बर्डफ्लुको असरः कुखुराको किनबेच आधा घट्यो
इटहरीः सुनसरीको इटहरीमा कुखुराको किनबेच आधाले घटेको छ । इटहरीका विभिन्न ठाउँमा बर्डफ्लु भेटिएसँगै कुखुराको कारोबार घटेको हो । इटहरीका विभिन्न टोल तथा बाटो छेउमा कुखुरा काटेर बेच्दै आएका धेरै व्यवसायीले कुखुराको किनबेच नै नभएको बताएका छन् । विगतमा दिनको चार-पाँच सयवटा कुखुरा काटेर बेच्नेले एक महिनायता कुखुरा नै नकाटेको बताएका छन् ।
‘माग नै छैन, त्यसैले काट्नै छाड्यौं,' इटहरीकी एक कुखुरा व्यवसायीले भनिन् । कुखुराको मासुको कारोबार गर्दै आएकी इटहरीकी पनिया चौधरीका अनुसार अहिले मासुको भाउ बढेको छ । ‘भाउ बढेको छ, बेच्दाखेरी यतिखेर फाइदा छ', उनी भन्छिन्, ‘तर माग नै छैन ।'
बर्डफ्लुको हल्ला चल्नुअघिसम्म दैनिक १५ वटाको हाराहारीमा बिक्ने कुखुराको बिक्री अहिले ६-७ वटामा झरेको छ । ‘दिनभरी रुँघेर बस्नु परेको छ, बिक्री भइरहेको छैन', उनले भनिन् । इटहरीमै पुस्तौनी खसीको मासु बेच्दै आएका महमद अताबुल हुसेनले खसीको मासुको माग पछिल्ला दिन ह्वात्तै बढेको बताए । बर्डफ्लुको हल्ला चलेपछि खसीको मासु किन्ने बढेको उनको अनुभव छ । अहिले मासुको मूल्य ५० रुपैयाँ बढेर इटहरीमा खसीको मासु प्रतिकिलो सात सय रुपैयाँ पुगेको छ । संगीत चोकमा रहेको अताबुल फ्रेस हाउसमा बिहान र बेलुका ग्राहकको लाइन लाग्ने गर्छ ।
‘पहिला दिनको सरदर १० वटा खसीले पुग्थ्यो', उनले भने, ‘अहिले १२-१३ वटा काट्नुपर्छ ।' हुसेनका बुवाले इटहरीमै ३५ सालतिर दुई रुपैयाँ किलो खसीको मासु किनबेच गरेका थिए । बर्डफ्लुको हल्ला चल्दा खसीको कारोबार बढ्ने गरेको उनी बताउँछन् । उनले फ्रेस हाउसमा कुखुराको समेत मासु बेच्ने गर्थे । ‘बर्ड फ्लुको हल्ला चलेपछि कुखुराको मासु बेच्न छाडेँ', उनले भने ।
हुसेनजस्तै इम्तियाज आलमले समेत कुखुराको मासु बेच्न छाडेका छन् । बर्डफ्लुको कारण मागमा कमी आएसँगै कुखुरा बेच्न छाडेको उनी बताउँछन् । त्यसमाथि महँगो भाडा तिरे फ्रेस हाउस चलाइरहेका उनले कुखुराको मासुबाट खासै फाइदा नभएकाले पनि कारोबार एक महिनायता बन्द गरेको बताए ।
जिल्ला पशु सेवा कार्यालय सुनसरीले बर्डफ्लु फैलिन नदिन सावधानी अपनाइरहेको छ ।
यता सुँगुरको मासु पनि किनबेच बढिरहेको छ । इटहरीमै सुँगुर काटेर मासु बेच्दै आएका समृत तामाङले पछिल्ला केही दिनमा सुँगुरको माग पुर्याउन नसकेको बताए । ‘केही दिनयता एउटा सुँगुरले पुग्न छाडेको छ', उनले भने । व्यवसायीले कुखुराको मासु बेच्ने छाडे पनि भाउ बढेको छ । अहिले इटहरीमा जिउँदो कुखुरा नै किलोको दुई सय ५० रुपैयाँले किनबेच भइरहेको छ । यसअघि १८०-१९० रुपैयाँ थियो ।
इटहरीको पर्यटकीय क्षेत्र तालतलैयाका जंगली पंक्षी तथा खनारस्थित एक पोल्ट्री फर्ममा बर्डफ्लु भेटिएको थियो । खनारमा बर्डफ्लुको नयाँ जीवाणु भेटिएको थियो । अहिले जिल्ला पशु सेवा कार्यालय सुनसरीले भने बर्डफ्लु फैलिन नदिन सावधानी अपनाइरहेको जनाएको छ । संकास्पद रूपमा कुखुरा मरिरहेका बारेमा जानकारी संकलन गर्ने र नमुनालाई जाँचका लागि पठाउने काम भइरहेको जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्रमुख शिवनारायण महतोले बताए ।