सेञ्चुरीको एक्सटेन्सन काउन्टर टोखामा
काठमाडौं : सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले काठमाडौंको टोखामा चौथो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बिहीबारदेखि सञ्चालनमा आएको उक्त काउन्टरमार्फत बैंकले राजस्व संकलनलगायत त्यस क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई बैंकिङ सेवा पुर्याउने जनाएको छ ।
बैंकको सञ्चालक समितिको बुधबार बसेको वैठकले चैत्र ३१ मा छैटौं साधारणसभा गर्ने र उक्त सभामा १० प्रतिशत बोनस सेयर तथा ४० प्रतिशत हकप्रद सेयर जारी गरी स्विकृति लिने प्रस्ताव पेस गरेको छ । बैंकले चालू आवको दोस्रो त्रैमासमा ३२ करोड ७४ लाख रुपैयाँ सञ्चालन मुनाफा तथा २२ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा गरेको छ ।
बैंकको खुद मुनाफा गत वर्षको तुलनामा ३९.३० प्रतिशत र यस वर्षको प्रथम त्रैमासभन्दा दुई सय एक प्रतिशतले वृद्धि भएको बैंकले जनाएको छ । हाल सेञ्चुरी बैंकको चुक्ता पुँजी तीन अर्ब ६८ करोड छ । त्यसैगरी, चालू आवको दोस्रो त्रैमासमा बैंकले ३२ अर्ब ६८ करोड निक्षेप संकलन गरी २९ अर्ब एक करोड कर्जा प्रवाह गरेको बैंकले जनाएको छ । बैंकले हालसम्म ३१ वटा शाखा, २९ वटा एटीएम १३ वटा शाखारहित बैंकिङ र चार एक्सटेन्सन काउन्टरबाट ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।