परीक्षा नसकिँदै भर्ना चटारो
विराटनगरः औद्योगिक नगर विराटनगर पछिल्लो समय अब्बल शिक्षाका लागि पनि परिचित छ । विद्यालय शिक्षामा भएको प्रगतिसँगै विराटनगरमा विद्यार्थीको आकर्षण पनि चुलिएको छ । नयाँ शैक्षिक शत्र सुरु हुनै लाग्दा यहाँका निजी तथा सामुदायिक विद्यालयहरू विद्यार्थी भर्नाको तयारीमा लागेका छन् ।विराटनगरमा अहिले वार्षिक परीक्षा जारी छ ।
विद्यालयहरूले नर्सरीदेखि नै भर्नाका लागि विविध कार्यक्रम घोषणासमेत गर्न थालेका छन् । एभरेस्ट स्कुलका प्राचार्य टीकाराम पुरीका अनुसार एसएलसी दिएर जाने र ड्रपआउट भएर जाने विद्यार्थी परिपूर्ति गराउन करिब ३ सय विद्यार्थी भर्ना लिइने बताए । कक्षा ९ मा भर्ना नलिइने तर कक्षा ८ सम्म भने लिने व्यवस्था गरिएको बताउँदै उनले भने, ‘भौतिक पूर्वाधारमा विशेष सुविधा दिई विद्यार्थी केन्द्रित सिकाइलाई बढी महत्व दिएका छौं ।' शिक्षण विधि र विद्यार्थी केन्द्रित मूल्याङ्कन विधि अपनाएकाले एभरेस्टमा विद्यार्थीको चाप रहेको पुरीले दाबी गरे ।
एभरेस्टमा हरेक वर्ष विदेशबाट आउने स्वयंसेवक शिक्षकले उताको अनुभव आदान प्रदान गर्ने गरेका छन् । यो वर्ष अस्ट्रेलियाबाट स्वयंसेवक आउने विद्यालयले जनाएको छ । एभरेस्टमा दुई हजार विद्यार्थी पढ्छन् ।
एसएलसीमा राष्ट्रियस्तरमै उत्कृष्ट नतिजा ल्याएर चर्चामा रहेको विराटनगरको बाल कल्याण विद्यामन्दिर (बिकेभिएम) क्षेत्रीय रूपमा पनि निकै कहलिएको विद्यालय हो । यो वर्षदेखि एसइई परीक्षा सुरु भई अब कक्षा ११ र १२ पनि विद्यालयमै रहनुपर्ने व्यवस्था भएपछि त्यसको पनि व्यवस्थापन गरिने प्राचार्य रविन दाहालले बताए । उनले भने, ‘नयाँ व्यवस्थाअनुसार अब दश जोड दुई अनिवार्य भएकाले हामी आउँदो शैक्षिक सत्रदेखि त्यसको तयारीमा पनि लागेका छौं ।' नर्सरी र तल्लो कक्षाहरूमा विद्यार्थी भर्नादर अधिक हुने गरेको दाहालले जानकारी दिए । बिकेभिएमले तल्लो कक्षाहरूमा सेक्सन विभाजन गरेर विद्यार्थी भर्नालाई सहज बनाउने गरेको जनाएको छ । विराटनगरमा सिराह र सप्तरीबाट पनि विद्यार्थीहरू पढ्न आउँछन् । बिकेभिएममा २ हजार ८ सय विद्यार्थी पढ्छन् ।
विराटनगर ४ मा अवस्थित इडेन नेशनल स्कुलले स्थापनाको पच्चीसौं वर्षको सन्दर्भ पारेर जिल्ला शिक्षा कार्यालयको समन्वयमा एउटा समिति गठन गर्ने तयारी गरेको छ । प्रिन्सिपल सिएम बस्नेतले भने, ‘कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई परीक्षामा सामेल गराउने र उत्कृष्टलाई निःशुल्क पढाउने व्यवस्था गर्दै छौं ।' उत्कृष्ट विद्यार्थीलाई ‘सिल्भर जुब्ली एम्बेसडर' घोषणा गरेर सुविधा दिइने बस्नेतले बताए । चैत १६ गतेबाट भर्ना अभियान सुरु हुने जानकारी दिँदै बस्नेतले बढीमा तीन सय विद्यार्थी यो शैक्षिक सत्रमा भर्ना गरिने बताए । विद्यालयले भौतिक पूर्वाधार र पढाइको गुणस्तरमा निकै ध्यान दिएको जनाएको छ ।
विराटनगर-१० का अभिभावक गोविन्द कोइराला निजी विद्यालयसँगै सामुदायिक विद्यालयले पछिल्लो समय चाल्ने भर्ना अभियानले पनि विद्यालय छनोट गर्न मद्दत मिल्ने गरेको बताए । उनले भने, ‘विद्यालयले दिने सुविधालाई हेरेर नै हामीले आफ्ना नानीहरूलाई भर्ना गराउने हो ।' उनले अहिलेको बढ्दो प्रतिस्पर्धाका कारण अभिभावकलाई विद्यालय छान्न सहज हुने गरेको बताए ।
विराटनगरका सामुदायिक विद्यालयहरू आदर्श, पोखरिया र सत्यनारायणले विद्यार्थी भर्ना गराउँदा निजी विद्यालयकै जस्तो प्रवेश परीक्षा लिने गरेका छन् । विराटनगरको सगरमाथा स्कुल पनि गनिएको विद्यालयमा पर्छ । बाल मनोविज्ञानमा आधारित शिक्षण विधि अपनाउँदै अभिभावकसँगको परामर्शलाई जोड दिँदै आएको विद्यालयले पनि नयाँ भर्नाबारे तयारी सुरु गरेको छ ।
विद्यालयका प्रिन्सिपल विनोद अधिकारी भन्छन्, ‘हामी गुणस्तरीय शिक्षाका लागि सधैं मेहनत गरिरहेका छौं । तल्ला कक्षादेखि नै राम्रा विद्यार्थी आऊन् भन्ने हाम्रो पनि ध्येय रहन्छ ।' विराटनगरमा बूढानीलकण्ठ, सेन्ट जोसेफ, सेन्ट मेरिज, दिल्ली पब्लिक, डिएभी जस्ता धेरै विद्यालयले शैक्षिक गुणस्तरमा निकै फड्को मारिसकेका छन् ।