फोरम नेपालद्वारा जिल्ला समन्वय समिति मोरङमा तालाबन्दी
विराटनगरः संघीय समाजवादी फोरम नेपालले जिल्ला समन्वय समिति मोरङको कार्यालयमा तालाबन्दी गरेको छ। कार्यालय खुल्नासाथ सोमबार बिहान फोरमका कार्यकर्ताले साढे दश बजे तालाबन्दी गरी नियमित काम कारबाहीमा अवरोध गरेका हुन्। तालाबन्दीपछि समितिबाट हुने काममा अवरोध भएको छ।
स्थानीय तह पुर्नसंरचनाको विरोधमा रहेको फोरमले पूर्वघोषित असहयोग आन्दोलन अन्तर्गत तालाबन्दी गरिएको जनाएको छ। समितिको कार्यालयमा तालाबन्दी गर्दै त्यहाँ आयोजित सभामा संघीय समाजवादी फोरमका मोरङ जिल्ला अध्यक्ष राजकुमार यादवले भने,‘मधेसी मोर्चाको सहमति विपरीत स्थानीय तह पुर्नसंरचना गरिएकोले यसमा हाम्रो समर्थन छैन।’ उनले आफ्ना मागहरु पूरा नहुञ्जेल स्थानीयस्तरमा आन्दोलनका कार्यक्रमलाई अझ सशक्त बनाइने बताए।
मोरङको दक्षिणी भेगमा पर्ने विराटनगर नजिकैको साविक कटहरी गाविस कार्यालयमा पनि फोरमका कार्यकर्ताले तालाबन्दी गरेका छन्। त्यहाँबाट कार्यालयका कागपत्र पनि फोरम कार्यकर्ताले नियन्त्रणमा लिएका छन्। यादवले नियमित काम कारवाहीमा अवरोध गरिने बताए। संघीय समाजवादी फोरमले तराईका जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिकामा तालाबन्दी तथा काममा अवरोधको कार्यक्रम अन्तर्गत तालाबन्दी गर्दै आएको छ।
फोरम मोरङको आइतबार विराटनगरमा बसेको विस्तारित बैठकले आन्दोलनका कार्यक्रम तय गरेको थियो। यादवले भने,‘संविघान संशोधन र मधेसका माग पूरा नहुन्ञ्जेल आन्दोलन गरिरहन्छौं।’ मोरङमा स्थानीय तह पुर्नसंरचना अन्तगर्त एक उपमहानगर, ७ नगरपालिका र ९ गाउँपालिका गरी १७ स्थानीय तह बनाइएको छ ।
यता, राप्रपा नेपालले जिल्ला निर्वाचन कार्यालय मोरङलाई ज्ञापन पत्र बुझाएर निर्वाचनको निर्णय फिर्ता लिन आग्रह गरको छ। राप्रपाको जिल्ला नेतृत्वसहितको प्रतिनिधिमण्डलले निर्वाचन कार्यालय पुगेको थियो।