मनोविज्ञान अनुसारको स्कुल

मनोविज्ञान अनुसारको स्कुल

संस्कृति कार्की कक्षा चार पास गरेपछि विद्यालय परिवर्तन गर्ने कुरा भयो । ‘बरु म पढ्दिनँ, आमा मेरो स्कुल नबदलिदिनुस्' भन्दै संस्कृति रोएपछि सुनिता पराजुली (कार्की)ले आदर्श हिमालयमै पढाउने निर्णय गरिन् । अहिले कक्षा नौमा अध्ययन गर्दै गरेकी संस्कृति पढाइमा मात्र अब्बल छैनन्, खेलकुद, नाचगान र अन्य क्रियाकलापमा पनि उत्तिकै सरिक हुन्छिन् ।

यतिबेला नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । बजारभरी, टोल र गल्ली गल्लीमा खुलेका शैक्षिक संस्थाहरुले आकर्षक विज्ञापन सुरु गरेका छन् । विद्यालयको अगाडि मात्रै होइन पर परसम्म आफ्नो संस्था मात्रै ‘राम्रो' भन्ने दाबी गरिएका ब्यानर, पर्चा र विज्ञापन सामग्री देखिन्छन् । भर्नाअवधिको तामझाम, सजावट र व्यवहार हेर्दा कुन शैक्षिक संस्था असल भन्ने छुट्याउन अभिभावकलाई नै कठिन बनाइदिन्छ ।

सुनिताको छनोट

अभिभावकको रूपमा विद्यालय छान्दा सुनिता पराजुलीलाई पनि केही समय यस्तै सकस परेको थियो । तर उनले सामान्य विद्यालय रोजिन् । त्यसको कारण थियो, ‘मैले त्यहाँको वातावरण हेरेँ, शैक्षिक सामग्री हेरेँ, विद्यालयका शिक्षकको आनीबानी र व्यवहार हेरेँ', सुनिताले भनिन्, ‘हामीले जिन्दगी बनाउन आफ्नो बच्च सुम्पिएपछि त्यस विद्यालयको पढाइको तरिका, शैली, व्यवहार, शैक्षिक सामग्री अनि अन्य भौतिक संरचनाको अवस्था अवलोकन गर्न पाउनुपर्छ ।' छोरी संस्कृतिलाई भर्ना गर्दा उनले चलेको नाम हेरिनन्, यिनै कुरा हेरिन् । छोरीले पनि विद्यालय रुचाइन् ।

‘हामीले भन्दा बालबालिकाले त्यस विद्यालयमा कति रुचि राख्छ भन्ने कुरा हेर्नुपर्ने रहेछ', सुनिताले भनिन्, ‘त्यही भएर मैले छोरीको विद्यालय परिवर्तन गर्न खोज्दा छोरी रोइन् ।' संस्कृतिलाई त्यो विद्यालयका शिक्षक, शिक्षिकाको पढाउने शैली मात्र होइन, उनले पाएको माया झन् प्यारो थियो । दिव्य अंकुर बालविकास प्रवद्र्धन तथा अनुसन्धान केन्द्रमा समेत कार्यरत सुनिता विद्यालय सानो ठूलो, नाम चले नचलेको भन्दा पनि ज्ञान, सीप, शैली र वातावरणले कति परिपक्व छ भन्ने हेर्नुपर्ने सुझाउँछिन् ।

मनोविद्को टिप्स

मनोविद् डा. गंगा पाठक घरपछि बालबालिकाको महत्वपूर्ण थलो विद्यालय भएकाले यसको छनोटमा ध्यान दिनुपर्ने बताउँछिन् । विद्यालय कस्तो छान्ने भन्दा पनि पहिला आफ्नो बालबालिका कुन स्वभावको छ भन्ने कुरा राम्ररी ख्याल गर्नुपर्ने सुझाव डा. पाठक दिन्छिन् । विद्यालय छनोट गर्दा आफ्नो बच्चा बहिर्मुखी स्वभावको छ भने ठूलो, भीडभाड भएको विद्यालय छान्नुपर्ने उनी सुझाउँछिन् । तर बालबालिका अन्तरमुखी स्वभावको छ भने शान्त, सानो र कम भीडभाड भएको विद्यालय छनोट गर्न उनी सल्लाह दिन्छिन् । विद्यालय पढाउनु भनेको केही सिकाउन, नयाँ ज्ञानसँग रमाउन भएकाले त्यहाँ पीडा हुन नहुने उनको मान्यता छ ।

