वाइम्याक्स विस्थापन गर्दै फोर जी
काठमाडौंः नेपाल टेलिकमले पछिल्लो समय सुरु गरेको चौथौ पुस्ताको मोबाइल इन्टरेनट (फोर जी)को प्रयोग बढाउँदै वल्र्डवाइड इन्ट्रोपेरबिलिटी फर माइक्रोवेभ एक्सेस (वाइम्याक्स)लाई विस्थापन गर्ने भएको छ।
टेलिकमले २०६९ कात्तिक २७ देखि सुरु गरेको वाइम्याक्स प्रविधि साढे चार वर्षमा नै विस्थापनको घोषणा गरेको हो। नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले अबको बजार फोर जी भएको बताइन्। ‘वाइम्याक्स पनि फोरजी प्रविधिमा आधारित भएकाले यसको विकल्पमा संसारले नयाँ प्रविधि आत्मसाथ गरिसकेकाले हामीले पनि विस्थापन गर्ने भएको छौ’, उनले भनिन्।
अन्तर्राष्ट्रिय स्तरमा पनि वाइम्याक्सभन्दा फोर जी एलटीई सेवाको प्रयोग बढी हुने गरेको छ। अन्तर्राष्ट्रिय समूदाय फाइभ जीमा जान थालिसकेको छ। वाइम्याक्स खर्चिलो भएकाले पनि हामीले विस्थापन गर्ने तयारी गरेका हौं’, राजभण्डारीले भनिन्।
नेपाल टेलिकमले २३ सय ब्यान्डको ३० मेगाहर्ज फ्रिक्वेन्सीमा ताररहित उच्चगतिको इन्टरनेट वाइम्याक्स सेवा सञ्चालन गरिरहेको छ । यो प्रविधि २०७३ कात्तिकदेखि ७५ वटै जिल्लामा पुगेको छ भने ६७ जिल्लामा वाइफाइ हट स्पट छ। सन् २०१५ पछि वाइम्याक्सको नयाँ प्रविधि उत्पादन नभएको र विश्वमै पनि कम प्रयोग हुन थालेकाले सेवा महँगो भई विस्थापन गर्न खोजिएको टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले बताए।
टेलिकमले वाइम्याक्समा अर्बौं लगानी गरे पनि वार्षिक आम्दानी ६ करोड १३ लाख मात्र भएको जनाएको छ । फेजआउट भइसकेको प्रविधिमा थप लगानी गर्नु उपयुक्त नहुने उनले बताए । अहिले भएको सेवालाई निरन्तरता दिँदै आगामी तीन वर्षभित्र यसलाई विस्थापन गर्ने टेलिकमले जनाएको छ। वाइम्याक्स सुरु भएको करिब साढे चार वर्षमा देशभर यसका ग्राहक संख्या जम्मा १६ हजार १०७ मात्रै छन्।
थ्रीजी सेवाको स्तरोन्नति भएर फोर जी हुँदै फाइभ जीसम्म पुगिसक्यो । फोर जीमा भ्वाइस (कुराकानी) पनि गर्न मिल्छ । वाइम्याक्स प्रविधि डाटाको लागि मात्रै प्रयोग हुने अमात्यले जानकारी दिए । टेलिकमले सुरु गरेको फोर जी पनि डाटाको लागि मात्रै हो । फोर जीमै भ्वाइससहितको फोर जी (भीओएलटीई) चलाउन सकिन्छ । नेपालमा सुरु भएको फोर जीमा भ्वाइस चलाउनुपरे थ्रीजीमा कनेक्ट हुन्छ । यसबाट डाटा र भ्वाइस दुवै चल्छ । प्रविधिलाई स्तरोन्नति गर्दै जानेक्रममा टेलिकमले पनि भ्वाइसहितको फोर जी चलाउन सक्ने अमात्यले जानकारी दिए ।
इन्टरनेटमा ‘फाइबर टु द होम र फोर जी’ मात्रै
टेलिकमले गत वर्षदेखि सुरु गरेको उच्च गतिको इन्टरनेट फाइबर टु द होम र मोबाइल डाटाको लागि फोर जी मात्रै प्रयोग गरी अरु प्रविधिलाई पनि विस्तारै विस्थापन गर्ने नीति लिएको छ । राजभण्डारीले नयाँ प्रविधिलाई आत्मसाथ गर्दै धेरै वटा प्रोडक्ट हुँदा सेवाको गुणस्तर कायम गर्न गाह्रो पर्ने हुनाले इन्टरनेटका लागि फाइबर टु द होम र फोर जी मात्रै चलाउने भएको बताइन् ।
पुरानो प्रविधिको ल्यान्डलाइन टेलिफोनअन्तर्गतको एडीएसएल इन्टरनेट, सीडीएमएसहितको प्रविधिलाई हटाएर नयाँ प्रविधिमात्रै प्रयोग गर्ने जानकारी टेलिकमले दिएको छ । सीडीएमए, पीएसटीएन, वाइम्याक्स, सीडीएमएको इन्टरनेट डाटा इभिडियो सर्भिसहितका पुरानो प्रविधिमा आधारित सबै सेवालाई विस्तारै विस्थापन गर्ने घोषणा टेलिकमले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत दिएको हो । टेलिकमले पत्रकार सम्मेलनमार्फत आफ्नो वार्षिक नाफा २० प्रतिशतभन्दा कम रहेको जानकारी गराएको छ ।