ठेकेदार विवादले भैरहवा विमानस्थल निर्माणमा ठप्प
बुटवलः राष्ट्रिय गौरवको आयोजना मध्येको गौतमबुद्ध विमानस्थल निर्माणको काम १२ दिनभित्र शुरु गर्ने सैद्धान्तिक सहमति जुटेको छ । निर्माण सामग्री, मजदुर र उपकरण प्रदान गर्दै आएको नेपाली ठेकेदार कम्पनी नर्थ वेष्ट इन्फ्रा नेपालले मुख्य ठेकेदार चिनिया कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले रकम भुक्तानि रोकेको भन्दै आपूर्ति बन्द गरेको थियो ।
नेपाली ठकेदारले आपूर्ति बन्द गर्दा पाच दिनदेखि गौतमबुद्ध विमानस्थलको काम ठप्प भएको छ । ०१७ को डिसेम्वरभित्रै सक्नुपर्ने योजना ठेकेदारहरुबीचको बिबादले अनिश्चित बन्दै गएको आयोजनाका प्रमुख ओम शर्माले नै बताएका छन् । ‘विमानस्थलको भविष्य बारे बताउन सकिदैन, उनले भने ।
विमानस्थलमा सामग्री आपूर्ति गर्ने नेपाली कम्पनी नर्थ वेष्ट इन्फ्रा नेपालका अध्यक्ष राजु गुरुङले १२ दिनभित्र रकम निकासा हुने आश्वासन आएको त्यपछि निर्वाध रुपमा काम सम्पन्न हुने बताए । ‘हामीले ६ महिनाअघिदेखि रकम माग गरिरहेका थियौं, तर सुनुवाई भएन, उनले भने–‘कम्पनी चल्नै नसक्ने स्थिति भएपछि बाध्य भएर काम ठप्प पारेका हौं ।'
ठेकेदार कम्पनीबीचको विवाद मिलाउनका लागि सोमबार साझ दुई कम्पनीका पदाधिकारी, एसियाली विकास बैंक, मन्त्रालयका पदाधिकारीबीच बैठक बसेको थियो । बैठकले दुई कम्पनीबीचको लेनदेनको विषय १२ दिनभित्र मिलाई काम शुरु गर्ने निर्णय गरेको छ ।
विमानस्थल निर्माणको २५ महिनामा २७ प्रतिशत प्रगति भएको छ । जसका लागि विमानस्थल निर्माण परियोजनाले १ अर्व ६७ करोड भुक्तानी दिएको छ । मुख्य ठेकेदार चिनिया कम्पनीबाट निर्माण सामग्री आपूर्तिकर्ता नेपाली नष्थवेष्टले हालसम्म ५२ करोड भुक्तानि पाएको जनाएको छ । अध्यक्ष गुरुङले अझै ५५ करोड भुक्तानि पाउन रहेको बताए ।
दुई कम्पनीको बिबादकाबीच बन्द भएको मुख्य गेट मंगलबारदेखि खुलेको छ । निर्माण सामग्री कम्पनीले ५ दिनभित्र प्राविधिक मुल्याङकन गरी चिनिया कम्पनीलाई विल पेश गर्ने र त्यसको सात दिन भित्र चिनिया कम्पनीले भुक्तानी दिने सहमति जुटेको छ । ‘सहमति अनुसार भुक्तानी हुदाको दिनदेखि सामग्रीको आपूर्ति शुरु हुन्छ, गुरुङले भने ।
सामग्री आपूर्तिकर्ता गुरुङले आफ्नो कम्पनीको महत्वपूर्ण दस्तावेज भएको चार वटा कम्प्युटर चोरी भएको बताएका छन् । कार्यालयबाट चोरिएका कम्प्युटर चिनिया कम्पनीका व्यक्तिहरुले लगेको आरोप छ । गुरुङले ती दस्तावेज भएका कम्प्युटर फिर्ता गर्न माग गरेका छन् ।
विमानस्थल निर्माण परियोजनाका प्रमुख शर्माले निर्माण कार्य कहिलबाट शुरु हुन्छ भन्ने विषय अनिश्चित रहेको बताए । ‘बैठकमा सहमति त भएको छ, तर सहमतिहरु उत्साहजनक छैनन्, उनले भने । विमानस्थलको लागत ६ अरब २२ करोड, ५१ लाख रहेको छ । जसमा एशियाली बिकास बैंकको १८ प्रतिशत अनुदान, तथा ४० दशमलव ५ प्रतिशत कर्जा, अन्तराष्ट्रिय बिकासको लागी ओपेक कोषबाट ३० दशमलव ५ प्रतिशत कर्जा र नागरिक उड्डयन प्राधिकरणको ११ प्रतिशत लगानी छ ।
मुलुककै ठूलो बिमानास्थल स्तरोन्नति गर्न नेपाल सरकारले चाईनिज कम्पनी नर्थवेस्ट सिभिल एभिएशन बिमानास्थल निर्माण समुहलाई ग्लोबल टेण्डर मार्फत दिएको थियो । विमानस्थलको निर्माण रोकिएपछि यस क्षेत्रका सरोकारवालामा निराशा छाएको छ । लुम्बिनीमा पर्यटकको आगमन बढ्ने भन्दै अर्वाे लागतमा सेवामुलक उद्योगहरु निर्माण भइरहेका छन् । विमानस्थलको निर्माणमा विवाद भइरहे लगानीकर्ताको मनोवल घट्ने चिन्त व्यक्त गरिएको छ ।
विमानस्थलको स्केच र निर्माण हुदै गरेको संरचना ।