नेपाल रेडक्रस सोसाइटीद्वारा दोस्रो किस्ता वितरण
काठमाडौं ः नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रभावित तीन सय ८९ घरधुरीलाई दोस्रो किस्तावापतको रकम वितरण गरेको छ । ती प्रत्येक घरधुरीले एक लाख ५० हजारका दरले रकम पाएका छन् ।
साथै रेडक्रसले भूकम्प पुनर्निर्माणको लक्ष्य प्राप्तिका लागि ६ हजारभन्दा बढी परिवारलाई प्राविधिक तथा वित्तीय सहयोग पुर्याएको छ । यस वर्षको जनवरीमा नेपाल सरकारको दोस्रो किस्ता वितरण निर्देशिका आएपछि नेपाल रेडक्रसबाट सहयोग उपलब्ध भएका ती तीन सय ८९ सबै घरले दोस्रो किस्ताका लागि सरकारको प्राविधिक जाँच पास गरेका हुन् ।
त्यस्तै, रामेछाप जिल्लाबाट नेपाल रेडक्रसले तेस्रो किस्ताको वितरण पनि सुरु गरिसकेको जनाएको छ । नेपाल सरकारको नीतिअनुरूप हुने गरी नेपाल रेडक्रस सोसाइटीले भूकम्प प्रभावित परिवारलाई पूर्ण प्राविधिक तथा तीन लाख रुपैयाँका दरले वित्तीय सहयोग प्रदान गरिरहेको हो ।
नेपाल रेडक्रस सोसाइटीले सुरक्षित र भूकम्पप्रतिरोधी घर निर्माणका लागि पहिलो किस्तावापत अहिलेसम्म ६ हजार तीन सय ५० भन्दा बढी घरधुरीलाई ५० हजारका दरले ३१ करोड ८ लाख रुपैयाँ वितरण गरिसकेको छ ।