यती बैंकको वित्तीय साक्षरता अभियान
काठमाडौं : यती डेभलपमेन्ट बैंकले वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने भएको छ । बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरता अभियानलाई निरन्तरता दिँदै जाने क्रममा बैंकले ग्रामीण क्षेत्रमा बैंकिङ र बचतको महत्वबारे जानकारी गराउन 'जोडौं एक नाता खोली बैंकमा खाता' को नारासहित विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गर्ने भएको हो ।
वित्तीय साक्षरताको कार्यक्रमलाई अभियानका रूपमा सञ्चालन गर्न गइरहेको बैंकले जनाएको छ । ग्रामीण क्षेत्रका विभिन्न महिला समूह, सरकारी विद्यालय तथा शिक्षाको पहुँच कम भएका क्षेत्रलाई प्राथमिकतामा राखी कार्यक्रम सञ्चालन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले बताए ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रममा स्वास्थ्य परीक्षण, नारी सम्मान, बालबालिकालाई पाठ्यसामग्री वितरण, रक्तदानजस्ता कार्यक्रम सञ्चालन गर्दै आएको छ ।