एसईई परीक्षा केन्द्रमै छोरा जन्मियो
जाजरकोट : वीरेन्द्रऐश्वर्य माध्यामिक विद्यालय लिम्सा परीक्षा केन्द्रमा माध्यामिक शिक्षा परीक्षा (एसईई) दिँदा दिँदै एक छात्राले छोरा जन्माएकी छिन्।
वारेकोट गाँउपालिका ७ सुवाकोटकी १६ बर्षीया निरुता सिंहले बुधबार स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा विषयको परीक्षा दिँदा दिँदै छोरा जन्माएकी हुन्।
परीक्षा दिँदा दिँदै सुत्केरी बेथाले च्यापेपछि नजिकैको लिम्सा प्राथमिक केन्द्रमा लगिएको थियो। स्वास्स्थ्यकर्मीको सहयोगमा बच्चा जन्मिएपछि कक्षा ८ की एक छात्रालाई सहयोगी राखेर उनले परीक्षा दिएको केन्द्राध्यक्ष गोरखबहादुर सिंहले बताए ।
अहिले आमा र बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। कुशे गाँउपालिका १ टालेगाँउ काफलपाटाकी १६ बर्षीया कमलाकुमारी बस्नेतले मंगलबार खुर्पा परीक्षा केन्द्रमा सामाजिक परीक्षा दिँदा दिँदै छोरा जन्माएकी थिइन्।
परीक्षा केन्द्रमै दुई जना छात्रा सुत्केरी भएका छन्। उमेर नपुग्दै बिहे गर्ने कुरा जाजरकोटमा परम्परा जस्तै भएको छ। जिल्लामा १९ बर्ष नपुग्दै ७४ प्रतिशत बालबालिकाले बिहे गर्ने गरेको महिला तथा बालबालिका कार्यालयले जनाएको छ।
सानै उमेरमा विहे गर्दा आमा र बच्चाको स्वास्थ्यमा असर पर्नुका साथै पठनपाठनमा समेत बाधा पुग्ने देखिन्छ। तर पनि बालविवाह गर्नेको संख्या जिल्लामा दिनप्रतिदिन बढ्दै जानु चिन्ताको विषय भएको जिल्ला शिक्षा अधिकारी ललित विक्रम सिहको भनाई छ।