दलाई लामाको भारत भ्रमणप्रति चिनियाँ आपत्ति
बेइजिङ: तिब्बती बौद्ध धर्मगुरू दलाई लामालाई भारतले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा आमन्त्रण गरेपछि चीनले सोमबार त्यसको विरोध गरेको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार दलाई लामालाई बिहारको एक बौद्ध सम्मेलन उद्घाटन गर्न बोलाएकोमा आपत्ति जनाएको हो ।
पीटीआइले चाइना टुडेलाई उल्लेख गर्दै चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता ह्वा चनयिङले भनेकी छिन्, ‘चीनको विरुद्ध उभिने १४ औं दलाई लामालाई भारतले बौद्ध सम्मेलनमा बोलाएर सम्मान दिएको छ । यसमा चीन विरोध र तीव्र असन्तुष्टि व्यक्त गर्दछ ।’उनले भारतसँग यस्ता गतिविधि रोक्न पनि माग गरेकी छन् ।
दलाई लामाका कारणले भारत र चीनबीचको सम्बन्धमा चिसो आउने हुनाले यस्तो काम नगर्न उनले सुझाएकी छन् । उनले भनिन्, ‘तिब्बत र यससँग सम्बन्धित प्रश्नप्रति प्रतिबद्धता जनाउँदै भारतसँग चीनविरोधी गतिविधि तत्काल रोक्न आग्रह गर्दछु । भारत र चीनको सम्बन्धलाई थप कमजोर नबनाउन आग्रह गर्दछु ।’
८१ वर्षीय बैद्ध धर्मगुरु लामाले बिहारको नालन्दा जिल्लाको राजगीरमा १७ मार्चमा एक अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीको उद्घाटन गरेका थिए । राजगीर बिहारको प्रान्तीय राजधानी पटनादेखि करिब सय किलोमिटर दूरीमा रहेको छ । विभिन्न देशका बौद्ध भिक्षु तथा विद्वान्हरूले ‘२१ औ शताब्दीमा बौद्ध धर्म’ नामक सम्मेलनमा छलफल गरेका थिए ।
मार्च महिनाको सुरुमा अरुणाचल प्रदेशमा भारतले दलाई लामालाई अनुमति दिने बारेमा चीनले विरोध गरेको थियो । अरुणाचललाई चीनले तिब्बतको दक्षिणी भूभाग ठान्छ ।विदेश मन्त्रालयका अर्का प्रवक्ता गेङ सुआङले दलाई लामालाई विवादित क्षेत्रमा प्रवेश गर्न दिएको भन्दै त्यतिखेर पनि विरोध गरेका थिए । उनले भनेका छन्, ’चीन–भारत सीमा विवादित पूर्वी क्षेत्रमा चीनको बलियो दाबेदारी छ । दलाई लामा यस क्षेत्रमा पृथकतावादी आन्दोलनलाई सघाउन खोजेका छन् । त्यस्तो विवादित क्षेत्रमा उनी जानु ठिक होइन ।’
नोबल शान्ति पुरस्कार विजेता दलाई लामा सन् १८५९ मा तिब्बत छोडेर भारतमा शरण लिन गएका थिए । चीनले दलाई लामालाई स्वतन्त्र तिब्बत पक्षधर भएको बताउँदै आएको छ । दलाई लामालाई स्वागत गर्ने देशप्रति चीन आक्रामक बन्दै आएको छ । गत वर्ष नोभेम्बरमा उनलाई मंगोलियाले प्रवेश गर्न दिएपछि चीनले नाकाबन्दी लगाएको थियो ।