नेवारी कला जोगाउँदै तामाङ

नेवारी कला जोगाउँदै तामाङ

भक्तपुरः नेवार समुदायमा प्रचलित विभिन्न नाचमा प्रयोग हुने देवदेवी तथा देवगणको मुकुन्डो अहिले संकटमा छ । ती मुकुन्डो बनाउने पेसाले स्थायित्व नपाउँदा मुकुन्डो बनाउने सीप नै हराउँदै जान थालेको छ । भक्तपुरका चित्रकार एवं प्रजापति जातिको पुख्र्यौली पेसा भएकाले तीन दशक अघिसम्म यो पेसा जीवन्त थियो ।

तर, धेरैजसो मौलिक नाचसमेत लुप्त भएपछि चित्रकार तथा प्रजापति थरीहरू कामविहीन भए । केही चित्रकार र प्रजापतिहरूले पर्यटकलाई लक्षित गरेर आफ्नो पुख्र्यौली पेसालाई निरन्तरता दिन नखोजेका पनि होइनन् तर विविध कारणले पर्यटनसँग जोडिन नसकेपछि चित्रकार तथा प्रजापतिहरू निराश भए । यसले गर्दा उनीहरू परम्परागत एवं पुख्र्याैली पेसाबाट विस्थापित भए ।

आफ्ना बाबु पुस्तैनी मुकुन्डो बनाउने कला एवं पेसामा नटिकेपछि छोरानातिले यसतर्फ फर्केर पनि हेरेनन् । यसले गर्दा यो कला एवं पेसा अहिले लोप हुँदै गएको हो । सीप एवं कला भएका चित्रकार एवं प्रजापतिहरूले समेत क्रमशः हात झिक्दै आएकाले यो सीप उनीहरूसँगै मरेर जाने सम्भावना बढिरहेको छ । यहीँ लोपोन्मुख नेवारी कलामा एक गैरनेवार कलाकार भने सफल भइरहेका छन् । मध्यपुर थिमि-८, बहाखा बजारनिवासी सोम तामाङले नेवारी मुकुन्डो कलालाई बजार प्रवद्र्धन गरिरहेका छन् ।

नेवार गुरु

मध्यपुर थिमिका कान्छा चित्रकारसँग माटोको मुकुन्डो बनाउने कला एवं सीप सिकेका तामाङ २५ वर्षदेखि यही पेसामा निरन्तर लागिरहेका छन् । उनले कान्छा चित्रकारसँग सीपमात्रै सिकेनन्, सँगसँगै सात वर्ष काम पनि गरे । सात वर्षको सहकार्यले उनलाई मुकुन्डो बनाउने सीप, कलासँगै त्यसमा प्रयोग हुने माटो र रंगबारे प्रशस्त जानकारी दियो । ‘गुरु कान्छा चित्रकारबाटै मैले नेवारी मुकुन्डो बनाउने कला संस्कृति, सीप, रङ भर्ने तथा माटो छान्ने सबै विद्या प्राप्त गरेँ', आफ्ना गुरुप्रति आदर व्यक्त गर्दै तामाङ भन्छन्, ‘ठिमीस्थित सिद्धिकाली माविमा ४÷५ कक्षा पढ्दा नै म कान्छा चित्रकारले मुकुन्डो बनाएको हेर्न आउँथेँ । मुकुन्डो बनाउने कलामा सानैदेखि रुचि थियो ।'

माझ्यो तालिमले

कान्छा चित्रकारबाट तालिम लिएर परम्परागत मुकुन्डो बनाउन पोख्त भइसकेका तामाङले २०५७ सालतिर काठमाडौंमा आधुनिक डिजाइन र रङको प्रयोग गर्नेबारे विशेष तालिम लिए । उक्त तालिमले समयानुसार आफ्नो कला माझिएको उनको अनुभव छ । उक्त तालिमलगत्तै नगरकोटमा ‘मध्यपुर मास्क मेकिङ' पसल खोले । नगरकोटमा मुकुन्डोसम्बन्धी पसल उनकै पहिलो थियो ।

नगरकोटको चिसो हावापानीले उनलाई काम गर्न दिएन । सधैंजसो चिसो हुने भएकाले मुकुन्डो सुकाउन गाह्रो भएपछि उनले मध्यपुरको बहाखा बजारमा पसल सारे । त्यही पसल अहिलेसम्म निरन्तर चलाइरहेका छन् उनी । उनको पसल अहिले आधुनिक मुकुन्डो लिनेहरूको गन्तव्य नै बन्दै आएको छ । काठमाडौं उपत्यकाका मात्रै होइन, उपत्यका बाहिरका ग्राहकसमेत उनीकहाँ मुकुन्डो लिन आउने गरेको तामाङ बताउँछन् ।

