पत्रकार टंक उप्रेतीलाई विद्यावारिधि
काठमाडौँ : पत्रकार टङ्क उप्रेतीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)बाट पत्रकारिता तथा आमसञ्चार विषयमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन्।
‘मिडिया एन्ड इथ्निसिटी : रिप्रेजेन्टेसन अफ माइनोरिटिज इन नेपाली टेलिभिजन न्युज’ (मिडिया जातीयताः नेपाली टेलिभिजन समाचारमा अल्पसङ्ख्यकको प्रतिनिधित्व) शीर्षक उनले गरेको अनुसन्धानका लागि उपाधि प्रदान गरिएको हो ।
सन् २०११(२०६७।०६८) को विषयवस्तुलाई लिएर गरिएको अध्ययनले नेपाली टेलिभिजनको विषयवस्तु र जनशक्तिमा अधिकांशको आदिवासी जनजातिको प्रतिनिधित्व नभएको तथा गलत चित्रणसहित प्रस्तुति गर्ने गरिएको पाएको छ ।
उनन्साठी सूचीकृत जनजातिमध्ये टेलिभिजनमा १५ जातिका मात्र जनशक्ति र अन्तर्वस्तुमा नौ जातिको मात्र प्रतिनिधित्व रहेको पाइएको छ। पन्ध्रमध्ये आर्थिक रुपमा सबल, शिक्षित र सहरमा पहुँच भएका तथा राजनीतिक शक्तिमा पहुँच भएका जातिको प्रतिनिधित्व पाइएको जानकारी उप्रेतीले जानकारी दिए।
‘नेपाल टेलिभिजन’मा कार्यरत उप्रेतीले यसअघि लन्डनबाट आमसञ्चार र त्रिविबाट अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका थिए । उप्रेतीका कविता र निबन्ध सङ्ग्रह, सञ्चार अनुसन्धानबारेका पुस्तक पनि प्रकाशित छन् । रासस