कोमल साँझमा अतीतको सम्झना

कोमल साँझमा अतीतको सम्झना

काठमाडौं : कलेजका सहपाठीले धेरै पछि कलेज जीवनमै गाउने गरेको लोकप्रिय गीत नसुनी सुवास नेम्बाङलाई उठेर हिँड्न मन लागेन । एकैछिनमा 'अल्झेछ क्यारे पछ्यौरी तिम्रो चियाको बुटामा' गीतले सभा कक्ष गुञ्जिएपछि नेम्बाङ भावुक बने । आफ्नो पुरानो दौंतरीका बारेमा बोल्न उनी स्टेजमा उक्लिए । उनले इलामका डाँडाकाँडा मादल र गितार बोकेर गाउँदै हिँडेका पुराना यादहरू उत्खनन गरे । उनको घरमा पहिलो र अन्तिमपल्ट रूख टमाटरको तरकारी खाएको सम्झिए ।

संविधानसभाका पूर्वअध्यक्ष सुवास नेम्बाङका ती मित्र थिए वरिष्ठ गायक कोमल निरौला । उनले इलाममै बसेर संगीत यात्रालाई निरन्तरता दिए । राजधानीमा बस्ने इलामवासीको संस्था 'नाम्सालिङ सहयोग मञ्च' ले हालै आयोजना गरेको गायक निरौलाको दोस्रो एकल साँझ अतीत, प्रेम र भावुकताले भरिपूर्ण थियो । आयोजकका अनुसार उनको पहिलो एकल सांगीतिक साँझ २०४५ सालमा इलाममा भएको थियो । मोफसलबाट राजधानी आएर यहाँका वाद्यवादकसँग गाउन उनलाई सजिलो भएन । धेरै मेहनत गरे ।

गायक स्वयंले विगतका सम्झना ताजा गराउने किसिमका आफ्ना र स्वर सम्राट् नारायणगोपाल गुरुवाचार्य, दीप श्रेष्ठ, फत्तेमान, माणिकरत्न, भक्तराज आचार्यलगायत गायकका कालजयी गीत गाए । कोमलले चानचुन डेढ दर्जन गीत सुनाएर माइक अफ गर्न खोज्दा श्रोतामग्न थिए । सरस्वती बन्दना गरेर सुरु भएको कोमलको ओजपूर्ण गायन शृंखला उनको चर्चित युगल गीत 'चील होइन बेसारा' मा पुगेर वि श्राम लिएको थियो । साँझमा उनले 'अखण्ड शक्ति हौ युवा, अञ्जलीका गुराँस थुँगा, जीवनदेखि धेरै धेरै नै थाकेर, नआऊ जून कोठमा राति, हे फूल चुँडेर लाने हो, म हिमाल उठाइदिन्छु, प्रिय तिम्रो मुहारमा, पर लैजाऊ फूलहरू, मर्न बरु गाह्रो हुन्नलगायतका' लोकप्रिय गीत गाए ।

उमेरले ६ दशक पुगेका निरौलाले आफ्नो प्रस्तुतिको अवधिभरि ऊर्जासाथ प्रस्तुत भए । २०२६ सालमा रेडियो नेपाल प्रवेश गरेका उनको संगीतयात्रा आज पनि जारी छ । आधा शताब्दी बितिसक्दा संघर्ष धेरै गरेका छन् । शिक्षण पेसाबाट सेवानिवृत्त उनी संगीत साधनामै छन् । भन्छन्, 'अझै पोख्त हुन बाँकी छ ।' राजधानीमै बसेर संगीत कर्म गर्न पाएको भए अहिलेको भन्दा अग्लो उचाइमा पुग्ने थिएँ भन्ने उनलाई लाग्छ ।

समाजका विभिन्न पेसा, व्यवसाय र क्षेत्रमा आबद्ध स्थापित व्यक्तित्वसमेतको उल्लेख्य उपस्थिति रहेको कोमल साँझमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, वरिष्ठ गायकहरू दीप श्रेष्ठ, शम्भुजित बाँस्कोटा, गणेश रसिक, रविन शर्मा र कुबेर राईसमेत सहभागी थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.