आँटको उपलब्धि
पोखराः पुरानो बिल्डिङको लबीमा काठमाडौंबाट आएका दुईजना उनलाई पर्खिरहेका थिए । भेट्नेबित्तिकै भने, ‘होटल कस्तो बनिरहेको छ, हेर्नुपर्यो ।' हल्लन चोकनजिकै ६ तलाको एउटा निर्माणाधीन भवनमा पुगे उनीहरू । ‘पछि लिफ्ट बन्छ, अहिले हिँड्दै जाऊँ' भनेपछि उनीहरू पछिपछि लागे । ‘हाम्रो होटल जंगल थिममा बनिरहेको छ', एउटा कोठाको दैलोमा कुँदिएको कला देखाउँदै उनले भनिन् ।
फेरि अर्काे कोठामा पुगेपछि छर्लंग फेवाताल देखियो । ‘यो बाल्कोनीमा झुला हुनेछ', उनले सुनाइन्, ‘तालपट्टि पर्खाल हुन्न, सिसा हुन्छ, बेडबाटै ताल हेर्न पाइन्छ ।' गएकामध्येको एकको मुखबाट वाक्य फुत्कियो, ‘यो रुम सय डलरभन्दा बढीमा सेल हुन्छ ।' सबैभन्दा माथिल्लो तलामा उक्लिएपछि माछापुच्छ्रे पनि देखियो । त्यहाँ सेमिनार कक्ष बन्दै रहेछ । आडैमा बार र रेस्टुरेन्ट बन्दै थियो । यही हो संगीता शर्मा पौडेलको नयाँ प्रोजेक्ट- टीका रिसोर्ट । ‘अब ४५ रुम थप्दैछौं', संगीताले सुनाइन्, ‘२० रुम भएको पुरानो होटलपट्टि रेस्टुरेन्ट, स्पाहरू हुन्छन् ।'
एउटा ठिटो आफ्नो होटलको मार्केटिङ गर्न काठमाडौं ठमेल धाइरहन्थ्यो । ट्रेकिङ एजेन्सी, ट्राभल एजेन्सी र होटल रेस्टुरेन्टहरू उसका टार्गेट हुन्थे । भन्थ्यो, ‘पोखरामा होटल चलाइरहेको छु । राम्रो सेवा दिन्छु, मलाई पाहुना दिनोस् ।' एक दिन ठिटोले एउटा ट्रेकिङ एजेन्सीमा आफ्नै मार्केटिङ गर्यो । भन्यो, ‘आफैं होटल चलाउँछु, स्वरोजगार छु, मलाई तपाईंकी साली दिनोस्, बिहे गर्छु ।' जोसँग कुरा भएको थियो, उनले तत्काल जवाफ दिएनन् । एक दिन पाहुना लिएर पोखरा जान सालीलाई अह्राए । भने, ‘होटल कस्तो छ, सेवा कस्तो छ हेर्नु ।' उनी पोखरा आइन् । फर्किइन् । भेनाले दुवैतिर पारिवारिक प्रबन्ध मिलाए । अनि संगीता शर्मा होटल व्यवसायी टीका पौडेलसँग बिहे गरेर पोखरा आइन् ।
बिहेपछि घरगृहस्थी त चलाउनै पर्थ्यो । संगीता त्यतिमा सीमित हुन चाहिनन् । टीकाले उही मार्केटिङमै ध्यान लगाए, यता होटलको व्यवस्थापन हेर्नुपर्ने भयो संगीताले । भाडामा लिएको घरमा थियो, होटल डायमन्ड । भाडाको करार सकियो । तर, होटल चलाउने उनीहरूको चाहना सकिएको थिएन । लेकसाइडकै हल्लन चोक छेवैमा ‘होटल शिखर' भाडामा लिए, चलाए । उनीहरूको व्यवसायभन्दा धेरै मुलुकमा द्वन्द्व मौलायो । बन्द, हडताल र चक्काजाम अनि बेलाबेला मजदुर आन्दोलन । पर्यटनका लागि जे जे नहुनुपथ्र्याे भइरह्यो । ‘माथि कोठामा गेस्ट हुन्थे, तल मूल ढोका बन्द गरेर बस्नुपथ्र्याे', संगीता सम्झन्छिन्, ‘जसोतसो गर्दै व्यवसाय घिसार्यौं।'
