घरजस्तै विद्यालय

घरजस्तै विद्यालय

भनिन्छ, पाठशाला विद्यार्थीको दोस्रो घर हो । यहाँ कखगघ र एबीसीडी मात्रै नभई जीवनमा उपयोगी हुने संस्कार र मूल्य मान्यताको पनि ज्ञान दिइन्छ । कुनै पनि बालबालिकालाई जब विद्यालयमा भर्ना गरिन्छ, उसले आफ्ना गुरु तथा गुरुआमालाई पहिलो भेटमै गुड मर्निङ वा नमस्कार भनेर अभिवादन गर्नुपर्ने रहेछ भनेर सिक्छ । कतिपय बालबालिकाले आफ्ना साथीभाइले गरेकै देखेर पनि सिक्ने गर्छन् त कतिपयलाई गुरु तथा गुरुआमाले नै सिकाउँछन् । दिनदिनै यिनै कुरा सिकाउँदा उसले पहिलो भेटमा गर्नुपर्ने अभिवादनदेखि धन्यवाद, स्वागतम् लगायतका शब्दहरू कति बेला प्रयोग गर्नुपर्छ भन्ने बारेमा पनि विस्तारै सिक्दै जान्छ ।

करिब दुईदेखि ६ वर्षको उमेरमा नै बालबालिकाको अधिकतम बौद्धिक विकास हुने वैज्ञानिक अध्ययनले पनि पुष्टि गरिसकेको छ । हिजोआज अभिभावकको व्यस्तताले गर्दा कतिपय बालबालिकालाई दुई वर्ष पनि पूरा नभई विद्यालयमा भर्ना गरिदिने प्रचलन पनि बढेको पाइन्छ । यस्तो अवस्थामा विद्यार्थीलाई किताबको भारी बोकाएर विद्यालयप्रति नै वितृष्णा जगाउनु व्यवहारिक नहुने मध्यबानेश्वरस्थित मन्टेसरी किड्स वल्र्डकी प्रिन्सिपल सबनम् सुब्बाको भनाइ छ ।

पूर्वप्राथमिक तहको अध्यापन हुने उक्त मन्टेसरीमा विद्यार्थीलाई कुनै पनि किताब किन्न लगाइन्न । उनीहरूले एउटै कपीमा वर्षभरिको अध्ययन सकाउँछन् । विद्यार्थीलाई कुनै पनि विषयको ज्ञान दिन सम्बन्धित ठाउँमै लगेर त्यसको बारेमा सम्पूर्ण व्यवहारिक ज्ञान दिइन्छ । विज्ञान विषयअन्तर्गत कुनै एउटा बिरुवाको बारेमा पढाउनुपरे विद्यार्थीलाई वनस्पति उद्यानमै लगेर उनीहरूलाई बिरुवा देखाई त्यसको सम्पूर्ण जानकारी दिने गरिन्छ । यो उमेरका विद्यार्थीलाई किताब पढेर ज्ञान लिनेभन्दा पनि किताब कसरी पढ्नुपर्छ, मेरो हातले कसरी लेख्नुपर्छ भनेर सिकाउनुपर्ने उनी बताउँछिन् ।

उनी भन्छिन्, ‘यो उनीहरूको दोस्रो घर हो । यहाँ बच्चालाई सिकाउँछौं र हामीले पनि उनीहरूबाट सिक्छौं ।' त्यसैले विद्यार्थीलाई खेल्दै सिकाउने गरिन्छ । सकेसम्म विद्यार्थीलाई घरायसी वातावरण दिनु विद्यालयको उद्देश्य रहेको सुब्बा बताउँछिन् । विद्यार्थीले कहिले पनि विद्यालय र पढाइलाई बोझ मान्नु हुँदैन भन्ने उनको मान्यता छ । त्यसैले त विद्यालयमा विद्यार्थीलाई किताब हेर्न मात्रै होइन, संसार हेर्न सिकाइने उनको भनाइ छ ।

विद्यार्थीलाई विशेष गरी शारीरिक, मानसिक, भाषिक, बौद्धिक र समाजीकरण लगायतका विषयमा केन्द्रित गर्ने गरिएको छ । विद्यालयमा कुनै नयाँ पाहुना आए उसलाई सम्पूर्ण विद्यार्थीसँग भेट गराइन्छ । उनीहरूलाई आफ्नो परिचय आफैं दिन लगाइन्छ । कक्षाकोठामा पनि विद्यार्थीलाई आफ्नो सामान अर्को साथीलाई पनि बाँडेर प्रयोग गर्न सिकाइन्छ । ‘नयाँ साथी बनाउने दिन' तोकेर विद्यार्थीलाई कुनै अर्को विद्यालयमा लगेर नयाँ साथी बनाउने र आ—आफ्नो प्रतिभा प्रस्तुत गर्न पनि लगाइन्छ । यति मात्रै नभई विद्यालय नजिकैको छरछिमेकमा लगेर पनि बच्चालाई घुलमिल हुन सिकाइन्छ ।

यसले उनीहरूमा संस्कारमात्रै नभई समाजीकरणको भावना पनि जगाउने सुब्बाको भनाइ छ । हिजोआज प्रविधिले गर्दा विद्यार्थी घरमा पुगेर कम्प्युटर, फोन, टेलिभिजनमा मात्रै व्यस्त हुने हुनाले यसमा अभिभावकले पनि चासो दिनुपर्ने उनी बताउँछिन् । कति बेला हेर्नुहुन्छ कति बेला हुँदैन भनेर बानी लगाउने सके भोलिका दिनमा उनीहरूमा आउने एक्लोपना र तनाव आदिबाट बचाउन सकिने उनको धारणा छ ।

