जहाज खरिद सम्झाैताका लागि एएआरका प्रतिनिधि नेपाल आउने
काठमाडौंः वाइडबडी खरिद सम्झौताका लागि एएआर कर्पोरेसनका प्रतिनिधि चैत १४ गते नेपाल आउने भएका छन् । नेपाल वायु सेवा निगमका महाप्रबनधक सुगतरत्न कंसाकारका अनुसार एएआर कर्पोरेसनमा प्रतिनिधि ‘वाइडबडी खरिद सम्झौता' का लागि नेपाल आउन लागेका हुन् ।
निगमले २०७४ चैतभित्र दुई वटा ३३०–२०० सिरिजका दुई सय ८० सिट क्षमताका विमान खरिदका लागि एएआरसँग सम्झौता गर्न लागेको हो । अन्तर्राष्ट्रिय ग्लोबल टेन्डरबाट छनोट भएको एएआर कम्पनीलाई निगमले पौने ११ करोड रुपैयाँ बैना रकम उपलब्ध गराइसकेको जनाएको छ । टेन्डरमा एएआरसँगै अन्य १० वटा कम्पनीबाट प्रस्ताव आएको थियो ।
एएआर कम्पनीले दुई वटा वाइडबडी जहाज करिब दुई सय आठ मिलियन डलरमा निगमलाई बेच्नेछ । खरिदका लागि दुई पक्षीय प्रारम्भिक सम्झौता भए पनि खरिद सम्झौता भने भएको थिएन । ‘एएआरका प्रतिनिधि नेपाल आएपछि खरिद सम्झौता हुन्छ', कंसाकारले भने, ‘सम्झौतापछि जहाज कुन मितिमा नेपाल आइपुग्ने हो त्यसको पनि टुंगो लाग्नेछ ।'
कम्पनीले अहिले नेपाललाई बेच्न लागेको जहाज नयाँ हो । जहाज अहिले बन्दै गरेको अवस्थामा छ । नेपालले एक हजार घन्टासम्म उडेको जहाज भए पनि हुने भन्दै ग्लोबल टेन्डर आह्वान गरे पनि कम्पनीले नयाँ ब्रान्डेड नै दिने गरी प्रस्ताव गरेको थियो । निगमले नयाँ वाइडबडी आएसँगै गरिने १० वर्षे व्यवसायी योजनासमेत तय गरिसकेको छ । साथै वाइडबडी खरिदपछि निगमको व्यवस्थापन सुधारकै लागि भन्दै रणनीतिक साझेदार ल्याउने काम पनि अगाडि बढिसकेको छ ।
‘बाहिरको एउटा ग्रुप निगमलाई वाइडबडी ल्याउन दिन नहुने भन्दै लागिरहेको छ', उनले भने, ‘जहाज ल्याउँदा कुनै अनियमिता भएको फेला परे कारबाही गर्दै जेल हाल्दा हुन्छ ।' हल्लाको पछाडि लागेर निगम जहाज खरिद प्रक्रियाबाट पछाडि नहट्ने कंसाकारले स्पष्ट पारे । निगमले वाइडबडी उडाएर देखाउने उनले दाबी गरे ।
निगमले वाइडबडी खरिदका लागि सरकारको जमानीमा सञ्चय कोषसँग २५ अर्ब ऋण लिने तयारीसमेत पूरा गरिसकेको छ । कोषले भने अर्थमन्त्रालयस्तरको निर्णयले नपुग्ने भन्दै क्याबिनेटको निर्णय मागेको थियो । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले क्वाबिनेटमा फाइल लैजाने तयारीसमेत पूरा भएको उनले बताए ।
वाइडबडी आएसँगै निगमले युरोप र अमेरिकाबाटसमेत पयर्टक भित्र्याउन पहल गर्ने उनको भनाइ छ । राष्ट्रिय ध्वाजाबाहक एयरलाइन्स सक्षम भएमात्र देशको पर्यटन क्षेत्र फस्टाउने उनको भनाइ छ । अहिले नेपाल वायु सेवा निगम नेपालमा सबैभन्दा बढी अन्तर्राष्ट्रिय यात्रु बोक्ने कम्पनी हो ।