विपन्न किसानलाई दूधालु बाख्रा

विपन्न किसानलाई दूधालु बाख्रा

प्युठानः विपन्न किसानको आम्दानीको स्रोत वृद्धि गर्न ‘दूधालु' बाख्रा वितरण गरिएको छ । स्वर्गद्वारी नगरपालिका–८ बर्जिवाङ नेटा र झिमरुक गाउँपालिका–३ ओखरकोट रोटेपानीका किसानलाई बाख्रा वितरण गरिएको हो ।

जिल्लामा पहिलोपटक दूध दिने ‘सानान' जातका बाख्रा पाउँदा किसान हर्षित भएका छन् । ‘बाख्राको दूध बेचेर पनि आम्दानी गर्न सकिन्छ भन्ने सुनेका थियौं', बर्जिवाङ नेटाकी ३८ वर्षीय विष्णा सुनारले भनिन्, ‘पहिलोपटक आफैं पाल्ने मौका मिलेको छ । अनुदानमा पाएका हौं ।' गाउँमा मासुका लागि बाख्रा पाल्ने गरिए पनि दूधका लागि पहिलोपटक पाल्न थालिएको उनले सुनाइन् ।

‘भारतमा काम गर्दा बाख्राको दूध, मही खान्थ्यौं', सगरमाथा डेरी बाख्रपालान समूहका अध्यक्ष एवं बर्जिवाङकै स्थानीय किसान देवीराम सुनारले भने, ‘मासुका लागि बाख्रा पालेको छु । दूधका लागि पहिलोपटक पाल्दैछु । भारतमा बाख्राकै दूध बेचेको देखेको थिए ।' समूहमा २५ जना किसान आबद्ध रहेको उल्लेख गर्दै उनले आर्थिक अवस्था कमजोर भएका पाँच जना किसानलाई छनोट गरी पहिलो चरणमा बाख्रा वितरण गरिएको बताए । ‘नयाँ सन्तान उत्पादनका लागि बोका पनि पाएका छौं', उनले भने, ‘नयाँ जन्मनेवित्तीकै समूहका अन्य किसानलाई दिन्छौं ।'

समूहको मागअनुसार बर्जिवाङ र रोटेपानी बाख्रापालन समूह ओखरकोटमा आबद्ध १० जना विपन्न किसानलाई दूध दिने नयाँ जातका बाख्रा वितरण गरिएको जिल्ला पशु सेवा कार्यालय प्युठानले जनाएको छ । प्रतिकिसान १० हजार रुपैयाँका दरले बाख्रा र १५ हजारको बोका वितरण गरिएको वरिष्ठ पशु विकास अधिकृत डा. शरणकुमार पाण्डेले जानकारी दिए ।

‘गाई पाल्न धेरै खर्च र समय लाग्छ', उनले भने, ‘बाख्राबाट छिटो प्रतिफल लिन सकिन्छ ।' जिल्लामा पहिलो अभ्यासको रूपमा यस्तो प्रयास गरिएको उनले सुनाए । ‘डडेल्धुराबाट बाख्रा मगाएका हौं', पाण्डेले भने, ‘आर्थिक स्रोत कमजोर भएका किसानको जीवनस्तर उकास्न यसले मद्दत पुर्‍याउन विश्वास छ ।'

डेरी बाख्रा प्रवद्र्धन कार्यक्रमअन्तर्गत, कृषि तथा खाद्य सुरक्षा परियोजनाको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको कार्यालयका सूचना अधिकारी एवं पशु विकास अधिकृत खिमानन्द खनालले जानकारी गराए । ‘दुवै समूहमा गरी एक लाख ३० हजार रुपैयाँ लगानी भएको छ', उनले भने, ‘प्रति किसान पाँच हजारका दरले खोर निर्माणका लागि अनुदान पनि दिइएको छ ।' नयाँ जातका बाख्राले एक पटकमा प्रतिलिटर दुई लिटर दूध दिनसक्ने उनको भनाइ छ । ‘बाख्राको दूध खान्छन् भनेर धेरैले विश्वास गर्दैनन्', खनालले भने, ‘धेरै ठाउँमा बाख्राको दूध बेचेर सफल किसान बनेका उदाहरण छन् ।'

‘व्यावसायिक रूपमा बाख्रापालन गर्ने सोच बनाएकी छुँ', रोटेपानी बाख्रपालन समूह ओखरकोट रोटेपानीमा आबद्ध किसान चन्द्रा जीसीले भनिन्, ‘पशु सेवा कार्यालयबाट पाएका नयाँ जातका बाख्राबाट सुरुवात गरेका छौं ।' समूहमा आबद्ध पाँच जना किसानले अनुदानमा बाख्रा पाएको अध्यक्ष हीरा जीसीले जानकारी दिए । ‘धेरै किसान नयाँ जातका बाख्रा पाएपछि खुसी भएका छन्', उनले भने, ‘बाख्राबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ ।' गाउँमै पुगेर कार्यालयले दुवै ठाउँका किसानलाई बाख्रा वितरण गरेको हो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.