खाद्य संस्थानलाई धान बेच्दैनन् किसान

खाद्य संस्थानलाई धान बेच्दैनन् किसान

वीरगन्जः पर्सा लंगडीका किसान हरिनाथ कुर्मीले गत साता वीरगन्ज पोखरिया सडकखण्डमा रहेको चामल उद्योग (सेलर मिल)मा प्रतिक्विन्टल दुई हजार दुई सय रुपैयाँ भाउमा १६ क्विन्टल धान बेचे । कुर्मीले धान बिक्री गरेको चामल मिलबाट करिब तीन किलोमिटरकै दूरीमा नेपाल खाद्य संस्थानको वीरगन्ज शाखा कार्यालय छ । उक्त कार्यालयले पर्सा र बारामा उत्पादित धान खरिद गर्दै आएको छ ।

यसपालि खाद्य संस्थानले किसानसँग मोटो धान (सोना मन्सुली) प्रतिक्विन्टल दुई हजार तीन सय रुपैयाँमा खरिद गर्दै आएको छ । संस्थान र उसले खरिद गर्ने धानको भाउबारे पत्तो नपाएकै कारण कुर्मीले प्रतिक्विन्टल एक सय रुपैयाँ घाटा सहेर चामल मिलमा धान बेचेका हुन् । ‘बर्सौंदेखि हामीले सेलर मिलमै धान बेच्दै आएका छौं', कुर्मीले भने, ‘खाद्य संस्थान कहाँ छ, के गर्छ हामीलाई थाहा छैन ।'

आफ्नो जीवन नै खेतीकिसानीमा बिताएका पर्सा बिरन्चिर्वाका किसान बृजेश तिवारी पनि खाद्य संस्थानबारे अनभिज्ञ छन् । ‘नाम त सुनेको छु, तर यो अफिस वीरगन्जमा कहाँ छ थाहा छैन, यसले के गर्छ, त्यो पनि जानकारी छैन', उनले भने, ‘हामीले फलाएको धान सेलर मिल र गल्ला व्यपारीलाई बेच्दै आएका छौं ।'

पर्सा र बाराका किसानले उत्पादन गरेको धान खरिद गर्न सरकारले वीरगन्जमा खाद्य संस्थानको शाखा कार्यालय स्थापना गरेको हो । तर कार्यालयबारे अधिकांश किसान नै जानकार नहुँदा खाद्य संस्थानले लक्ष्यअनुरूप धान किन्न सकेको छैन । संस्थानको वीरगन्ज शाखा कार्यालयले चालू आर्थिक वर्ष २०७३/७४ को आठ महिनामा लक्ष्यको ३० प्रतिशत धान पनि खरिद गरेको छैन ।

संस्थानले चालू आवमा ३५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिए पनि किसानले धान बिक्री गर्ने सिजन सकिइसकेको छ । आठ महिनामा कार्यालयले किसानसँग १० हजार ८४ क्विन्टल मोटा धान र दुई हजार क्विन्टल जिरामसिनो धान मात्र किनेको कार्यालय प्रमुख पवित्र गौतमले जानकारी दिए ।


बर्सौंदेखि हामीले सेलर मिलमै धान बेच्दै आएका छौं । खाद्य संस्थान कहाँ छ, के गर्छ हामीलाई थाहा छैन ।
हरिनाथ कुर्मी, किसान

गत पुस १२ गते पर्साका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको स्थानीय प्राथमिक खरिद समितिको बैठकले मोटा धान (सोना मन्सुली)को खरिद मूल्य प्रतिक्विन्टल दुई हजार एक सय २५ रुपैयाँ र जिरामसिनो धानको खरिद मूल्य प्रतिक्विन्टल दुई हजार सात सय रुपैयाँ निर्धारण गरेको थियो । तर भाउ कम भएका कारण किसानले पुस अन्तिम सातासम्म सात सय ८० क्विन्टल मात्र धान खाद्य संस्थानलाई बिक्री गरे । त्यसैले माघमा बसेको समितिको बैठकले मोटा धानको खरिद मूल्य बढाएर प्रतिक्विन्टल दुई हजार तीन सय रुपैयाँ निर्धारण गरेको थियो ।

भाउ बढाए पनि किसानले खाद्य संस्थानलाई धान बिक्री गर्न रुचि नदेखाएको कार्यालय प्रमुख गौतमले बताए । ‘धेरैजसो किसानलाई खाद्य संस्थानले धान खरिद गर्छ भन्ने जानकारी पनि छैन', उनले भने, ‘अर्को कुरा संस्थानले तोकेको खरिद मूल्य पनि बजारको भन्दा निकै कम छ ।' वीरगन्ज पोखरिया सडकखण्डमा रहेका चामल मिलले अहिले मोटा धान प्रतिक्विन्टल दुई हजार तीन सय ५० देखि २४ सय रुपैयाँमा खरिद गर्दै आएका छन् । ‘धानको खरिद मूल्य बढाउने अधिकार हामीसँग छैन', गौतमले भने, ‘यसका लागि मन्त्रालयबाटै निर्देशन आउनुपर्छ ।'

संस्थानले अधिकांश धान गल्ला व्यपारीबाट नै खरिद गरेको कार्यालयका कर्मचारीको भनाइ छ । संस्थानको वीरगन्ज शाखा कार्यालयमा ४५ हजार क्विन्टल धान क्षमताका पाँचवटा गोदाम छन् । तर किसानले संस्थानलाई बिक्री नगरेका कारण ती सबै गोदाम अहिले खाली रहेको कार्यालयका स्टोर किपर मुन्निलाल कुशवाहाले बताए ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.