एमाले नेता अधिकारीको स्वास्थ्यमा सुधार
काठमाडौं : एमाले नेता तथा पूर्वमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्यमा सुधार भएको छ । अधिकारीको मुत्रथैली र पेटमा गम्भीर समस्या देखिएपछि गत बुधबार बैंकक लगिएको थियो ।
बैंककस्थित भेजथानी अस्पतालमा उपचार गराइरहेका अधिकारी पुत्री लीमाका अनुसार उनको ‘सिस्टोसकोपी’ गरिएको छ । चिकित्सकले अधिकारीलाई अझै केही समय प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नुपर्ने बताएका छन् ।
‘अहिले उहाँलाई नेपालबाट ल्याएको भन्दा धेरै राम्रो भएको छ’, लीमाले भनिन्, ‘डाक्टरहरुले अझै केही समय यहीं राख्नुपर्छ भनेका छन् ।’ अधिकारीको मुटुमा समेत समस्या छ । तर, वृद्ध अवस्थाका कारण मुटुको शल्यक्रिया गर्दा जोखिम हुने भन्दै चिकित्सकले औषधि चलाएका छन् ।
नेता अधिकारीको गत वर्ष भारत हरियाणाको मेदान्त सिटी अस्पतालमा उपचार गरिएको थियो । बैंकक लानुअघि अधिकारीलाई काठमाडौमा उपचार गरिएको थियो । स्वास्थ्यमा सुधार नदेखिएपछि गत साता अधिकारीलाई बैंकक लगिएको हाे।