पोखरेली पर्यटनमा लिडिङ लेडीको छवि बनाइरहेकी संगीता शर्मा पौडेलको उपलब्धि असामान्य र अपत्यारिलो होइन, बरु आँटे सकिन्छ भन्ने हो ।
अहिले संगीताहरूको होटल भाडाको घरमा होइन, आफ्नै जग्गाको भवनमा छ । आफ्नै स्वामित्वको टीका रिसोर्ट चलाउन थालेको आठ वर्ष नाघिसक्यो । प्रगतिको रफ्तार यसरी बढ्यो, पोखराको पर्यटन व्यवसायमा जोडिएका दुई÷चार महिला व्यवसायीको सूची बनाउँदा संगीता छुट्दिनन् । उनको नाम अगाडि नै आउँछ । पर्यटनमा लिडिङ लेडीको छवि बनाइरहेकी संगीताको नयाँ प्रोजेक्ट निर्माणको अन्तिम चरणमा छ, जुन पूरा हुनासाथै पोखरामा उच्चस्तरीय होटलको सूचीमा उनको होटल नछुट्ने पक्का देखिन्छ ।
भाडाको घरमा झेलेका अनेकन् झमेलाकै कारण आफ्नै जग्गामा होटल खोल्ने सोचमा पुगेको उनको अनुभव छ । घटना सुनाइन् भाडाको घरमा होटल चलाइरहँदा एक दिन घरभेटी आएर एक महिनामा होटल छोड्दिनु पर्यो भने । संगीता र टीका दुवै झसंग भए । भाडा सम्झौताअनुसार म्याद सकिन ६ महिना बाँकी थियो । त्यसपछि पनि पाइन्छ भन्नेमा उनीहरू ढुक्क थिए । अन्त ठाउँ पनि थिएन । ‘अब भाडामा चलाएर हुन्न, आफ्नै जग्गामा होटल खोल्नुपर्छ', संगीताले अठोट गरिन् । टीका सहमत भए । ठाउँ पनि खोजे । त्यति नै बेला पहिल्यै निधो गरिएको युरोप टुरमा टीका निस्कनुपर्ने भयो । निस्के । उनी उतै थिए तर यता संगीताले लेकसाइडमै जग्गा किन्न बैना गरिन् । १० लाख रुपैयाँ चेक दिएकी थिइन् । बैंकमा पैसा जम्मा गर्ने अघिल्लो दिन होटलबाटै १० लाख नगद चोरी भयो ।
मनी चेन्जर, रेमिटेन्स कम्पनी पनि भएकाले साथमा त्यति पैसा राखिरहनुपर्ने पनि हुन्थ्यो । पछि प्रहरीले चोर समात्यो । बैना रद्द हुन पाएन । जग्गा किनिन् । होटल पनि बन्यो । त्यही होटलसँगै जोडिएको २४ आना जग्गा २०६८ सालमा किने । ७० सालदेखि सुरु भएको नयाँ होटलको काम अब अन्तिम चरणमा छ । ‘४० करोड रुपैयाँ लगानी हुँदैछ', संगीता बोलिन्, ‘पहिलोपटक जग्गा किन्दा त अन्तको जग्गा बेचेर लेकसाइडमा हालेका थियौं । यो होटललाई ऋण लिएका छौं ।' व्यवसाय गर्न सक्छु, धान्न सक्छु भन्ने आत्मविश्वासले नै ऋण लिने आँट पलाएको सुनाउँछिन् । तर हालै बढेको ब्याजले पनि उनलाई हत्तु बनाएको छ । तर निराश छैनन् । ‘हत्तपत्त म केही कुरासँग पनि डराउन्नँ, आत्तिन्नँ', उनी आँटिली सुनिइन् ।
