उद्योगी व्यवसायी देश दाडाहमा
हेटौंडा : नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा उम्मेदवारी घोषणा गरेका शेखर गोल्छा समूहले तीन नम्बर प्रदेशअन्तर्गतका जिल्ला नगर अध्यक्षसँग सोमबार साँझ हेटौंडामा छलफल गरेका छन् ।
वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका गोल्छा, जिल्ला नगर उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ, वस्तुगत उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ र एसोसिएट उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाललगायतले जिल्ला नगर अध्यक्षहरूसँग छलफल गरेको हो ।
तीन नम्बर प्रदेश उद्योण वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा महासंघका अध्यक्ष पशुपति मुरारकाले देशको संघीय संरचनाअनुसार नेतृत्व गर्न सक्ने टिम महासंघलाई चाहिएको बताए । पूर्वअध्यक्ष चण्डिराज ढकालले महासंघ पनि संघीय संरचनामा अघि बढेको भन्दै यो टिमले समग्र निजी क्षेत्रको नेतृत्व गर्न सक्ने बताए ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवार गोल्छाले आयातभन्दा निर्यात व्यापारलाई प्रोत्साहन दिनुपर्ने बताए । साथै, उनले अन्डरबिलिङको समस्या निराकरण नगर्दा व्यापारी मारमा परेको बताए ।
तीन नम्बर प्रदेशसहित २१ जिल्लाका जिल्ला नगर अध्यक्षको उपस्थितिमा भएको कार्यक्रममा पूर्व मध्यमाञ्चल उद्योग वाणिज्य महासंघका अध्यक्ष अरुणराज सुमार्गीले तीन नम्बर प्रदेश अध्यक्षमा उम्मेदवारी घोषणा गरे ।
कार्यक्रम मकवानपुर उद्योग वाणिज्य संघको आतिथ्यतामा भएको थियो । चैत ३ गते बुटवलामा उम्मेदवारी घोषणा गरेका गोल्छा समूहका उम्मेदवार हेटौंडामा जिल्ला नगर अध्यक्षहरूसँग छलफल सकाएर मंगलबार बिहान पूर्वी जिल्लाका मतदाता भेट्न निस्किएका छन् । महासंघको साधारणसभा चैत २८ र २९ गते हुँदै छ ।