विद्यार्थीलाई संस्कार सिकाउने कुरामा विद्यालय जत्तिकै हात अभिभावकको पनि हुने स्विकार्छिन्, सञ्चारकर्मी भारती बस्याल । सेन्ट मेरिज हाई स्कुलमा कक्षा ४ मा पढ्ने उनकी छोरी समृृद्धि बस्यालको केही जिद्दी स्वभाव भए पनि यसो गर्नु हुँदैन भनेर सम्झाए मानिहाल्ने गर्छिन् । श्रोतामाझ एउटा गीत समेत ल्याइसकेकी समृद्धि घरमा नयाँ पाहुना आउँदा उनीहरूलाई अभिवादन गर्नेदेखि बोलीचाली र कसैले गीत गाएर सुनाइदेऊ न भने पनि नाइँ भन्दिनन्।

सामान्य शिष्टाचारका बारेमा आफ्ना छोराछोरीलाई सिकाउने कर्तव्य अभिभावकको पनि भएको भारतीको भनाइ छ । त्यसमा पनि आमाले आफ्ना छोराछोरीसँग बढी समय बिताउने भएकाले सानैदेखि उनीहरूलाई संस्कार र संस्कृतिका बारेमा ज्ञान आमाले दिनुपर्ने उनी बताउँछिन् । हाम्रो धर्मले समेत जोड्न र अनुशासित हुन सिकाएकाले यसका बारेमा पनि आफ्ना सन्तानलाई बताउँदै उनीहरूलाई नेपालको एउटा सुसंस्कृत र सक्षम नागरिक बनाउनुपर्ने उनको धारणा छ । उनी भन्छिन्, ‘गाउँघरतिर त सानैदेखि बालबालिकाले शिष्टाचार सिकिसकेका हुन्छन्, तर काठमाडौंमा अभिभावकको व्यस्तता र उनीहरू कस्तो परिवेशबाट आएका हुन्, त्यसको प्रभाव सन्तानमा पर्ने गर्छ ।'

गाउँघरमा ठूल ठूला चौर र प्रशस्तै मात्रामा खुला ठाउँ हुने भएकाले बालबालिकाले निष्फिक्री रूपमा खेल्न कुद्न पाउँछन् । यसले उनीहरूको शरीर र दिमागलाई समेत फुर्तिलो बनाउँछ तर शहरमा मुस्किलले चार आना, ६ आना जोडेर घर बनाउनुपर्ने बाध्यताले गर्दा बालबालिकाले खेल्ने ठाउँ पाउँदैनन् । त्यसमा पनि अभिभावक व्यस्त हुने हुनाले छोराछोरीलाई बन्द कोठामा कम्प्युटर, टेलिभिजन, मोबाइल आदिमै रमाउन दिइन्छ ।

त्यसैले यस्तो प्रवृत्ति छाडेर अभिभावकले पनि आफ्ना सन्तानलाई समय दिएर उनीहरूलाई सकेसम्म बाहिरी खेलकुद र साथीहरूसँग घुलमिल हुने वातावरण मिलाइदिनुपर्ने कान्जिरोवा स्कुलका निर्देशक कपिलदेव रेग्मी बताउँछन् । यसो गर्दा बालबालिकाले अहिलेको परिवेशअनुसारको परिवर्तित मूल्यमान्यता र संस्कार पनि अपनाउँदै लैजान सक्ने उनको भनाइ छ ।

अझै पनि केही राम्रा विद्यालयहरूले विद्यार्थीलाई नैतिक शिक्षा र जीवनोपयोगी मूल्य मान्यताको ज्ञान कुनै न कुनै रूपमा दिने गरेको उनी बताउँछन् । पहिलेको जस्तो नैतिक शिक्षाको विषय नै पाठ्यक्रममा राख्नुपर्छ भन्ने अनिवार्य नभए पनि विद्यार्थीलाई व्यवहारिक तरिकामा सुसंस्कृत गराउने गरिएको छ । कान्जिरोवाकै कुरा गर्दा विद्यालयमा विभिन्न दिवसका साथै ‘ग्रान्डप्यारेन्ट्स डे' भनेर पनि मनाउने गरिन्छ ।

विद्यालयले त हाम्रा हजुरबुबा हजुरआमालाई यति महत्व दिएर बोलाएको छ भने हामीले पनि उनीहरूलाई माया, प्रेम र आदर गर्नुपर्छ भन्ने भावना बालबालिकामा जगाउने उनको दाबी छ । हिजोआज आफ्ना छोराछोरीसँग अभिभावकको भेटघाट र संवाद नै कम हुने भएकाले पनि बालबालिका एक्लिँदै गएर प्रविधिकै साथ प्यारो मान्न थालेका उनको भनाइ छ । त्यसैले यस्तो समस्याको समाधान विद्यालय मात्रै नभई विद्यालय र अभिभावक दुवै मिलेर एउटा सुसंस्कृत र सभ्य नागरिक तयार पार्ने अभियानमा जुट्नुपर्ने उनी बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.