अब्बल छन् सामुदायिक पनि

अब्बल छन् सामुदायिक पनि

काठमाडौः ललितपुरको आदर्शशौल माध्यमिक विद्यालयले कक्षा नौमा चारवटा सेक्सन बनाएर पढाइ सञ्चालन गरिरहेको छ । यस विद्यालयमा हरेक वर्ष भर्ना हुन जम्मा भएका विद्यार्थीको भीडले कुनै नाम चलेका निजी विद्यालयको झल्को मेटाइदिन्छ ।

सामुदायिक विद्यालय भन्नेबित्तिकै नाक खुम्च्याइहाल्ने अभिभावकलाई समेत यस विद्यालयको सफलताको कथा पत्याउन कठिन हुन्छ । विद्यालयका प्रधानाध्यापक सरोजभक्त आचार्य भन्छन्, ‘सबै कक्षामा गरेर १ हजार ७ सय २१ जना विद्यार्थी पढ्छन् । कक्षा छ भन्दा माथिका हरेक कक्षामा २ सयको हाराहारीमा विद्यार्थी पढ्छन् ।' शैक्षिक सत्रको सुरुवातसँगै विद्यार्थी भर्नाका लागि भौंतारिने अभिभावकका लागि आदर्शशौल राम्रो गन्तव्य बन्न सक्छ ।

बाफलमा रहेको ज्ञानोदय माध्यमिक विद्यालय पनि कक्षामा गरेर २ हजार १ सय विद्यार्थी अध्ययनरत छन् । नर्सरीदेखि कक्षा बाह्रसम्म पढाइ हुने यस विद्यालयमा दैनिक ४४ वटा कक्षामा पढाइ हुन्छ । नर्सरीदेखि नै हरेक कक्षामा तीनवटासम्म सेक्सन छ । ‘विद्यार्थीको चाप थेगिनसक्नु छ । सीमित स्रोत र साधन भएका कारण चाहेर पनि हरेक वर्ष भर्ना हुन आउने सबै विद्यार्थीलाई पढाउन सकेका छैनौं', विद्यालयका प्रधानाध्यापक नातिकाजी महर्जन भन्छन्, ‘सबै विद्यार्थीलाई राख्न नसकेर प्रवेश परीक्षा लिएर छान्ने गरेका छौं ।'

महर्जनका अनुसार विद्यालयले निजी विद्यालयले जसरी नै नर्सरीदेखि विद्यार्थी भर्ना गर्छ । उनीहरूलाई कोठामा मायालु वातावरणमा पढाउने, कुनै कुरा नजानेमा हप्काउनेभन्दा पनि मीठो बोलीबाट सिकाउने लगायतका क्रियाकलापका कारण विद्यार्थी आकर्षण बढिरहेको छ । नर्सरीदेखि नै अंग्रेजी माध्यमबाट पढाइ हुने, कक्षा चारदेखि आठसम्म अनिवार्य कम्प्युटरको पढाइ, विषयगत रूपमा दक्ष र मेहनती शिक्षक, पढाइमा सूचना प्रविधिको प्रयोग तथा हरेक वर्ष कक्षा दश तथा विगतका वर्षमा एसएलसी आएको एसएलसीको राम्रो नतिजा आदि यस विद्यालयका थप आकर्षक विशेषता हुन् ।

अब्बल सामुदायिक विद्यालयको पंक्तिमा थानकोटस्थित मंगलोदय माध्यमिक विद्यालय पनि अग्रभागमै पर्छ । यस विद्यालयमा अहिले कक्षा नौमा १ सय ४० जना विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीका लागि स्कुलले तीनवटा सेक्सन बनाएर छुट्टाछुट्टै कक्षा र पढाइको व्यवस्था गरेको छ । अन्य कक्षामा पनि विद्यार्थी उपस्थिति मनग्गे छ ।

सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कियो भन्ने आम अभिभावकको बुझाइ विपरीत मंगलोदयले गरेको प्रगति सामुदायिक विद्यालय सुधारका अभियानमा लागेकाहरूका लागि समेत प्रेरणादायी छ । सामुदायिक विद्यालय सुधारका लागि के कस्ता गतिविधि गर्न सकिन्छ भन्ने गतिलो उदाहरण यस विद्यालयले प्रस्तुत गरेको छ ।

प्रधानाध्यापक लीलानाथ शर्माका अनुसार विद्यालयमा कक्षा एकदेखि दशसम्म मात्र १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । शैक्षिक संस्थहरू खुल्ने नियमित समय बिहान दश बजे भए पनि उक्त स्कुलमा हरेक दिन सवा नौ बजेदेखि नै पढाइ सुरु हुन्छ । धेरैजसो विद्यार्थीले कठिन मान्ने गरेको विज्ञान, गणित, हिसाब लगायतका विषय सातामा आठ पिरियड पढाइ हुन्छ । हरेक शनिबार विद्यार्थीको परीक्षा लिइन्छ ।

‘दश कक्षाको परीक्षा वर्षमा दशपटक लिइन्छ । उनीहरूको नतिजा अभिभावकलाई अगाडि राखेर मात्र सार्वजनिक गर्छौं', प्रधानाध्यापक शर्मा भन्छन्, ‘विद्यार्थीको आकर्षण बढेका कारण प्रवेश परीक्षा लिएर मात्र भर्ना गर्नुपर्ने बाध्यता छ । यसैको परिणाम स्वरूप एक दशकदेखि विद्यालयको कक्षा दशलगायत अन्य कक्षाको नतिजा पनि शतप्रतिशत छ ।' विद्यालयमा ५३ जना शिक्षक कार्यत छन् । विद्यालय सुधारौं भन्ने सबै शिक्षक शिक्षिकाको एक मत र अभिभावकको साथका कारण विद्यालय अहिलेको अवस्थामा आइपुगेको शर्माको भनाइ छ ।

