कलामय अमरापुरी
अमरापुरी (नवलपरासी) : नवलपरासी जिल्लाको गैंडाकोटमा पर्ने अमरापुरी मंगलबारसम्म कलामय बन्यो, प्रथम अन्तर्राष्ट्रिय कला उत्सवले । उत्सवमा सहभागी थिए चार देशका अट्ठाइसजना कलाकार । उनीहरूले तीन दिनको बसाइमा त्यहाँ ६४ वटा चित्र कोरे । यी चित्र बुधबार र बिहीबार नवलपरासीकै कावासोतीमा हुने चित्रकला प्रदर्शनीमा राखिनेछन् ।
बंगलादेश शिल्प एकेडेमीका उपनिर्देशक प्रद्युतकुमार दास मंगलबार अमरापुरीमा क्यानभासमा रंग पोत्न व्यस्त थिए । उनी पहेँलपुर तोरीबारीलाई छोपिरहेको कालो धुवाँलाई कुचीले मिलाउँदै थिए । कला उत्सवमा सहभागी दासले आफ्नो चित्रबारे व्याख्या गर्दै भने, 'औद्योगिकीकरणले गर्दा प्रदूषण बढेको छ । प्रदूषणकै कारण हरियाली छोपिएको छ । ब्ल्याक स्मोक (कालो धुवाँ) शीर्षकमा यो चित्र बनाउँदैछु ।'
भारतको उडिसाबाट कला उत्सवमा सहभागी हुन आएका कलाकार विजय विश्वाल कत्थक शृंखलामा चित्र बनाउँछन् । अमरापुरी आउँदा आइतबार कला उत्सव स्थलमा नाचिरहेको मयूरले कलाकार टोलीलाई स्वागत गरेको थियो । त्यही नाचिरहेको मयूर उनले कत्थक गरिरहेकी नेपाली बालासँगै फ्युजन गरेर चित्र सिर्जना गरे ।
उनले बनाएको चित्रको पृष्ठभूमिमा हिमाली काखमा स्वयम्भू देखिन्छ । त्यही स्वयम्भू अगाडिबाट हावामा मयूर उडिरहेको छ । अनि दाहिनेतिर नाकमा बुलाकी लगाएकी नेपाली बाला नाचिरहेकी छन् । आफ्नो सिर्जनाबारे विश्वाल भन्छन्, 'निकै सुन्दर दृश्य थियो मयूर नाचेको । मलाई लाग्यो, मयूरले नाचेर हामीलाई नै स्वागत गरेको हो । मैले आफ्नो सिर्जनाबाट प्रकृतिको श्रद्धा गर्ने प्रयास गरेको छु । नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको हस्तकला विभाग प्रमुख सुषमा राजभण्डारीले भगवान् गणेशलाई सिर्जनाको आधार बनाइन् ।
उत्सवको आयोजना गैंडाकोटमा रहेको कलावती आर्ट काउन्सिलले गरेको हो । काउन्सिलका संस्थापक कलाकार भीम शर्माले उत्सवका सहभागी कलकारले दुईदेखि पाँचवटासम्म चित्र बनाएको जानकारी दिए । पहिलोपटक आयोजना गरिएको कला उत्सव अब हरेक वर्ष आयोजना गरिने जानकारी उनले दिए ।