‘अहिले बजारमा मान्छे झुक्याउने स्याम्पुको प्रचारजस्तै विद्यालयको पनि प्रचार भइरहेको हुन्छ, तर ती सबै विद्यालय सबै बालबालिकाका लागि उपयुक्त नहुन सक्छन्', मनोविद् पाठक भन्छिन्, ‘नाम चलेको भन्दैमा हुँदैन, ब्रान्डेड स्कुलहरूभित्रै झन् बढी समस्यामा बालबालिका हुन्छन् ।' अभिभावकले विद्यालय छनोट गर्दा सस्तो र महँगो, चलेको र नचलेकोमा जान नहुने उनी बताउँछिन् । तर बालमैत्री वातावरण कति छ ? पढाउने शिक्षकहरू अनुभवी होइन तालिमप्राप्त छन् कि छैनन् ? विद्यार्थीलाई ज्ञानगुन हुने कुरामा कत्तिको एक्सपोजर दिइन्छ ?

(एक्सपोजरको नाममा धेरै पैसा खर्च गराउने पनि अझ राम्रो होइन) बालमनोविज्ञानलाई कत्तिको ध्यान दिइन्छ ? भौतिक संरचना, खुला ठाउँ, पारदर्शिता र बालमैत्री शैक्षिक सामग्री छ/छैन ? हेर्नैपर्ने टिप्स मनोविद् पाठकको छ । उनले पछिल्लो समय अभिभावकहरू आफ्नो ‘सान'का लागि महँगो विद्यालयमा बालबालिका पढाउन खोज्ने मनोविज्ञान बढ्दै गएकोप्रति असन्तुष्टि व्यक्त गर्छिन् । ‘धेरै पैसा तिरेर असल मान्छे बन्ने होइन, असल शैक्षिक वातावरणले असल बन्ने हो', उनले भनिन्, ‘धेरै समस्या नाम चलेकै विद्यालयमा छन् ।' अभिभावक, शिक्षक र विद्यार्थीबीच बारम्बार अन्तरसंवाद हुने शैक्षिक संस्था भएन भने पछि बालबालिका समस्यामा परिसकेपछि पछुताउनुपर्ने अवस्था आउनसक्नेतिर उनी सचेत गराउँछिन् ।

महरको माग

विद्यालय बालबालिकाको भविश्यको खाका कोर्ने थलो भएकाले यसको छनोटमा संवेदनशील हुनुपर्ने सुझाव अभिभावकका रूपमा नैनसिंह महर दिन्छन् । मानिसहरूको मानसिकतामा सेन्ट जेभियर्स, रातो बंगलाजस्ता नाम भए पनि गाउँतिर पढेका सामान्य विद्यालयका विद्यार्थी पनि उच्च गुणस्तरका भएको उनले बताए । तर विद्यालय छान्दा अभिभावकले हेर्नैपर्ने विषय शिक्षकको गुणस्तर, शिक्षालयको संरचनागत अवस्था, खुला वातावरण, बालमैत्री शैक्षिक प्रणाली हेर्नुपर्ने उनको सुझाव छ ।

विद्यार्थीको हकहितका लागि राजनीति गर्ने संगठन नेपाल विद्यार्थी संघको अध्यक्षका हैसियतले उनी भन्छन्, ‘अभिभावक नै अलमलमा छन्, कस्तो विद्यालय छनोट गर्ने ? राज्यले निर्धारण गरेको शैक्षिक मापदण्ड के हो ? भन्ने ज्ञान नै अभिभावकलाई दिइएको छैन ।' उनी अभिभावकलाई शैक्षिक मापदण्डबारे सरकारले कसरी हुन्छ ज्ञान दिनुपर्ने माग गर्छन् । विद्यालयले पनि विद्यार्थी तान्ने होडबाजीभन्दा आफ्नो शैक्षिक गुणस्तर, शिक्षक/शिक्षिकाको योग्यता, तालिक, भौतिक संरचनाको अवस्था, अतिरिक्त क्रियाकलापको सूची नै वेबसाइट वा नागरिक बडापत्र जस्तै बनाएर राख्नुपर्ने उनको माग छ ।

अभिभावकले बालबालिकालाई विद्यालयमा भर्ना गर्दा सैद्धान्तिक शिक्षामा अग्रणी भएको विद्यालय हेर्न नहुने उनी सुझाउँछन् । त्यहाँका विद्यार्थीको जीवनशैली, जीवन पद्धति कस्तो हुन्छ ? व्यवहारिक शिक्षा छ कि छैन ? डाक्टर, इन्जिनियर, पाइलट मात्र होइन असल किसान, असल ज्यामी बनेर जीवन निर्वाह गर्नसक्ने शिक्षा दिइन्छ कि दिइँदैन भन्ने कुरा हेर्नुपर्छ । अर्को कुरा विद्यार्थीको रुचि त्यस संस्थाप्रति भए, नभएको कुरा पहिलो प्राथमिकतामा राख्नुपर्ने महरको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.