एनआईसी बैंकको निःशुल्क खाता
गमगढीः मुगुको सदरमुकाम गमगढीमा स्थापना भएको एनआईसी एसिया बैंकले सरकारको कर्णाली रोजगार कार्यक्रममा छानिएका बेरोजगारका लागि शुन्य मौज्दातमा निःशुल्क बैंक खाता खोल्ने व्यवस्था मिलाएको छ ।
पहिलो चरणमा सदरमुकामस्थित छायानाथ रारा गाउँपालिकामा पर्ने श्रीनगर, कार्कीवाडा, भामवाडा, तुम, ढुमलगायत ठाउँका कर्णाली रोजगार कार्यक्रममा छानिएका सर्वसाधरणका लागि बैंकले निःशुल्क खाता खोल्ने व्यवस्था मिलाएको हो ।
विभिन्न गाउँपालिकामार्फत सञ्चालन हुने कर्णाली रोजगार कार्यक्रमअन्र्तगत एक घर एक रोजगारमा संलग्न व्यक्तिका लागि बैंक खाताबाट भुक्तानि दिन सहज होस् भनेर कार्यक्रमको समन्वयमा बैंकले शुन्य मौज्दातबाट सर्वसाधारणको खाता खोल्ने व्यवस्था मिलाएको कर्णाली रोजगार प्राविधिक सहायता कार्यक्रमका कार्यक्रम अधिकृत हंसराज न्यौपानेले जानकारी दिए ।
सदरमुकामबाट निःशुल्क बैंक खाता खोल्ने कार्य सुरु गरेको बैंकले विस्तारै ग्रामीण क्षेत्रका सर्वसाधारणका लागि लघुवित्त कार्यक्रम, सहकारीमार्फत बैंकसँग आवद्ध गराउने लक्ष्य लिएको जनाएको छ । मंगलबार र बुधबार ७० जनाभन्दा बढी सर्वसाधारणले निःशुल्क बैक खाता खोलेका छन् ।
कार्यक्रममा छानिएका जिल्लाभरका २५ सय व्यक्तिमध्ये पहिलो चरणमा सदरमुकाम आसपासका श्रीनगर र कार्कीवाडाका पाँच सय १० जनाले बैंकमा शुन्य मौज्दात खाता खोल्ने छन् । चालू आर्थिक वर्षको असार मसान्तसम्म सदरमुकाम आसपासका अन्य वडाका सर्वसाधारणलाईसमेत शुन्य मौज्दातमा निःशुल्क खाता खोलेर बैंकमा आवद्ध गराउने लक्ष्य राखिएको बैंकले जनाएको छ ।