बाबा गोकर्णेश्वरद्वारा लेल्यान्डका बस
काठमाडौः गोकर्णेश्वर यातायात प्रालिले बुधबारबाट काठमाडौं उपत्यकामा आफ्नो बस सेवा सुरु गरेको छ । नेपाल सरकारको अवधारणाअनुसार आठ मिटर च्यासिस वा ४० सिटको गाडीलाई प्राथमिकतामा राखेसँगै प्रालिले आठ मिटर च्यासिस भएका गाडी काठमाडौंमा सञ्चालनमा ल्याएको हो ।
कम्पनीले ल्याएका बस ३२ सिट क्षमताका छन् । यसबाट साना माइक्रोबसमा कोचिएर यात्रा गर्नु पर्ने बाध्यताबाट उन्मुक्ति मिल्ने कम्पनीले जनाएको छ । भारतको नम्बर वान र विश्वको तेस्रो ठूलो बस निर्माता कम्पनी अशोक लेल्यान्डको लिनक्स स्मार्ट बसले सुरक्षित यात्राको अनुभूति दिने संस्थाका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए । प्रालिले अहिले २० वटा बस सञ्चालनमा ल्याएको छ ।
यसमध्ये १० वटा बस काठमाडौंको माकलबारीबाट नारायणटार, गौरीघाट, मित्रपार्क, गौशाला हुँदै कोटेश्वर पुगेर चक्रपथ परिक्रमा गर्ने र चाबहिलबाट पुनः मित्रपार्क आएर सोही रुटबाटै फर्किनेछन् । त्यस्तै बाँकी १० वटा बस माकलबारीबाट नारायणटार, जोरपाटी, बौद्ध, चावहिल, धुम्बाराही हुँदै चक्रपथ परिक्रमा गर्ने र सोही रुटबाट फर्किने प्रालिले जनाएको छ । २० वटा बसले सुविधा नपुग्ने भएकाले १० दिनभित्र पुनः पाँच वटा बस थप्ने जनाएको छ ।