विद्यार्थी तान्दै चितवनका विद्यालय

विद्यार्थी तान्दै चितवनका विद्यालय

भरतपुरः भरतपुर महानगरपालिका २, क्षेत्रपुरकी ममता पौडेल र भरतपुर महानगरपालिका ८, प्रेमबस्तीकी लक्ष्मी अधिकारी सहपाठी हुन् । उनीहरू दुबैजना नारायणगढस्थित बालकुमारी कलेजमा बीबीएस पहिलो वर्षमा अध्ययनरत छन् । गतवर्ष दुबैले एकैपटक भरतपुर महानगरपालिका १० स्थित नारायणी नमुना माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेका थिए ।

क्षेत्रपुरस्थित समता माध्यमिक विद्यालयबाट एसएलसी पास गरेपछि ममताले विज्ञान विषय लिएर ११ र १२ कक्षाको पढाइ नारायणी नमुना माविबाट सिध्याएकी हुन् । लक्ष्मीले भने चितवनको दक्षिणी क्षेत्रमा रहेको माडी नगरपालिकामा पर्ने रमाइलो डाँडा निम्नमाध्यमिक विद्यालयबाट आठ कक्षा उत्तीर्ण भएपछि कक्षा नौदेखि नारायणीमा पढेकी हुन् । उनले एसएलसीपछि व्यवस्थापन विषयमा ११ र १२ कक्षाको पढाइ नारायणीबाटै पूरा गरिन् । ममता र लक्ष्मी दुबैजना संस्थागत विद्यालयहरूको जस्तै पढाइ हुने थाहा पाएर सामुदायिक विद्यालयमा पढेको बताउँछन् ।

पहिलोपटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विद्यार्थी सहभागी भइरहेको बेला विद्यालयहरू एसईई परीक्षापछि नयाँ भर्नाको तयारीमा छन् । नयाँ शैक्षिक सत्र सुरु हुन तीन हप्ता बाँकी रहँदा चितवनका केही अभिभावक अब आफ्ना छोराछोरीलाई कुन विद्यालयमा भर्ना गराउने भन्ने सोचाइमा छन् । पछिल्लो समयमा केही सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षा दिन थालिएपछि विद्यार्थीको आकर्षण सामुदायिक विद्यालयमा देखिन थालेको छ । राम्रो नतिजा ल्याउन सफल केही सामुदायिक विद्यालयमा संस्थागत विद्यालयबाट समेत विद्यार्थीहरू भर्नाका लागि आउने गरेका छन् ।

नारायणी नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक पूर्णप्रसाद दवाडी अंग्रेजी माध्यमबाट पढाइ सुरु गरिएपछि संस्थागत विद्यालयका विद्यार्थीलाई आकर्षित गर्न आफूहरू सफल भएको बताउँछन् । नयाँ शैक्षिक सत्र सुरु भएपछि प्रवेश परीक्षा लिएर बाहिरी विद्यालयबाट आउने विद्यार्थीलाई भर्ना लिने गरिएको उनले जानकारी दिए । ‘हरेक वर्ष अन्य विद्यालयबाट विद्यार्थी भर्नाका लागि आउँछन्', उनले भने, ‘यसवर्ष बाहिरी विद्यालयबाट ८ सय ९ जना विद्यार्थीले भर्ना हुनका लागि प्रवेश परीक्षा दिएकोमा ४ सय १८ जना उत्तीर्ण भएका थिए ।' बाहिरी विद्यालयबाट भर्ना हुन आउने विद्यार्थीमध्ये ७० प्रतिशतभन्दा बढी संस्थागत विद्यालयबाट आउने गरेको प्रधानाध्यापक दवाडी बताउँछन् । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १० मा रहेको नारायणी नमुना माविमा नर्सरीदेखि १२ कक्षासम्मको पढाइ हुन्छ । पाँच, छ र सात कक्षामा मात्रै नेपाली भाषामा र अन्य सबै कक्षामा अंग्रेजी भाषामा पढाइ हुने यस विद्यालयमा १ हजार ६ सय ४६ जना विद्यार्थी अध्ययनरत छन् ।

भरतपुर महानगरपालिका वडा नम्बर ६ स्थित संस्थागत विद्यालय आदर्श पब्लिक स्कुलका प्राचार्य शिव केसी एकदेखि सात कक्षासम्मका विद्यार्थी संस्थागत विद्यालयबाट संस्थागत विद्यालयमै भर्ना हुन जाने गरेको र आठदेखि दश कक्षाका विद्यार्थी भने संस्थागतबाट सामुदायिक विद्यालयमा जाने गरेको बताउँछन् । ‘भविष्यमा सरकारी सेवामा जाँदा सामुदायिक विद्यालयबाट माध्यमिक शिक्षा पूरा गरेकाहरूलाई केही सहुलियत हुने भएकाले सामुदायिक विद्यालयमा विद्यार्थी जाने क्रम पाइएको छ', उनले भने, ‘हाम्रो विद्यालयमा धेरै विद्यार्थी नभएकाले त्यसरी सामुदायिक विद्यालयमा जाने गरेका छैनन्, तर धेरै विद्यार्थी हुने संस्थागत विद्यालयबाट भने विशेष गरी सात कक्षादेखि माथिका विद्यार्थी सामुदायिक विद्यालयमा भर्ना हुन जाने गरेका छन् ।'

एसईईमा सामुदायिकका विद्यार्थी बढी

जिल्ला शिक्षा अधिकारी गोविन्द अर्याल यस वर्ष एसईई परीक्षामा सहभागी विद्यार्थी सामुदायिक विद्यालयकै बढी रहेको बताउँछन् । उनका अनुसार चितवनमा ९४ वटा सामुदायिक विद्यालयका ७ हजार ३ सय ५९ जना र संस्थागत विद्यालयका ४ हजार ८ सय ४ जना विद्यार्थी यसवर्षको एसईई परीक्षामा सहभागी छन् । त्रिवेणी बराह माध्यमिक विद्यालय मुग्लिनबाट सबैभन्दा कम १ सय ९४ जना र भण्डारा माध्यमिक विद्यालय खैरहनीबाट सबैभन्दा बढी ४ सय ६६ जना विद्यार्थी एसईई परीक्षामा सहभागी छन् । अहिले केही सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि भई संस्थागत विद्यालयसँग प्रतिस्पर्धा गर्नसक्ने अवस्थामा देखिएकाले विद्यार्थीको आकर्षण सामुदायिक विद्यालयतर्फ बढ्न थालेको जिल्ला शिक्षा अधिकारी अर्याल बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.