विद्युत् अनियमितता हटाउन ‘सबस्टेसन'

विद्युत् अनियमितता हटाउन ‘सबस्टेसन'

प्युठानः नियमित रूपमा विद्युत् आपूर्तिमा समस्या देखिएपछि समाधानका लागि प्युठान नगरपालिका–८ स्थित धर्मावती दम्तीमा सबस्टेसन निर्माण कार्य भइरहेको छ । झिमरुक जलविद्युत् आयोजना जिल्लाभित्रै भए पनि सबस्टेसन नहुँदा जिल्लाबासीले विद्युत् आपूर्तिको समस्या झेल्दै आएका थिए । ‘उद्योगी व्यवसायीले विद्युत् आपूर्तिमा समस्या हुँदा समस्या भोग्नु परिरहेको छ', प्युठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानुराम न्यौपानेले भने, ‘आफ्नै जिल्लामा पर्याप्त विद्युत् उत्पादन भइरहेको छ । यसले विद्युत् उपयोग बढाउन मद्दत पुग्ने आशा लिएका छौं ।'

सबस्टेसन नहुँदा साँझपखको समयमा विद्युत् आपूर्तिमा नियमित समस्या आउने गरेको बिजुवारका फर्निचर व्यवसायी गोविन्द कार्कीले गुनासो गरे । ‘मेसिन चल्दाचल्दै लाइन जान्छ', उनले भने, ‘प्युठानमै विद्युत् उत्पादन भइरहेको छ । जिल्लाबासीले समस्या नभोग्ने गरी समाधान खोजिनुपर्छ ।'

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र बिजुवार प्युठानले सबस्टेसन निर्माण गरेको हो । सात करोड ५० लाख रुपैयाँ लगानीमा स्टेसन निर्माण भइरहेको वितरण केन्द्र प्रमुख कृष्णहरी दाहालले जानकारी गराए । ‘निर्माणको काम तीव्र रूपमा भइरहेको छ', उनले भने, ‘अवदेखि छिनछिनमै आउनेजाने विद्युत् आपूर्तिको समस्या पूर्ण रूपमा समाधान हुनेछ ।' ३३ केभी लाइनलाई परिवर्तन गरी ११ केभी तीन एमबीए क्षमताको सबस्टेसन निर्माण भइरहेको उनको भनाइ छ । आउँदो आर्थिक वर्षभित्रै निर्माणको काम पूरा गरिसक्ने योजना रहेको उनले जानकारी गराए । एक ठाउँमा विद्युत् आपूर्तिमा समस्या आउँदा सबै क्षेत्रमा विद्युत् आपूर्ति ठप्प हुने गरेको छ ।

जिल्लाका मच्छी, बाहाने, जुम्री र खलंगा क्षेत्रमा सबस्टेसनबाट विद्युत् वितरण गरिने दाहालले जानकारी दिए । बहुवर्षिय योजनाअन्तर्गत निर्माण भइरहेको सबस्टेसनको रकम ‘फ्रिज' नहुने दाहालले जानकारी गराए ।

निर्धारित समयमै काम पूरा गर्ने लक्ष्य लिइएको निर्माणको जिम्मा पाएको आरके इन्टरनेसनल निर्माण कम्पनीका प्रतिनिधि सागर लुइँटेलले बताए । ११ रोपनी क्षेत्रफलमा एउटा ‘कन्ट्रोल' भवन र दुई वटा ‘स्टाफ क्वाटर' निर्माण गरिने उनले बताए ।

२४ वर्षदेखि जिल्ला परिषद्बाटै सबस्टेसन निर्माण गर्न माग गर्दै आए पनि यस वर्ष पूरा भएको प्युठान उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष इमानसिंह भारतीले उल्लेख गरे । ‘धेरै वर्षपछिको माग यसपाली पूरा भएको छ', उनले भने, ‘जिल्लाका उद्योगी व्यवसायी खुसी छौं ।' धेरै सम्भावना भएर पनि अनियमति विद्युत् आपूर्तिले गर्दा सम्भावित क्षेत्र ओझेलमा परेको उनको भनाइ छ । ‘सबस्टेसनले जिल्लामा विकासको ढोका खोल्नेछ', उनले भने, ‘उद्योगधन्दा फस्टाउने छन् ।'

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.