भिबोर सोसाइटीद्वारा वित्तीय साक्षरता
काठमाडौं: भिबोर सोसाइटी डेभलपमेन्ट बैंकले चितवनको देवघाटस्थित बज्रयोगिनी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ । उक्त कार्यक्रममार्फत विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, अभिभावक तथा त्यस भेगका वासिन्दाले बैंकले गर्ने कार्य तथा प्रदान गरिने सेवासुविधाबारे जानकारी पाएका थिए ।
सोही कार्यक्रममा बैंकले उक्त विद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० थान कम्प्युटर सहयोग स्वरूप हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका सञ्चालक समितिका अध्यक्ष सुशीलराज पराजुलीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापकलाई उक्त कम्प्युटर हस्तान्तरण गरेका थिए ।
बैंकको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । सोही अवसरमा पद्म जगत स्मृति प्रतिष्ठानका तर्फबाट ती विद्यालयका विद्यार्थीको अतिरिक्त क्रियाकलापका लागि फुटबल, चेस, भलिबल, बास्केटबललगायत खेलकुदका सामग्रीसमेत प्रदान गरिएको बैंकले जनाएको छ ।