मोरङमा बस दुर्घटना : चारको मृत्यु, २१ घाइते
दमकः पूर्व पश्चिम राजमार्ग अन्र्तगत मोरङ कानेपोखरीमा बस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ। २१ जना घाइते भएका छन्। बुधबार साँझ बस र मोटरसाइकल ठोक्किदा दुर्घटना भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ।
मृत्यु हुनेहरुमा मोटरसाइकलमा सवार अन्दाजी १८-२० बर्षका लेटाङ-३ का तिलक लिम्बु र देवेन्द्र लिम्बु तथा बसमा रहेका झापाका पुरुषोत्तम सुवेदी (बसको टिकटको आधारमा पहिचान गरिएको) रहेका छन्।
एक महिलाको सनाखत हुन बाँकी रहेको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ। मृतकको शव मोरङको उर्लावारीस्थित मंगलबारे अस्पतालमा लगिएको छ।
गम्भीर घाइते मोरङ केरौन शंकर विक रहेका छन्। पथरीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन कार्कीका अनुसार काकरभिट्टा बाट बुटवलतर्फ जाँदै गरेको ना ५ ख ५३८७ नम्बरको बस र मे ४ प ८५११ नम्बरको मोटरसाइकल ठक्कर खाएर दुर्घटना भएको हो।
मोटरसाइकलले ओभरटेक गर्ने क्रममा बस सँग ठक्कर खाँदा अनियन्त्रित भएको बस रुखमा ठोक्किएर क्षतविक्षत भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा इलाम सूर्योदयकी बबिता विक, कोराबारी झापाका रोसन मण्डल, सतन इम्बु, सुनिता टुडु, सतुवा हैमरन, गौरीगञ्ज झापाका सन्तोष माझी, किशोर चौधरी, लिलबहादुर भट्टराई, मनिस भट्टराई, भद्रपुर झापाका अनिस विक, गौरीगञ्ज झापाकै दिलिप मण्डल, घैलाडुब्बा झापाका करनजित वर्मा, सिक्किम भारतकी मित्रावती भट्टराई, नारायण प्रसाद भट्टराई, बुटवलका राज आले, केरौन मोरङका विजय मुर्मु, पोखराका अनिल राना मगर, उत्तर प्रदेश भारतका ईश्वर अली र पथरी मोरङका रामकुमार राई रहेका छन्। घाइते को विराटनगर, धरान, दमक र बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ।