राष्ट्रपति सीसँग तातोपानी नाका खोल्न आग्रह गर्ने प्रधानमन्त्री प्रचण्डको प्रतिबद्धता
काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहालले तातोपानी नाका सञ्चालनमा ल्याउन चिनिया राष्ट्रपति सी जिनपिङलाई आग्रह गर्ने बताएका छन।विनाशकारी भुकम्पपछि २३ महिनादेखि बन्द रहेको तातोपानी नाका र अरनिको राजमार्गलाई नेपाल चीन सम्बन्धको प्रतिकका रुपमा प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सीसँग छलफल गरी तातोपानी नाकालाई सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका हुन।
तातोपानी नाका खोल्ने बिषय नेपाल चीन सम्बन्ध र समग्र आर्थिक विकाससँग गहिरो नाता रहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए।'चीन भ्रमणमा जाँदा तातोपानी नाका सञ्चालन र अरनिको राजमार्ग विस्तारलाई एउटा ऐजेण्डा बनाइएको छ।चीनका राष्ट्रपति र अन्य अधिकारीहरुसँग कुरा हुँदा पनि तातोपानी नाका र अरनिको राजमार्गलाई एउटा ऐजेण्डा बनाएर कुरा गर्नेछु'प्रधानमन्त्री प्रचण्डले भने 'नेपाल चीन सम्बन्धको प्रतिक अरनिको राजमार्गको ऐतिहासिक महत्व छ।अरनिको राजमार्गबाट नै नेपाल र चीन वीच व्यापार व्यवसाय शुरु भएको हो।यो नाका खुलाउने वारेमा निकै ठूलो राजनीति बहसको बिषय बनेको थियो।'
नेपाल ट्रक कन्टेनर व्यवसायी संघको अगुवाईमा नेपाल हिमालय सिमापार वाणिज्य संघ र सिन्धुपालचोक उद्योग वाणिज्य संघको प्रतिनिधिहरुले संयुक्त रुपमा प्रधानमन्त्री प्रचण्डलाई बुधवार बालुवाटारमा भेट गरी तातोपानी नाका सञ्चालनमा ल्याउन र अरनिको राजमार्गलाई विस्तार गर्न ध्यानाकर्षण गराएका थिए।'भुकम्पपछि बन्द भएको तातोपानी खुलाउन प्रधानमन्त्री हुनु भन्दा पहिला र पछि पनि मैले चीनबाट आउने प्रतिनिधिमण्डल र चिनियाँ दूतावाससँग लगातार कुरा गर्दै आएको छु'प्रधानमन्त्री प्रचण्डले भने ‘चिनिया कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्यले पनि तातोपानी नाका खुल्ने दिशामा छ भनेर मलाई भनेका थिए।मैले कुरा उठाउनु भन्दा पहिले नै उनले अव तातोपानी नाका खुल्छ भनेका हुन।' प्रधानमन्त्री प्रचण्डले तातोपानी नाका खोलेर मात्रै नहुने,अरनिको राजमार्गलाई विस्तार गर्ने बारेमा पूर्व राष्ट्रपति चीन भ्रमणमा जाँदा व्यक्त भएको सहयोगलाई पनि उपयोग गरी अगाडि बढाउनु पर्नेमा जोड दिए।'त्यो सहायतालाई पनि अगाडि बढाउन जरुरी छ भनेको थिए।यो कुरा चीनको नेतृत्वमा पुगेको छ'प्रधानमन्त्री प्रचण्डले भने।
हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष बिष्णुवहादुर खत्रीले दवावका लागि प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षणपत्र बुझाइएको वताए। यसैगरी कन्टेनर संघका अध्यक्ष अर्जुनवहादुर सापकोटा र सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष कमलकुमार श्रेष्ठले पनि प्रधानमन्त्रीलाई चीन भ्रमणका अवसरमा यो नाकाका वारेका बिशेष जोड दिनका लागि आग्रह गरिएको बताए। रसुवाको केरुङ नाकाबाट व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको सापकोटाले बताए।