कालिकाको क्षमता अभिवृद्धि तालिम
काठमाडौं ः कालिका माइक्रो क्रेडिट डेभलेपमेन्ट बैंकले फिल्ड सहायक कर्मचारीलाई केन्द्र तथा फिल्ड व्यवस्थापन विषयक क्षमता अभिवृिद्ध तालिम दिएको छ । बैंकका १२ वटा शाखाका कर्मचारीका लागि केन्द्र सञ्चालन र फिल्ड व्यवस्थापन सफ्टवेयरसम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ ।
आइतबार पाल्पाको तानसेनमा सम्पन्न तालिमको उदघाटन गर्दै प्रमुख अतिथि एवं बैंकका प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहराले नेपालका बैंक तथा वित्तीय संस्थाको वर्तमान अवस्था एवं कालिका माइक्रो क्रेडिट बैंकको हालको अवस्था, शाखा तथा कार्यक्षेत्र, प्रगतिबारे तालिममा सहभागीलाई जानकारी गराए ।
तालिममा बैंकका वरिष्ठ सहायक एवं हातेमालो शाखा प्रबन्धक यसप्रसाद अर्यालले हाल बैंकले दिँदै आएको कर्जाको प्रकार, ब्याजदर, भाखा अवधि, सीमा, बचतका प्रकारका साथै लघुवित्त कार्यक्रमअन्तर्गत समाजिक सुरक्षा र सेवासम्बन्धी प्रशिक्षण दिएका थिए । कार्यक्रममा बैंकका सूचना प्रविधि विभागका भुजलाल पौडेलले बैंकमा आधुनिक सफ्टवेयरको आवश्यकता, प्रयोग तथा गोपनियताबारे जानकारी गराए ।
विभिन्न शाखाका ३० जनाको सहभागिता रहेको उक्त तालिममा बैंकका योजना तथा अनुगमन विभाग प्रमुख खेमनारायण रेग्मीले फाइलिङ, प्रमाणको प्रतिलिपि प्रमाणीकरण, व्यवस्थापन, हरहिसाब व्यवस्थापन, टिमवर्क, अनुशासन एवं हाल देखिएका समसामयिक त्रुटि एवं त्यसको सुधारबारे प्रकाश पारेका थिए ।