कुमारी बैंकको २१ प्रतिशत बोनस
काठमाडौंः कुमारी बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई २१ प्रतिशत बोनस प्रदान गर्ने भएको छ । बैंकको १६ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर तथा चुक्ता पुँजीको १.१० प्रतिशत नगद लाभांश वितरण पारित गरेको हो ।
बैंकका अध्यक्ष सन्तोषकुमार लामाको सभापतित्वमा सम्पन्न उक्त सभाले लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०७२/०७३ को वार्षिक आर्थिक विवरणलगायत विभिन्न प्रस्ताव पारित गरेको छ ।
साथै, कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, पश्चिमाञ्चल फाइनान्स कम्पनी, महाकाली विकास बैंक र काँक्रेविहार विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धमा गरिएको प्रारम्भिक सहमतिअनुसार अन्तिम सम्झौता गर्नुका साथै उक्त प्रयोजनका लागि नियुक्त डीडीए तथा निजलाई भुक्तानी गरिएको पारि श्रमिकसमेत अनुमोदन गरेको छ ।
संस्था प्राप्ति गर्दा उल्लिखित चारवटै संस्थाको प्रति एक कित्ता सेयर बराबर कुमारी बैंकको ०.८५ कित्ता सेयर दिने गरी सेयर अनुपातलाई पारित गरेको बैंकले जनाएको छ । चार वटा संस्थालाई प्राप्ति गरेपश्चात कायम हुने चुक्ता पुँजीमा थप एक अर्ब १९ करोड ३८ लाख ९९ हजार एक सय ६५ रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्तावसमेत पारित गरेको छ ।