५५ वर्षमा एसईई
जाजरकोटः फुलेका दाह्रीकपाल । चाउरी परेको अनुहार । हजुरबुबाजस्ता देखिने ५५ वर्षीय मालबहादुर शाही नातिनातिनाजस्ता लाग्ने किशोरकिशोरीसँग माध्यामिक शिक्षा परीक्षा (एसईई) दिइरहेका छन् । हुलाक कार्यालयमा हल्कारा पदमा कार्यरत त्रिवेणी नलगाड नगरपालिका ८ औलगुर्ताका शाही बढुवा हुन यस वर्षको एसईई दिइरहेका छन् । वीरेन्द्र हिमालय उच्च माध्यमिक विद्यालय भगवती २ तल्लु परीक्षा केन्द्रबाट ५५ वर्षीय शाही चस्मा लगाएर परीक्षामा उत्तरपुस्तिकामा कलम चलाइरहेका छन् ।
३१ वर्षअघि जिल्ला हुलाकमा हल्काराको जागिर सुरु गरे पनि बढुवा नभएपछि उनी यस वर्ष एसईईमा सामेल भएका हुन् । माध्यमिक शिक्षा सर्टिफिकेटको अभावमा सरकारी सेवाको फाइल बढुवा हुन नसकेपछि आफूले परीक्षा दिइरहेको उनले बताए । छोराछोरीको प्रेरणाले ५५ वर्षको उमेरमा पनि परीक्षा दिन आफूलाई उत्साह जागेको शाहीको भनाइ छ । माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण सर्टिफिकेट प्राप्त गरेर ३१ वर्षको सरकारी सेवाबाट बढुवा हुने आफ्नो उत्कट चाहना रहेको उनले बताए ।
एसईई उत्तीर्ण गरेर ३१ वर्षको सरकारी सेवामा बढुवा हुने चाहना छ ।
मालबहादुर शाही, परीक्षार्थी
यस वर्ष जाजरकोटमा सञ्चालित एसईईमा ५५ वर्षीय शाहीको सहभागिताले अन्य बालबालिकामा नयाँ स्फूर्ति आएको जिल्ला शिक्षा अधिकारी ललितविक्रम सिंहको भनाइ छ । मान्छेलाई ज्ञान हासिल गर्न उमेरले रोक्न सक्दैन ।
परीक्षा केन्द्रम छोरा जन्मियो
लक्ष्मी प्राप्ति माध्यमिक विद्यालय खुर्पा परीक्षा केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेकी एक छात्राले छोरा जन्माएकी छन् । कुसे गाउँपालिका १ टालेगाउँ काफलपाटाकी १६ वर्षीया कमलाकुमारी बस्नेतले मंगलबार सामाजिक परीक्षा दिँदादिँदै छोरा जन्माएकी हुन् । परीक्षा दिँदै गर्दा सुत्केरी बेथाले च्यापेपछि उनलाई अर्को कोठा सारिएको थियो ।
स्वास्स्थ्यकर्मीको सहयोगमा बच्चा जन्मेको केही समयपछि सहयोगी राखेर उनले परीक्षा दिएको केन्द्राध्यक्ष दिनेशकुमार सिंहले बताए । ती परीक्षार्थीका लागि केही समय थप गरिएको उनले जानकारी दिए । ९ कक्षामा पढ्दै गर्दा बिहे गरेकी बस्नेत र र बच्चाको स्वास्थ्य अवस्था सामान्य छ ।