जुजुभाइले भने, 'घरमा श्रीमती बिरामी छिन्, अब जिब्रो छेडाउँदिन'
भक्तपुर : गएको वर्षसम्म लगातार आठपटक जिब्रो छेडाएका बोडेका स्थानीय जुजुभाइ बासँ श्रेष्ठ यस वर्ष पछि हटेका छन्। भक्तपुरको प्रसिद्ध बिस्केट जात्राअन्तर्गत मध्यपुरको बोडेमा हुने जिब्रो छेड्ने जात्रामा उनले यस वर्ष जिब्रो नछेड्ने घोषणा गरेका हुन्। २०६५ सालदेखि जिब्रो छेड्दै आएका उनले बिहीबार भक्तपुरका सञ्चारकर्मीहरुसामु यस वर्ष आफूले जिब्रो नछेड्ने जानकारी दिएका छन्।
जिब्रो छेड्ने जात्राको विधिविधान अनुसार पहिले जिब्रो छेड्दै आएकाले ‘म अब जिब्रो छेडाउँदिन्न’ भनी घोषणा नगरेसम्म नयाँले छेड्न पाउँदैन। आफ्नो जीउले सकिञ्जेल जिब्रो छेड्ने मनसाय व्यक्त गर्दै आएका जुजुभाइले यस वर्ष आफ्नी जहान बिरामी भएकाले बाध्यताले जिब्रो छेडाउने कार्यबाट पछि हट्नुपरेको बताए।
‘घरमा श्रीमती बिरामी छन्। त्यस्तै भाउजू पनि बिरामी नै हुनुभयो’, उनले भने, ‘जिब्रो छेड्न मुख्य रुपमा सघाउने श्रीमती र भाउजू नै बिरामी हुनुभएकाले पछि हट्न बाध्य भए।’
जिब्रो छेड्ने व्यक्तिले जिब्रो छेड्ने चार दिनअघिदेखि आफूलाई सघाउने तथा जात्रा सहभागी हुने कर्मी नाइकेलगायतलाई भोज खुवाउनुपर्छ। जिब्रो छेड्ने व्यक्तिले व्रत बस्नुपर्ने भएकाले उनले केही पनि गर्न पाउँदैनन्।
भक्तपुरको बिस्केट जात्राअन्तर्गत मध्यपुरको बोडेमा नयाँ वर्षको भोलिपल्ट वैशाख २ गते जिब्रो छेड्ने जात्रा हुँदै आएको छ।
उक्त जात्रामा जिब्रो छेड्ने व्यक्तिले जात्राको १५ दिनअघि नै जात्राको लागि आवश्यक सम्पूर्ण विधिविधान पालना गर्न सुरु गर्नुपर्छ। त्यसैले सोही समयलाई ख्याल गर्दै जुजुभाइले जात्रा हुने २२ अघि नै यस वर्ष जिब्रो नछेड्ने घोषणा गरेको पत्रकारहरुसामु जानकारी दिएका छन्।
उनले आफू पछि हटे पनि जिब्रो छेडाउन इच्छा राख्ने बोडेका युवाहरु धेरै रहेको सुनाए। ‘ती युवाहरुलाई मौका दिन पनि मैले पछि हट्नै पर्छ’, जुजुभाइले थपे, ‘जिब्रो जसले पनि छेडाउन सक्छ। मात्र आँट र साहसको आवश्यकता पर्छ।’
उनले आफूले जिब्रो नछेडाए पनि अब आउने व्यक्तिलाई भरमग्दुर साथ र सहयोग दिने प्रतिबद्धता जनाए। उनले जिब्रो छेडाउन पालना गर्नुपर्ने विधिबारेसमेत सिकाउने सुनाए।
आठ वर्षअघि यस्तै समयमा जिब्रो छेड्ने कुनै व्यक्ति अघि नबढेपछि जुजुभाइले आँट र हिम्मत गरेका थिए। उनीअघि जिब्रो छेड्दै आएका बुद्धकृष्ण बाग श्रेष्ठको घरमा सुतक परेपछि उनी पछि हटेका थिए। तर जात्रा नजिकिँदै आउँदा पनि कोही नयाँ व्यक्ति जिब्रो छेडाउन तयार नभएपछि जुजुभाइले आँट गरेका हुन्।
जिब्रो छेड्ने जात्राको परम्पराअनुसार जात्रामा जिब्रो छेड्ने व्यक्तिले जिब्रो छेड्ने तीनदिन अघिदेखि केही खानुहँदैन भन्ने प्रचलन छ। त्यस्तै करिब एकसाताअघि नै नुनसमेत खान नहुने बताइन्छ।
जिब्रो छेड्न व्रत बस्दा सुत्नुहुँदैन भन्ने प्रचलनसमेत रहेको छ। व्रत बसेका बेला कुकुर, हाँसकुखुरा र आइमाईलाई समेत छुन नहुने मानिन्छ। उक्त जात्रामा बोडेका सीमित श्रेष्ठ थरीका व्यक्तिहरुले मात्रै जिब्रो छेडाउने प्रचलन रहँदै आएको छ।
जिभ्रो छेड्ने जात्रासम्बन्धी किवंदन्ती
प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भूत–पिसाच ख्याकहरूले बोडेका मानिसलाई सा¥है दुःख दिन्थे। त्यसरी जनतालाई दुःख दिन नछोडेपछि देवपतन बस्ने भीमदत्त कर्माचार्यले तन्त्रमन्त्रद्वारा ती पिचास–ख्याकहरूमध्ये एकलाई आफ्नो बसमा पारेपछि जनताले कसैले कपाल काट्ने, कसैले जिभ्रोमा सियो घुसाइदिए। कसैले नदेख्ने गरी भाग्ला भनेर घुँघरु बाँधिदिए भने कसैले महादीप बोक्न लगाए। यसरी अनेक दुःख दिएपछि वेदना सहन नसकेर ख्याकले सो कष्टबाट मुक्त गरिदिएमा आफूले जुनसुकै काम पनि पूरा गर्ने वाचा गरे।
त्यसपछि सात वर्षसम्म जिब्रो छेड्नुपर्ने, बोडेमा कुनै पनि माहामारी, अनिष्ट, अनिकाल, अनावृष्टि, अतिवृष्टि हुन नदिने वाचा गराएर ख्याकलाई छोडिएको किवंदन्तीमा उल्लेख छ। वाचाअनुसार सात वर्षसम्म ती ख्याकले आफ्नो जिब्रो छेडेका थिए। त्यसपछि उक्त जात्रालाई निरन्तरता दिन भीमदत्त कर्माचार्यले बोडेवासीमध्येकै एकजनालाई जिब्रो छेड्न लगाएका थिए।
उक्त ख्याकलाई हालको महालक्ष्मी मन्दिरअगाडि लगी सियो झिकिदिएको किवंदन्तीअनुसार अहिले पनि सोही महालक्ष्मी मन्दिर अगाडि लगेर जिब्रो छेडिएको सियो झिक्ने गरिन्छ।