महिला हुँ भनेर नसोचेकै कारण व्यावसायिक क्षेत्रमा अघि बढ्न सकेको उनी बताउँछिन् । भन्छिन्, ‘महिला हुँ घरभित्रमात्रै बस्नुपर्छ भन्ने सोचिनँ, फेरि घर पनि सम्हाल्न भने बिर्सिइनँ । घर नसम्हाली बिजनेस कसरी सम्हालिन्छ र ? ' होटल व्यवस्थापन हेर्दा स्टाफलाई निर्देशन गर्नेभन्दा पनि बेलाबेला आफैं काममा उत्रने उनको बानी रैछ । उनको अनुभवमा यो गर, त्यो गर भन्नुभन्दा पनि आफैंले गरेर यसरी गर्नुपर्छ भन्ने सिकाउँदा प्रभावकारी पनि भयो ।
टुर्स एन्ड ट्राभल्स एजेन्सीहरूको संस्था ‘नाट्टा'को सचिव भइसकेकी शर्माले पोखरा लेडी जेसिजको अध्यक्ष भएर नेतृत्व गरिसकेकी छन् । घर धान्नु, व्यवसाय धान्नु र सामाजिक क्षेत्रमा पनि खट्नुको तारतम्य मिलाएरै उनी अघि बढेकी छन् । होटलमा मार्केटिङ नभई गेस्ट आउँदैनन्, व्यवस्थापन नगरी सेवा राम्रो हुँदैन । पतिपत्नीबीच यी जिम्मेवारी समझदारीमा चलेको छ । जसरी होटलमा मार्केटिङ र म्यानेजमेन्ट परिपूरक हुन्, व्यावसायिक जिम्मेवारी र जिन्दगीमा पनि संगीता र टीका परिपूरक बनेरै अघि बढेका छन् । २० वर्षभन्दा लामो अनुभवपछि संगीतालाई बोध भइसकेको छ, ‘पर्यटनमा ख्याल गर्नुपर्ने भनेको होटलमा सुविधा र रेस्टुरेन्टमा खानाको हाइजिन हो ।' ध्यान त्यसैमा छ उनी भन्छिन् ।
पर्यटन क्षेत्रको अगुवा पनि भइसकेको नाताले अचेल उनी आफ्नो होटलबारे पनि सोच्दिनन् । सिंगो पोखराकै बारे चासो राख्छिन् । झन् अमेरिका, कोरियालगायत मुलुक घुमिसकेपछि उनलाई पर्यटन भनेको होटल र रेस्टुरेन्टमात्रै होइन भन्ने पनि महसुस भइसकेको छ । ‘होटलमा ल्याएर बसाउनुमात्रै पर्यटन होइन, धेरै ठाउँ घुमाउन सक्नुपर्छ । पर्यटकले हेर्ने, घुम्ने र खाने धेरै विकल्प दिन सक्नुपर्छ', उनले पाएको ज्ञान हो, ‘अमेरिका वा कोरियामा एउटै पार्क घुम्दा दिन जाँदो रहेछ, हामीले पोखरामा त्यस्ता ठाउँ बनाउन सकेका छैनौं ।'
पोखराको दिगो पर्यटनका लागि अब उनी त्यस्तै अवधारणा र योजना बनाउन पहलकदमी लिने पक्षमा छिन् । कुराकानी बिट मार्दामार्दै उनले पर्यटन उद्यमी महिला संगठित हुँदै गरेको जानकारी पनि दिन भ्याइन् । भन्छिन्, ‘महिलाहरू दुईचारजना मात्रै पर्यटनमा आएर भएन, अब थुप्रै महिला उद्यमी बनाउनु छ ।'