एकातिर विद्यालय शिक्षा महँगो भयो भन्दै चिन्तित र अर्कोतर्फ सरकारी स्कुलमा राम्रो पढाइ भएन भन्दै गुनासो मात्र पोखिरहने विद्यार्थी र तिनका अभिभावकका लागि मंगलोदय उत्कृष्ट शैक्षिक गन्तव्य बन्न सक्छ । सामुदायिक विद्यालयको प्रगतिकोे कथामा सँगै जोडिन आउँछ बाफलको ज्ञानोदय माध्यमिक विद्यालय पनि ।

हरेक वर्ष विद्यार्थी चापका कारण भर्नाका लागि प्रवेश परीक्षा लिनुपर्ने र प्रवेश परीक्षामा विद्यार्थी उत्तीर्ण गराइदिन अनुरोध गर्दै सरकारी कर्मचारीको समेत दबाब खेप्नु यस विद्यालयका लागि सामान्यजस्तै बनिसकेको छ अहिले । विद्यार्थी अभावमा बन्द हुने अवस्थामा पुगेका सामुदायिक विद्यालयहरूका संख्या दिन प्रतिदिन बढिरहँदा भक्तपुरको वागेश्वरी, ललितपुरकै श्रमिक शान्ति, बानेश्वरको रत्नराज्य, बालाजुको तरुण, पद्मोदय, पद्मकन्या लगायतका दर्जनभन्दा बढी सामुदायिक विद्यालय अहिले विद्यार्थी र अभिभावकका लागि समेत रोज्जा विद्यालय बनिरहेका छन् । यस्ता विद्यालयहरू अन्य सामुदायिक विद्यालयका लागि समेत उदाहरणीय बनिरहेका छन् ।

आदर्शशौलका प्रधानाध्यापक आचार्य भन्छन्, ‘शिक्षकले आफ्नो जिम्मेवारी सम्झेर नियमति पढाउनुपर्‍यो । टिम वर्क हुनुपर्‍यो । व्यवस्थापन समिति लगायत विद्यालयसँग सरोकार राख्ने सबै पक्षले जिम्मेवारी राम्रोसँग वहन गरिदिनुपर्‍यो । विद्यालय सुधार्न अन्य नयाँ केही काम गर्नुपर्दैन ।' बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयकी प्रधानाध्यापक डा. गोमा खरेल प्रधानाध्यापक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सबैले व्यक्तिगत स्वार्थभन्दा माथि रहेर जिम्मेवारी वहन गर्न सके विद्यालय सुधार्न कठिन नहुने बताउँछिन् । ‘शिक्षकले जागिरे मानसिकता त्यागेर अवसरको रूपमा लिनुपर्छ । आफू आबद्ध स्कुललाई कसरी सुधार्न सकिन्छ भन्ने भावना सबैमा हुनुपर्छ', खरेल भन्छिन्, ‘यति गर्न सकियो भने समुदायले पनि पत्याउँछ । विद्यालयलाई आवश्यक पर्ने स्रोत जुटाउन पनि कठिन हुँदैन ।'

शिशु कक्षादेखि बाह्रसम्म पढाइ हुने यस विद्यालयम २ हजार १ सय विद्यार्थी अध्ययनरत छन् । शिक्षकले छोराछोरीलाई आफैंले पढाएको स्कुलमा पढाएका छन् । सांसद तथा राजनीतिक दलका नेताले पनि यही स्कुलमा छोराछोरी पढाएका छन् ।

‘अन्य स्कुलमा विद्यार्थी बोलाउन घरदैलो अभियान चलाउनुपर्छ । हामीकहाँ भने अहिले नै अभिभावकले भर्ना फाराम लिएर जानु थालिसक्नु भएको छ । अभियान चलाउने हो भने त हामीलाइ थेग्नै नसक्ने विद्यार्थी आउँछन्', खरेल भन्छिन्, ‘तैपनि राज्यले राम्रा गर्ने र नराम्रो गर्ने सबै विद्यालयलाई एकै व्यवहार गरेको छ । राम्रो गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो गर्नेलाई दण्डित गर्ने परिपाटी बसाल्न सकिए अझ सुधार गर्न सकिन्छ ।' अभिभावक र विद्यार्थीको विश्वास जित्न सफल भएका केही सामुदायिक विद्यालयकै कारण अन्य सामुदायिक विद्यालयप्रति पनि विद्यार्थी अभिभावकको विश्वास बढिरहेको छ । स्वयं विद्यालय र शिक्षकलाई समेत हौसला प्रदान गरिदिएको छ ।

पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयका शिक्षक नारायण गौतम अभिभावकको यही विश्वासकै कारण निजी विद्यालय छोडेर सामुदायिकमा भर्ना हुन चाहने विद्यार्थीहरू बढिरहेको बताउँछन् । ‘धेरै शिक्षकले निजीमा पढिरहेका छोराछोरीलाई आफैंले पढाउने विद्यालयमा पढाइरहेका छन् । सबै सरकारी कर्मचारीले छोराछोरीलाई पनि सरकारी स्कुलमै पढाउने अभियान सञ्चालन गर्न सके यस्ता स्कुलको साख अझ बढाउन सकिन्छ', गौतम भन्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.