्यु भएको थियो भने ५ जना अपांग भएका थिए ।
बेपत्ता परिवारका लागि राज्यले राहतस्वरूप जनही ५-५ लाख रुपैयाँ र केही सीपमूलक तालिम उपलब्ध गराएको स्थानीय शान्ति समिति कार्यालयका सचिव कोपिला रोकाले जानकारी दिइन् ।यसैगरी, स्थानीय शान्ति समितिको सचिवालयले बेपत्ता परिवारका आफन्तलाई सम्मान गरेको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्थीले उनीहरूलाई सम्मान गर्दै बेपत्ताको अवस्थाबारे जानकारी गराउन राज्य जुटिरहेको बताए ।