अशोक लेल्यान्डको भाइकिङ बस बजारमा
काठमाडौं : नेपालका लागि अशोक लेल्यान्ड कमर्सियल भेइकलको आधिकारिक बिक्रेता एलटी इन्टरप्राइजेज प्रालिले कम्पनीको नयाँ उत्पादन स्वरूप भाइकिङ बस बजारमा ल्याएको छ । कम्पनीले शुक्रबार काठमाडौंको हायात होटेलमा एक कार्यक्रम गरी बहुप्रतिष्ठित भाइकिङ बस सार्वजनिक गरेको हो । आईएमई गु्रपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा कार्यक्रमका प्रमुख अतिथि अशोक लेल्यान्ड कम्पनीका उपसभापति रबिकुमार पंगाले संयुक्त रुपमा उक्त बस सार्वजनिक गरेका थिए ।
कम्पनीले एक सय ८० एचपी इन्जिन, एयर सस्पेन्सन, इनलाइन एफआईपी तथा मेकानिकल गभर्नर भाइकिङ बस भित्र्याएको हो । कम्पनीले सदा झै न्यूनत्तम इन्धन खपतमा उच्च पर्फर्मेन्स दिने गरी बस सार्वजनिक गरेको जनाएको छ । शुक्रबार सार्वजनिक भएको नयाँ भाइकिङ बसले हाल बजारमा गुडेका बसभन्दा छिटो यात्रा गर्नुका साथै सुविधा पनि राम्रो भएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा एलटी इन्टरप्राइजेज प्रालिका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले अशोक लेल्यान्डका बसले न्यूनत्तम लागतमा आरामदायी सेवा प्रदान गरी बजारलाई कब्जामा राखेको प्रतिक्रिया दिए । उनले भाइकिङ बसले पनि आफ्नो परिचयलाई स्थापित गरी ग्राहकमाझ लोकप्रिय लोकप्रिय हुने उल्लेख गरे । 'यस कम्पनीका बसमा यात्रुले नौलो अनुभव गर्नेछन्', उनले थपे ।
कार्यक्रममा आईएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, एलटी इन्टरप्राइजेज प्रालिका निर्देशक सन्दिप अग्रवाल र सुमन पोखरेल, एलटी इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटी, अशोक लेल्यान्ड बसका बिक्री तथा मार्केटिङ प्रमुख ओमप्रकाश पिके, अशोक लेल्यान्ड कम्पनीका पूर्वी सार्क क्षेत्रीय प्रबन्धक तन्मय मित्रा, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष विजयबहादुर स्वाँर, नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका महासचिव सरोज सिटौला, प्याब्सनका अध्यक्ष विजय सम्बाहम्फे, एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाही उपस्थित थिए ।
हन्दुजा ग्रुपअन्तर्गत अशोक लेल्यान्ड भारतीय गाडी उत्पादक कम्पनी हो । भारतको चेन्नाईमा मुख्यालय रहेको अशोक लेल्यान्ड सन् १९४८ मा स्थापित भएको थियो । भारतको दोस्रो ठूलो बाहन उत्पादक कम्पनी अशोक लेल्यान्ड विश्वको सोह्रौं ठूलो कम्पनीका पर्छ । यसका भारतमा मात्रै सात ओटा कारखाना छन् ।
भारतका साथै कम्पनीका खाडी मुलुक, केन्या र बंगलादेशमा पनि कारखाना छन् । अशोक लेल्यान्ड स्पेयर पुर्जा र औद्योगिक र समुद्री प्रयोगका इन्जिन पनि उत्पादन गर्दै आएको छ । यात्रु परिवहनका लागि १८ सिटदेखि ८० सिटसम्मको गाडी उत्पादन गरिरहेको कम्पनीका एक टनदेखि ४९ टनसम्मका विशेष बाहन पनि छन् । कम्पनीले नेपाली बजारमा ट्रक÷टिपर, बस, लाइट कमर्सियल गाडीका साथै डिफेन्स प्रयोजनका स्पेशल गाडी उपलब्ध गराएको छ ।