दुर्गमको खाद्यवस्तु 'किसान पोको' बजारमा

दुर्गमको खाद्यवस्तु 'किसान पोको' बजारमा

काठमाडौं : दुर्गम र बिकट क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु 'किसान पोको' ब्रान्डमा बिहीबारदेखि राजधानीको बजारमा भित्रिएको छ । नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडमा देशभरबाट आवद्ध ६९ जिल्लाका साना किसानले उत्पादन गरेका ३२ प्रकारका कृषिजन्य वस्तु संकलन गरी 'किसान पोको' को नाममा बजारमा भित्रिएको हो ।

राजधानीमा आयोजित एक कार्यक्रममा कृषि सहकारी केन्द्रीय संघले ब्रान्डिङ गरेका कृषिजन्य वस्तुको कृषि विकासमन्त्री गौरीशंकर चौधरी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.युवराज खतिवडा, आयोगका वर्तमान सदस्य प्रेम बुढाथोकीलगायतले सार्वजनिक गरेका थिए । 'किसान पोको' सार्वजनिक गर्दै कृषिमन्त्री चौधरीले लागत खर्चका कारण दुर्गम र बिकट क्षेत्रमा उत्पादन भएका कृषिउपज बजार आउन नसकेका कारण नेपालमा भारतलगायत तेस्रो मुलुकबाट कृषिजन्य वस्तुको आयात दर वृद्धि भएको जानकारी दिए । उनले संगठित क्षेत्रबाट उत्पादन भएका कृषिजन्य वस्तु बजारमा प्रवेश गर्ने हो भने भारतीय वस्तुका बजार घट्दै जाने जानकारी दिए । मन्त्री चौधरीले आगामी १० वर्षभित्र नेपाल कृषिजन्य वस्तुमा आत्मनिर्भर हुने दावी गरे ।

खतिवडाले नेपालमा कृषियोग्य जमिन प्लटिङ गरिएकाले उत्पादन घट्दै गएको जानकारी दिए । यन्त्रीकरणको सहयोगमा प्रचुर परिमाणमा उत्पादन वृद्धि गर्न पनि पर्याप्त परिमाणमा ठूल्ठूला क्षेत्रफलका जमिन आवश्यक परेको जानकारी गराउँदै उनले भने, 'तर, यन्त्रीकरणका लागि अहिले ठूलो जमिन कतै पाइँदैन । भएका जग्गाजमिन स-सानो टुक्रामा बाँडिएका छन् । यस्ता जग्गामा यन्त्रीकरणको सहयोगमा पर्याप्त मात्रामा उत्पादन लिन सकिँदैन ।' खतिवडाले कृषि सहकारीले ल्याएको किसान पोको आम उपभोक्तामाझ कोसेढुँगा सावित हुने बताए ।

कृषि सहकारी केन्द्रीय संघले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा उपभोक्तामाझ सर्वेक्षण गरी उपभोक्ताको मागअनुसार नै कृषिउपज संकलन गरी कपडाको ब्यागमा राखेर किसान पोकोको नाममा बिक्री गर्न सुरु गरेको हो । संघका केन्द्रीय अध्यक्ष खेमबहादुर पाठकका अनुसार सर्वेक्षणमा सहभागी उपभोक्तामध्ये ७८ प्रतिशतले नेपालमै उत्पादन भएका स्वस्थ्यकर कृषिजन्य वस्तु मन पराएको र रोजेको आधारमा कृषिउपज संकलन गरी किसान पोकोमा राखेर सहुलियत मूल्यमा बिक्रीवितरण गर्ने व्यवस्था मिलाइएको हो ।

संघले आलु, खानेतेल, मह, जुम्लाको मिठे फापर, चियापत्ति, अदुवा, राजमा, मुसुरोको दाल, रहर, ठूलो चना, सानो चना, बेसार, घ्युलाई किसान पोकोको नाममा बिक्री गर्न सुरु गरेको हो । यस्तै फापरको पिठो, सिमीको दाल, सिमीको कालो दाल, आलस, टाटे सिमी, केरा, मार्फा जुस, मनभोग चामल, कोइरालाको अचार, जिरा मसिनो चामल, बास्मती चामल पनि यसै ब्रान्डमा बजारीकरण गर्न सुरु गरिएको छ । त्यस्तै मस्याङ, मास, भटमास, एप्रिकोट जाम, लसुनको अचार, अकबरे खुर्सानीको अचार र तामाको अचार पनि ब्रान्डिङ गरी बिक्रीवितरण सुरु भएको छ ।

'संघमा आवद्ध दुर्गम र बिकट क्षेत्रका साना किसानले उत्पादन गरेका विषादीरहित कृषिउपज संकलन गरी उपभोक्ताको मागबमोजिम किसान पोको बनाएर बजारीकरण गर्न सुरु गरेका छौं,' उनले भने, 'ठूलो बजार काठमाडौं उपत्यका भएकाले सुरुमा उपत्यकाकेन्द्रित बजार विस्तार गरेका छौं । निकट भविष्यमा उपत्यकाबाहिरका ठूलो सहरमा पनि बिक्री केन्द्र सञ्चालनमा ल्याउने तयारी गरेका छौं ।' दुर्गम क्षेत्रका किसानलाई उत्पादन लागत मूल्य उपलब्ध गराउन र आम उपभोक्तालाई पनि सुलभ मूल्यमा शुद्ध कृषिजन्य वस्तु उपलब्ध गराउन किसान पोको ब्रान्डमा बजारीकरण सुरु गरिएको पाठकको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.