वार्तामा बस्न भारतसँग पाकिस्तानी राष्ट्रपतिको प्रस्ताव
इस्लामाबाद : पाकिस्तानका राष्ट्रपति मम्नुन हुसेनले आपसी विवादलाई शान्तिपूर्ण तरिकाले समाधान गर्नका लागि वार्तामा बस्न बिहीबार भारतलाई प्रस्ताव गरेका छन।
पाकिस्तानको गणतन्त्र दिवसका अवसरमा राजधानी इस्लामाबादमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति हुसेनले काश्मीरमा भइरहेको विवाद सहितका सबै विवाद वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गरेका हुन।
गैरजिम्मेबार व्यवहार, हिंसात्मक गतिविधिले सुरक्षा चुनौती बढ्दै गइरहको पनि उनले बताए। यसअघि सन् २००३ मा दुवै देशले युद्ध बिराम गरेका थिए।
“संयुक्त राष्ट्रसङ्घको समन्वयमा वार्तामार्फत् काश्मीर समस्याको समाधान गर्न हामी भारतसँग वार्तामा बस्न तयार छौं,” उनले भने ।
“काश्मीरका जनताले स्वविवेकीय निर्णय गर्न पाउने अधिकारको हामी नैतिक, राजनीतिक र कुटनीतिक हिसावले सहयोग गर्न सधै तयार छैा” उनले थपे ।
भारत बेलायती उपनिवेशबाट मुक्त भएको बेला सन् १९४७ देखि अहिलेसम्म भारत र पाकिस्तानकाबीचमा तीन वटा युद्ध भएका छन्। तीमध्ये दुई वटा युद्ध काश्मीरसँग नै सम्बन्धित छ।
भारत र पाकिस्तानकाबीचमा शान्तिपूर्ण वार्ता गराउनका लागि अन्तरराष्ट्रिय समुदायले भूमिका खेल्नुपर्नेमा पनि उनले जोड दिए।
पाकिस्तान कुनैपनि देशका विरुद्धमा आक्रोसित नभएको दावी गर्दै उनले क्षेत्रीय शान्ति र सम्वृद्धिका लागि पाकिस्तानले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने स्पष्ट पारे ।
राष्ट्रपति हुसेनले पाकिस्तानले आफुलाई पहिलाभन्दा अहिले सुरक्षित ठानेको पनि बताए । राससर सिन्ह्वा