पुख्र्यौली पेसा गर्ने चित्रकार र प्रजापतिहरूले क्रमशः यो कला छाड्दै गए पनि तामाङ भने यसमै रम्दै आएका छन् । मुकुन्डो कलामा आधुनिकता थपेपछि यसैले नाम र दाम दिएको उनको बुझाइ छ । ‘मुकुन्डो बनाउने पेसालाई आधुनिकीकरण नगरेको भए म पनि विस्थापित हुनुपर्ने थियो', ४१ वर्षीय तामाङ भन्छन्, ‘संकट आए पनि पनि निराश भइनँ । यसलाई टिकाउनमै लागेँ, अन्ततः म सफल भएँ ।' उनले परम्परागत नाचमा मात्रै सीमित मुकुन्डोलाई विभिन्न आकारप्रकार दिएर आधुनिकता दिए । फलस्वरूप मुकुन्डोहरू उपहार दिन, घर तथा पसल सजाउन प्रयोग हुन थाले । मुकुन्डो केवल नाचमा लगाउने सौन्दर्य सामग्रीमात्र रहेन, घरसज्जा र उपहारको वस्तु पनि बन्यो ।

फैलँदो लोकप्रियता

तामाङको व्यवसाय अहिले काठमाडौंभर लोकप्रिय छ । क्युरियो पसलेदेखि अन्य पर्यटन व्यवसायीले समेत उनीसँगबाट थोक तथा खुद्रा रूपमा उनले बनाएका मुकुन्डो लैजाने गरेका छन् । यसैले उनको मुकुन्डो कलाले थप बजार पाइरहेछ । ‘आजभोलि उपहार दिन तथा कोठा र कार्यालय सजाउन मुकुन्डो लिन आउनेको भीड बढेको छ', प्रफुल्ल हुँदै तामाङ भन्छन्, ‘मेरा ९० प्रतिशतभन्दा बढी ग्राहक नेपाली नै हुन् । विदेशी त फाट्टफुट्टमात्रै हुन् ।'

अमेरिका र युरोपसम्म

उनको उत्पादन केवल नेपाली बजारमा सीमित छैन । अमेरिका र युरोपसम्म पुग्दै आएको छ । वर्षमा तीनपटक संयुक्त राज्य अमेरिका र युरोपका फ्रान्स र स्पेनमा नेपाली मौलिक कलायुक्त मुकुन्डो निर्यात गरिरहेको उनले सगर्व सुनाए । तैपनि मागअनुसार मुकुन्डो उत्पादन गर्न नसकिएको उनले दुःखेसो पोखे । उनको पसलमा काम गर्ने चारजना कलाकार छन् । तर, दक्ष कलाकार अभाव रहेको उनी बताउँछन् ।
‘कम लगानीमै यस पेसाबाट आकर्षक कमाइ भइरहेको छ तर यस पेसामा दक्ष कलाकार छैनन्', नेवारी भाषामा समेत पोख्त उनी थप्छन्, ‘अहिले आधुनिक मुकुन्डोको माग बजारमा बढिरहेको छ । कलाकारको अभावले माग धान्न धौधौ भइरहेको छ ।'

कलाकारको माग पूरा गर्न उनी आफैंले तालिम पनि दिँदै आएका छन् । प्रायःजसो विद्यालयले नै आयोजना गर्ने तालिमहरूमा प्रशिक्षण दिँदै आएका तामाङ अहिले भक्तपुर हस्तकला संघमार्फत तालिम दिने प्रक्रियामा छन् । युवालाई स्वरोजगार बनाउन यस्तो तालिम उपयुक्त हुने उनको धारणा छ ।

यसरी मुकुन्डोको प्रवद्र्वन

तामाङको विचारमा मुकुन्डो पेसामात्र नभई नेपाली कला-संस्कृतिको अमूल्य निधि पनि हो । त्यसैले यसको संरक्षण र प्रवद्र्धन आवश्यक छ । यो नेपाली मौलिक हस्तकलाको बेजोड नमुना भएकाले यसको प्रयोग बढाउन सरकारले नीति नै ल्याउनुपर्ने उनी सुझाउँछन् । ‘हामीकहाँ विदेशी सामान उपहार र मायाको चिनो दिने प्रवृत्ति बढेको छ', सोम भन्छन्, ‘सरकारले नीति नै बनाएर नेपाली वस्तुमात्रै उपहार र मायाको चिनो दिने व्यवस्था गरे हराउँदै गएका हस्तकला र सीपले जीवन्तता पाउनेछन् ।'

उनले यस कलाबारे विद्यालय तहमै अध्ययन अध्यापनको व्यवस्था गर्नुपर्नेमा समेत जोड दिए । तामाङका अनुसार प्रविधिको विकाससँगै यो पेसा सहज पनि बनिरहेछ । पहिला आवश्यक रङ आफैंले तयार गर्नुपथ्र्यो अहिले बजारमा खोजेजस्तो तयारी रङ पाइन्छन् । त्यस्तै माटो मुछ्ने मेसिन आएको छ । मुकुन्डो बनाउनुअघि चाहिने साँचो बनाउने प्लास्टर पेरिस सहजै पाइन्छ ।

पुस्तैनी पेसा गर्दै आएको समुदायले आफ्ना छोरानातिमा यो पेसासम्बन्धी सीप र कला हस्तान्तरण नगर्दा यो पेसा संकटमा परेको उनको बुझाइ छ । नेवारी कलाबाट नै दैनिक जीविका चलाइरहेका तामाङले यही पेसाबाटै जेठो छोरालाई इन्जिनियरिङ र कान्छो छोरालाई माध्यमिक तह पढाइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.